‘सर’ माग्दै सडकमा

बट्टार । लामो समयदेखि विषयगत शिक्षकको अभाव झेलिरहेको विदुर नगरपालिकाको वडा नम्बर २ बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गएको हप्ता सडकमै उत्रिएर प्रदर्शन गरे ।

बिषयगत शिक्षकको माग गर्दै उनीहरूले बुधवार बट्टारको मुख्य सडकसमेत तीन घण्टा अवरुद्ध पारे । विद्यार्थीहरू हातमा कापीकिताव लिएर सडकमा बसेर नाराबाजी गर्न थालेपछि तत्कालिन अवस्थामा त जिल्लाकै ध्यान त्यही तानियो । तर मागको सम्वोधन भने हुन सकेको छैन । बुधवार (फागुन ३ गते) देखि विद्यार्थीहरू दुई दिन ‘राम्रो पढाई हुने’ आशामा विद्यालय गए । दुई दिनदेखि भइरहेको लगातार सार्वजनिक विदाका कारण विद्यार्थीहरूले आफ्नो मागका बारेमा औचारिक रुपमा के भइरहेको छ भनेर जानकारी लिन पाएका छैनन् ।

कक्षाकोठामा पढिरहनुपर्ने बेलामा विद्यार्थीहरू सडक आन्दोलन गर्न थालेपछि विदुर नगरपालिकाका मेयर, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा शाखाका अधिकृतहरू हस्याङ्फस्याङ गर्दै बट्टार पुगे । तर विद्यार्थीहरूको माग अनुसारको शिक्षक र गतिलो पढाईको आश्वासन भने पुरा हुन सकेको छैन । बुधवार विद्यार्थीहरूले गरेको प्रदर्शन र आन्दोलन पछि विद्यालय र पढाईमा राम्रो परिर्वतन आउने आशामा विद्यार्थीहरू थिए । तर आउनेहरू आए, भन्नका लागि के के भने, वडा अध्यक्ष र मेयरबीच झण्डै कुटाकुट भयो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरूले एकअर्कालाई सत्तोसराप गरे तर विद्यार्थीहरूले शिक्षक र विद्यालयमा पढ्ने वातावरण चाँही अझै पाउन सकेका छैनन् ।

विदुर नगरपालिकाको बेवास्ता र राजनीतिक खिचातानीका कारण आफ्नो विद्यलायको अवस्था दयनिय रहेको र तीन महिना भन्दा बढी समयदेखि पढाई समेत नभएको विद्यार्थीहरूले बताएका छन् । बर्षौदेखी दरबन्दी अनुसारको शिक्षक नहुनु र बिद्यालयको पढाईको अबस्था खस्किदै गएपछि एकाएक सडकमा उत्रिन आफुहरू बाध्य भएको विद्यार्थीहरूले बताएका छन् । हालको व्यवस्थापन समिति खारेजी, बिद्यालयको अनियमितता नियन्त्रणका साथै विषयगत शिक्षक उनीहरूको माग रहेको छ ।

बिद्यालयमा ३ वटा शिक्षकको पद रिक्त भएसंगै ब्यवस्थापन समितिले नगरपालिकालाई बारम्बार झकझकाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उत्सव अर्यालले बताएका छन् । नगरपालिकालाई पटकपटक जानकारी गराउँदा समेत मेयर राजन श्रेष्ठले वास्ता नगरेको उनको आरोप रहेको छ । यता नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भने विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष अर्यालको कमजोरीका कारण बिद्यालयमा शिक्षकको पदपुर्ति गर्न नसकिएको बताएका छन् । मेयर श्रेष्ठले ब्यवस्थापन समितिका अध्यक्षलाई बैठकमा बोलाउदा नआउने र विद्यालयप्रति चासो नदिएको कारण शिक्षकको पदपुर्ती गर्न नसकेको आरोप लगाएका छन् । बिद्यालय ब्यवस्थापन समितिको लडाईले गर्दानै विद्यालय यस्तो परिस्थितिमा आईपुगेको विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक कायस्थले बताए । हालको ब्यवस्थापन समिति परिवर्तन गरेमात्रै स्कुलको अबस्था सुधार हुने वडा अध्यक्ष कायस्थको भनाई रहेको छ ।

विद्यालयले बिगत ४ बर्ष देखी बार्षिक प्रगती विवरण देखाउन नसकेको, शिक्षक ब्यवस्थापन गर्न नसकेको र बिद्यार्थीहरूको गुनासो बिद्यालयले सुनुवाई गर्न नसकेकोमा बिद्यालयकै कमजोरी रहेको भिमसेन माविका निमित्त प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए । उनले ब्यवस्थापन समितिकै कमजोरी र बिद्यालयप्रति विदुर नगरपालिकाले वास्ता नगर्दा बिद्यालयको हालत खराब भएको बताए ।

८ फाल्गुन २०७९, सोमबार ०५:३६



तपाईको प्रतिक्रिया