तारुकामा दुई दिन गोरु जुधाईने

विदुर । परापुर्वकालदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यो पाली भने दुई दिन गोरु जुधाउन लागिएको छ । माघ १ र २ गते गोरु जुधाउने तयारी आयोजकले गरेका छन् । जुधाइने गोरुको संख्या बढी भएको र त्यस दिन मनोरञ्जनात्मक कार्यक्रम र अतिथिहरुको भाषणले गार्द एकै दिन भ्याउन नसकेपछि दुई दिन आयोजना गर्नुपर्ने प्रष्टिकरण आयोजकले दिएको छ । तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ ।

आज बुधवार विदुरमा तारुका गोरु जुधाई महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरेर तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसंक्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे संक्राान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् ।

यस पालि गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका संस्थापक जनकराज ढुङ्गानाले जानकारी दिएका छन् । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत सम्लग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको उनले बताएका छन् । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ,’ उनले भने, ‘गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ ।’

माघे संक्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शिर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ । यहीको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष श्रेष्ठले बताए । ‘पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो,’ विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो ।’

माघ १ गतेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख अतिथि र काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ विशेष अतिथि छन् । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । राष्ट्रिय कलाकारहरु कमला घिमिरे, नविन पौडेल र सुमन परियारको प्रस्तुती रहने आयोजक समितिका कोषाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिएका छन् ।

गोरु जुधाईको इतिहास :

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाका बताउँछन् । त्यसलाई हरेक वर्ष माघेसंक्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झन्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने २०६१ सालदेखि समितिमार्फत नेतृत्व लिइएको हो ।

गोरु जुधाउन आधुनिकता भित्रन नदिइ मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसंक्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ ।

२७ पुष २०७९, बुधबार १२:४३



तपाईको प्रतिक्रिया