बडा दशैंको साइत सार्वजनिक

विदुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडा दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार दशैंको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।

यस वर्षको बडा दशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११:२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्न‘ शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडा दशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता बडा दशैंको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

२१ आश्विन २०८०, आईतवार २०:२०



तपाईको प्रतिक्रिया