न्याय पाउन मुस्किल घरेलु र यौन हिंसा कोरोनाले झन् छोपियो

विदुर । २४ मंसिर, २०७७ मा नुवाकोट सदरमुकाम विदुरमा राममाया तामाङ (परिवर्तित नाम) ले पत्रकार सम्मेलन गरे । उनीसंग आफ्ना किशोरी दुई छोरीहरु थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा आफ्नो कान्छि छोरीमाथी बलत्कार प्रयास भएको मुद्दा बोकेर हिडेका उनको गुनासो थियो : प्रहरीले उजुरी समेत लिएन । विदुर नगरपालिका वडा नं. १२ का उनी आफ्ना छोरी माथी छिमेकी अधबैशें पुरुषले गरेको यौन दुब्र्यबहारको न्यायको खोजीमा थिए । तर प्रहरीले मुद्दा दर्ता गर्नै मानेन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको दोश्रो दिन भएको घटनाको बारेमा राममायाले उजुरी नै दर्ता गर्न नसकेपछि १६ दिने अभियान सकिने अघिल्लो दिन पत्रकार सम्मेलन गरे ।

लैंगिक हिंसा, त्यस मध्ये पनि महिला, बालबालिका तथा किशोरी माथी हुने यौनजन्य हिंसाका कुरा बढि उठ्छन् र उठाइन्छन् । दिसव नै मनाइरहेको समयमा बाहिरएको उक्त घटनाले केही दिन बजार त ततायो र त्यसले कानूनी प्रक्रृयामा प्रवेश गर्नै पाएन ।

७ फागुन, २०७७ मा लिखु गाउँपालिकाका एक महिला आफुमाथी श्रीमान्बाट हिंसा हुने गरेको गुनासो बोकेर सदरमुकाम आए । तर उनले यथेष्ट प्रमाण जुटाउन नसक्ने भएपछि कानूनी प्रक्रृयामा जानबाट हच्किइन् । प्रहरीको अन्य जरुरी काम रहेको र प्रमाण जुट्दा माथी उजुरी लिने जवाफ लिएर उनी घर फर्किए ।

यी दुई वटा प्रतिनिधि घटना जस्तै समस्या नुवाकोटमा थुप्रै छन् । २१ बैशाख, २०७८ जारी रहेको निषेधाज्ञाका कारण झन् यस्ता घरेलु हिंसा र घटनाहरु बाहिर आएको छैन । अत्यावश्यक बाहेकका सबै क्षेत्र र सेवाहरु ठप्प प्रायः रहेको नुवाकोटमा घरेलु हिंसा तथा यौनजन्य हिंसाहरु भुसको आगो जस्तै छ । महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे संक्रमणकालिन अवस्थामा महिला तथा किशोरी माथीको हिंसा झन् भयावह हुने गरेको सुनाउँछन् । सरकारी संयन्त्र समेत पूर्ण रुपमा सञ्चालनमा रहनेको अवस्थाको कारणले गर्दा त्यस्ता घटनाहरु बाहिर आउन नसकेको र कानूनी प्रक्रियामा जान नसकेको उनको तर्क रहेको छ । ‘कोरोनाका कारण भएको निषेधाज्ञाका कारण धेरै महिला दिदिबहिनी र किशोरीहरु आफु बिरुद्धको हिंसा सहन बाध्य छन्, अध्यक्ष पाण्डे भन्छन्– ‘कोरोना र निषेधाज्ञा त झन् घटना लुकाउने बाहाना भएको छ ।’

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नोबेल कोरोना भाइरस (कोभिड–१९) को विश्व महामारी चलिरहँदा अन्य काममा कम केन्द्रित रहनुपरेकोले बताउने गरेको छ । केही समयदेखि नुवाकोट प्रहरीले आफ्नो दैनिक कामकारबाही र उजुरी तथा अपराधका घटनाहरुलाई सार्वजनिक गरेको छैन । यस अघि दैनिक बुलेटिन जिल्लाका पत्रकार तथा सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएका प्रहरीले अहिले त्यो सेवा बन्द गराएको छ । जसले गर्दा पनि नुवाकोटमा कोरोनाको समय र वर्तमान निषेधाज्ञाको बेलामा हुने महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरुको विवरण बाहिर आउन सकेको छैन ।

