बेत्रावतीको गोरु जुधाई विशेष रहने

कलाकार शशिकुमार डंगोलले चित्रकलामा उतारेको बेत्रावतीको गोरु जुधाइ

विदुर । माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाईको मेलाको धमाधम भइरहेको छ ।

नुवाकोटको बिभिन्न स्थानमा हुँदै आएको गोरु जुधाई मेलाको लागी गोरु दर्ता गराउने काम प्रायः स्थानमा सकिएको छ । माघ १ गते नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाँउपालिका लगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ । अन्य स्थानको भन्दा नुवाकोटको तारुका र बेत्रावतीको गोरु जुधाई मेला विशेष र चर्चित छ । यस पटकको बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरूले विशेष र भब्य बनाएका छन् ।

विभिन्न स्थानका आफ्ना मौलिक परम्परा र इतिहास जिबन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र वाह्य पर्यटकहरू समेत आकर्षित हुन थालेका छन् ।

बेत्रावतीको गोरु मेलाको प्रचारप्रसार, निमन्त्रणा बितरण, बजारलाई सिगार्ने काम भइरहेको गोसाइँकुण्ड युवा क्लब बेत्रावतीका अध्यक्ष सुवास डंगोल ‘दिपु’ले जानकारी दिएका छन् । गोरु जुधाउनका लागि मैदान सम्याउने काम पूरा भएको उनले बताए । क्लब स्थापनाको २५ औं रजत बर्ष दिवसको अबसर पनि भएकोले यसपटकको मेला बिशेष बनाइएको उनले जानकारी दिए । यस पटक नौं हल (१८ वटा) गोरु जुधाउने तयारी भएको क्लवका पुर्व अध्यक्ष शशिकुमार डंगोलले जानकारी दिएका छन् ।

दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राम्हण समुदायको बालनभजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रर्दशन हुने बताइएको छ । क्लबका सचिव ईश्वर थापा ‘आइटम’का अनुसार राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । राधिका हमाल, रमेशराज भट्टराई, ध्रुब तामाङ र सुवास शर्माको प्रस्तुती कार्यक्रममा रहने छ । साथै, त्यस अवसरमा नुवाकोट रसुवाका लोक गायक/गायिकाहरुको प्रस्तुती समेत रहने छ । गोरु जुधाई दिउँसो ३ बजेसम्म हुने र त्यसपछि राती आठ बजेसम्म साँस्कृतिक कार्यक्रम रहने आयोजकले बताएको छ ।

लडाई जित्ने पहिलो गोरु धनी किसानलाई १३ हजार रुपैयाँ र दोश्रो हुने गोरुको धनी कृषकलाई ११ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको गोरु छनौट उपसमितिका सदस्य एवं क्लवका पुर्व अध्यक्ष सुरजन लवटले जानकारी दिएका छन् । त्यस दिन जुध्ने क्रममा चोटपटक लाग्ने गोरुको बीमा समेत भएको छ ।

नुवाकोट र रसुवाको सिमा क्षेत्र एतिहासिक एवं धार्मिक तिर्थस्थल बेत्रावतीमा सदिऔं बर्ष देखि गोरु जुधाउने परम्परा छ । माघे संक्रान्तिका दिन बेत्रावतीका जुडिफाँट, साम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटहरूमा घ्यू चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटहरूमा लैजादा बेत्रावतीका किसानहरूले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । इतिहासविद्का अनुसार नेपाल र तिब्बत (भोट) चीन बीच बि. सं. १८४९ मा युद्ध हुँदा नेपालतर्फको क्षती जोगाउन एउटा ठुलो एतिहासिक सन्धी बेत्रावतीमा भएको थियोे । यहि बेत्रावती सन्धीको सम्झनालाई जिवन्त राख्न गोरु जुधाउने परम्पराको सुरु भएको स्थानीयको दावी रहेको छ । बेही वर्ष अघिसम्म छरिएर र ठाउँ ठाउँमा हुने गोरु जुधाई एक दशकदेखि ब्यवस्थित र नियमवद्ध रुपमा हुँदै आएको छ । २०५३ मा गोसाइँकुण्ड युवा क्लब स्थापना भएपछि यो परम्परालाई ब्यवस्थित पारिएको शशिकुमार डङ्गोल बताउछन् । गोरु पाल्ने किसानहरूको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा बेत्रावतीको आन्तरिक ब्यवसायलाई समेत आर्थिकपार्जनमा टेवा पु¥याउने मुल उद्देश्यका साथ हरेक बर्ष माघे संक्रान्तिका दिन बेत्रावतीबजारमा गोरु जुधाउने कार्यक्रम हुँदै आएको उनले सुनाए ।

गोरु जुधाई हेर्नका लागि बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायातसजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्षेनी बढ्दै गइरहेको आयोजकहरूको भनाई रहेको छ ।

२७ पुष २०७९, बुधबार ०८:५२



तपाईको प्रतिक्रिया