माघ ७ गते बट्टारमा सोनाम ल्होछारको कार्यक्रम

बट्टार । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति नुवाकोटले २८५९ औं सोनाम ल्होछारको अवसरमा माघ ७ गते शनिवार नुवाकोटको बट्टारमा कार्यक्रम गर्ने भएको छ ।

आइतवार बट्टारमा नेपाल तामाङ घेदुङले पत्रकार भेटघाट गरेर आफ्नो कार्यक्रमको तयारीको बारेमा जानकारी गराएको छ । सोनाम ल्होछार समारोह समिति नुवाकोटका संयोजक जयमान वाइवाका अनुसार बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो । तामाङ प्लाजाको परिसरमा (बट्टार बसपार्क नजिकै) आयोजना गरिने उक्त कार्यक्रमलाई तामाङ जातीको उत्सवको रुपमा प्रस्तुत गरिने बताइएको छ । तामाङ जातीको कलासंस्कृति, रहनसहन, झाकी सहितको प्रस्तुती रहेन उक्त कार्यक्रमलाई सोनाम ल्होछारको नुवाकोट जिल्लाकै साझा कार्यक्रमको रुपमा प्रस्तुत गरिने संयोजक वाइवाले जानकारी दिएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमितिका ईञ्चार्ज एवं घेदुङका केन्द्रीय सदस्य उषा वाइवाले साढे २८ सय वर्ष भन्दा पुरानो इतिहास रहेको सोनाम ल्होसारको महत्व र अहिलेको आवश्यकताको बारेमा अहिलेका पुस्ता र अन्य जातजातीको समुदायमा समेत जानकारी दिनु आवश्यक रहेको बताइन् । त्यही उद्देश्य अनुरुप पनि माघ ७ गतेको कार्यक्रमलाई प्रस्तुत गरिने उनको भनाई रहेको छ ।

उक्त कार्यक्रममा नुवाकोट जिल्लाम हालै निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरूको समेत सम्मान कार्यक्रम तय भएको बताइएको छ । त्यसका साथै घेदुङको विकास र समुदायमा विभिन्न क्षेत्रबाट योगदान पु-याएका तामाङ समुदायका व्यक्तिहरूको समेत सम्मान हुने भएको छ ।

यसै बीच पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ नुवाकोटको भावी केही कार्यक्रमहरू समेत सार्वजनिक गरिएको छ । जस अनुसार आउँदो चैत १८ गतेसम्ममा जिल्ला भेला, फागुन २७ भित्रमा नुवाकोटका सबै पालिकाहरूमा भेला र फागुन १३ गते भित्र नुवाकोटको ८८ वटै वडामा घेदुङको भेला आयोजना गरिने जिल्ला अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।

२४ पुष २०७९, आईतवार १६:४०



तपाईको प्रतिक्रिया