नुवाकोट प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बाहिर भनिएजस्तो प्रहरीले पिडितलाई असहयोग नगरेको आरोप खण्डन गर्छन् । केही घटनाको बारेमा उनले बाहिरनै दुई पक्षबीच छलफल हुने गरेको र प्रहरी कार्यालयसम्म आइपुग्दा कानूनी आधार कमजोर बन्ने गरेको बताएका छन् ।

त्यसो त निषेधाज्ञाको समयमा समेत नुवाकोट प्रहरीले दर्ता भएका घटना तथा मुद्दाहरुको अनुसनधान र आबश्यक कारबाही गर्दै आएको केही घटनाहरु छन् । बैशाख २१ गतेदेखि निरन्तर रुपमा जारी रहेको निषेधाज्ञाको पालाना गराउन तथा कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लाका नाकामा प्रहरीको ठूलो संख्या सक्रिय रहेका छन् । यस बीचमा पनि आफ्नो नियमित कारबाही र फरार अभियुक्तहरुको खोजीलाई जारी राखेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

१५ जेठ, २०७८ मा नुवाकोटको म्यागाङ गाउँपालिका वडा नं. ३ का ४४ वर्षिया विष्णु सुनारले सोही गाउँका ६१ वर्षिया महिलालाई करणी गरे । करणीपछि ज्यान मार्ने प्रयास गरेका सुनारलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत नुवाकोट बुझाएको थियो । जिल्ला अदालतले ३ असार, २०७८ मा सुनारलाई पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको छ । सुनार अहिले जिल्ला कारागार नुवाकोटमा छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको सामाजिक सञ्जाल फेसबुकको आधिकारिक आईडीबाट सार्वजनिक गरिएको यो घटना बाहेक अन्य हिंसा तथा यौनजन्य घटनाहरुको विबरण पछिल्लो छ महिनाको अवधिमा देखिएको छैन ।

विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र न्युनिकरणका लागि नुवाकोटमा अघिल्लो पटक ११ चैत, २०७६ मा पहिलो पटक बन्दाबन्दी भएको थियो । असारसम्म जारी रहेको त्यस बेलाको बन्दाबन्दीमा नुवाकोटमा घरेलु हिंसा, यौनजन्य हिंसाका घटनाहरु जिल्ला प्रहरी कार्यालयमा उल्लेख्य संख्यामा दर्ता भएको थियो । सोही प्रकृतिको अहिलेको निषेधाज्ञाको अवधिमा भने त्यस्ता खाले घटनाहरु असाध्यै कम बाहिर आएका छन् । जिल्ला प्रहरी कार्यालयमा पनि असाध्यै न्यून संख्यामा घटनाहरु दर्ज भएका छन् । दोश्रो भेरियण्टको कोरोना नियन्त्रणका लागि हाल भइरहेको (२१ बैशाख, २०७८ देखि) निषेधाज्ञमा भने त्यस्ता घटनाहरु कम हुने गरेर नभई बाहिर नै नआएको कारण कम देखिएको तर्क यस विषयमा चासो राख्नेहरुको छ ।

महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे सर्वसाधरणहरुको सहज आवातजावतमा भइरहेको अवरोधका कराण धेरै घटनाहरु प्रहरी, प्रशासन र सञ्चार माध्यममा नआइपुगेको बताउँछन् । केही घटनाहरु मात्रै बाहिर आएको र प्रहरीले पनि आक्लफुक्कल यस्ता घटनाहरुको अनुसन्धान गरेको उनको भनाई रहेको छ । सबै क्षेत्र डामाडोल बनेको र सार्वजनिक यातायात समेत सञ्चालनमा नहरेको अवस्थामा स्वतस्फुर्त रुपमा पिडितहरु न्याय माग्न वा आफु माथीको अपराध सार्वजनिक गर्न असमर्थ रहेको पाण्डेको भनाई रहेको छ । महिलाहरु माथी हुने कुनै हिंसा वा दुब्र्यबहार विरुद्ध आफुहरु शुन्य सहनशीलता लिएर खरो उत्रदै आएको उनले बताए । अहिलेको अवस्थामा पनि त्यस्ता घटनामा परेर पिडित भएका छन् भने सम्पर्कमा आउन पाण्डेले आग्रह गरेका छन् । ‘न्यायका लागि पिडित महिला दिदिबहिनीहरुका लागि हामी सहयोग गर्न तयार छौं’, पाण्डेले भने– ‘कुनै पनि खाले घटना लुकाउनु वा अहिले यस्तो बेला छ भनेर गुम्सनु जरुरी छैन ।’

महिला माथी हुने हिंसा तथा यौन दुब्र्यबहारका गुनासोहरु स्थानीय सरकारसम्म पनि आक्कलझुक्कल पुग्ने गरेको छ । स्थानीय सरकारमा रहेको न्यायीक समितिमा समेत यो निषेधाज्ञाको समय यस्ता घटनाहरुको बारेमा उजुरी हुने र सरसल्लाह माग्ने जस्ता गतिविधिहरु देखिएका छैनन् । ‘दिदिबहिनीहरु पक्कै पनि यस्ता व्यवहारमा पर्नु भएकै छ, तर अहिलेको अवस्थाका कारण हुनसक्छ हामीसम्म गुनासो लिएर आइपुग्नु भएको छैन’ विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल भन्छन् । समितिले मानाचामल, लालनपालनमा समस्या भएका जस्ता विषयमा छिनोफानो गर्दै आएको छ ।

विदुर नगरपालिकाले विदुरमै ‘सेफ हाउस’ सञ्चालनमा ल्याएको छ । हिंसा, घरेलु हिंसामा परेका महिला, किशोरी, बालिकालाई सुरक्षित राख्नका लागि यो कार्यक्रम लागू भएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको संयोजकत्वमा यो कार्यक्रम सञ्चालन भइहेको छ । ‘सेफ हाउस’ मा अहिले तीन जना महिलाहरुले आश्रय लिइरहेका छन् । विदुर नगरपालिकाको न्यायीक सममितिमा आएका र समितिले कानूनी सहयोग प्रदान गरिरहेका महिलाहरुलाई सुरक्षित राखिएको छ । ‘सेफ हाउस’ सञ्चालनकै लागि विदुर नगरपालिकाले कार्यविधि समेत तयार गरेको छ । ‘हामीले कोही महिलाहरुले अपराध सहन नपरोस् र कानूनी प्रक्रियामा रहँदा घरबार विहिन भएर बस्नका लागि समेत समस्यामा महिलाहरु नपरुन् भनेर सेफ हाउस सञ्चालन गरेका हौं’, उपप्रमुख दाहालले भने– ‘लैङ्गिक हिंसामा परेका महिलाहरुको सहयोगका लागि भनेर विदुर नगरपालिकाले राहत कोषको समेत स्थापना गरेको छ ।’

यसरी स्थानीय सरकारले घरेलु हिंसा र यौनजन्य हिंसामा परेका महिला तथा बालिकाहरुका लागि सञ्चालन गरेको कार्यक्रमबाट समेत पिडितहरुले कम लाभ लिइरहेका छन् । कोरोनाकै कारण दर्जनौं घटनाहरु गुपचुप भएको अनुमान गरिएको छ । तर यो अवस्था सहज भएपछि यस्ता लुकेका घटनाहरु बाहिर आउने र आपराधिक मनोवृत्ति भएका व्यक्तिहरु सजायको भागिदार हुनेमा विश्वस्त छन् सञ्जाल अध्यक्ष अञ्जली पाण्डे ।

१८ असार २०७८, शुक्रबार १३:५१



तपाईको प्रतिक्रिया