त्रिशुली अस्पतालको तीन वर्षको प्रगती सार्वजनिक

गुणस्तरिय सेवाको प्रतिबद्धता जनाएकै रात सुत्केरीको ज्यान गयो

डा. दिपेन्द्र पाण्डे

त्रिशुली । त्रिशुली अस्पतालले आफ्नो कार्य प्रगती, चुनौती र भावी योजनाका साथै गुणस्तरिय सेवाको प्रतिबद्धता जनाएर पत्रकारहरुसंग भेटघाट गरेकै रात (गए राती) एक सुत्केरीको ज्यान गएको छ । त्रिशुली अस्पतालको सेवा र गुणस्तरका विषयमा त्रिशुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र चिकित्सकहरुले प्रतिबद्धता जनाइरहेकै समयमा सुत्केरीको ज्यान जानुलाई भने सेवाग्राहीले आलोचना गरेका छन् ।

तीन दिनदेखि सुत्केरी हुनका लागि अस्पताल भर्ना भएका विदुर नगरपालिका वडा नं. ७ तुप्चेका सावित्री कोइरालाको अधिक रक्तश्रावका कारण ज्यान गएको हो । शिशुको अवस्था सामान्य रहेको छ । उपचारमा सम्लग्न चिकित्सकहरुको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भन्दै आफन्तहरुले राती अस्पताल तोडफोड गर्नुका साथै प्रर्दशन समेत गरेका छन् ।

मृतकका परिवारले शब बिहान बुझेर लगेका छन् । उनीहरुले उपचारमा सम्लग्न चिकित्सकका कारण सुत्केरीको ज्यान गएको भन्दै कारबाहीको माग गरेका छन् ।

यसै बीच, हिजो त्रिशुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले पत्रकारसंग अन्तरक्रिया गरेर पछिल्लो समय अस्पतालको सेवामा सुधार भएको दावी गरेको छ । अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा भए गरेका उपलब्धी र प्रयासहरुलाई सार्वजनिक गरेका छन् । तीन वर्षको अवधिमा अस्पतालमा आएको सुधारको विषयमा उनले जानकारी दिएका हुन् ।

त्रिशुली अस्पतलाका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले अस्पतालको चुनौती र समस्याहरुलाई प्रस्तुत गरेका थिए । दरवन्दी अनुसारको कर्मचारी नहुनु र कोभिड–१९ नियन्त्रणका लागि करारमा राखिएको कर्मचारीलाई सरकारले हटाउने तयारी हुँदा अस्पताल पुस मसान्तपछि संकटमा पर्ने उनले बताए ।

अर्जुनप्रसाद न्यौपाने

२७ पुष २०७८, मंगलवार १३:४०



तपाईको प्रतिक्रिया