दलित बटुकको सामुहिक व्रतबन्ध

देवीघाट । उपल्लो जात भन्नेले मात्र धारण गर्ने जनै नुवाकोटका दलित समुदायका पुरुषले गत हप्ता वैदिक विधिपूर्वक धारण गरेका छन् । अनाथ बालबालिका उद्धार केन्द्र विनपा–३ र दलित सामुदायिक संस्था सूर्यगढी–४ को आयोजनामा असोज ५ र ६ गते धार्मिकस्थल देवीघाटमा रहेको जालपा मन्दिरमा ब्राह्मण गुरुपुरोहितबाट २७ जना पुरुषले जनै धारण र १७ जना महिलाले लक्ष्मी गायत्रीको मन्त्रसहित किताब पाएका छन् । पहिलोपटक नुवाकोटमा दलित बालकको उपनयन (व्रतबन्ध) सातजनाको भएको छ । दलित समुदायभित्रका पुरुष र महिलालाई मन्त्र दीक्षा प्रदान गरिएको अनाथ बालबालिका उद्धार केन्द्रमा अध्यक्ष अर्जुन नेपालीले जानकारी दिए ।

उक्त कार्यक्रम विशिष्ट गुरु श्रीश्रीश्री १००८ तन्त्र युगरत्न ज्ञान उत्तमानन्द उपाधिबाट विभूषित गुरु विश्वमोहनीबाट महिलालाई लक्ष्मी गायत्री मन्त्र प्रदान गर्नुका साथै पुरुषलाई जनै धारण गराएका थिए । झन्डै पाँच लाख खर्च गरेर पहिलोपटक आयोजना गरिएको कार्यक्रममा दलित समुदायले खासै चासो नदिएको उपस्थितिको संख्याले देखिएको विदुर नगरपालिका कार्यपालिकाका सदस्य एवं विनपा–७ तुप्चेका शिवबहादुर विकले बताए ।

व्रतबन्ध तथा मन्त्र दीक्षा कार्यक्रममा एक दर्जन गुरु पण्डितद्वारा विश्वशान्तिका लागि होम होमादी गरेका थिए । आयोजकलाई कार्यक्रमको खर्च जुटाउन आश्वासन दिने विदुर नगरपालिका र अन्य संघ–संस्थासँग आयोजकले अनुनयविनय गरिरहेको छ । हिन्दू धर्मको हिमायतीहरूले हिन्दू धर्मभित्र अट्न सक्ने स्थान दलित समुदायको हुँदाहुँदै पनि हेप्ने, चेप्ने र तिरस्कृत गर्ने गरेको कारण जिल्लामा रहेका दलित समुदाय अहिले क्रिश्चियन र अन्य धर्म मान्न बाध्य भइरहेका छन् ।

हिन्दू धर्मको मूल भावनाअनुसार सांस्कारिक बनाउन पहिलोपटक जिल्लामा पवित्र कान्तिको थालनी गरेका आयोजक संस्था दलित सामुदायिक संस्थाका अध्यक्ष दीपक परियारले बताए । कार्यक्रमको समीक्षा गर्दै आयोजकले यस्ता कार्यक्रम बर्षेनी गर्दै जाने निर्णय गरेको छ । दलित एवम् पिछडिएका समुदायको चेतनाको अभिवृद्धि गर्दै देश निर्माणमा अरूसरह लाग्नेसमेत आयोजकले प्रण गरेको छ ।

२२ आश्विन २०८०, सोमबार ०५:३६



तपाईको प्रतिक्रिया