लाइसेन्स नभए पनि सावधानीपूर्वक मोटरसाइकल चलाउनु ठूलो अपराध होइन

काठमाडौं । सर्वोच्च अदालतले दुईपांग्रे निजी सवारीसाधन (मोटरसाइकल/स्कुटर) लाइसेन्स नभए पनि सावधानीपूर्वक चलाउनु ठूलो अपराध नहुने व्याख्या गरेको छ । एउटा पुरानो मुद्दाको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा यस्तो व्याख्या गरिएको हो । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले १० वर्षअघिको सवारी ज्यानसम्बन्धी घटनाको मुद्दामा गरेको फैसला हालै सार्वजनिक भएको हो । यो फैसलामा सवारीचालक अनुमतिपत्र नभए पनि व्यक्तिगत दुईपांग्रे सवारीसाधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या छ ।

यो मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको थियो । सर्वोच्चको बृहत् पूर्ण इजलासले जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै प्रतिवादीको सजाय घटाइदिएको छ । चालकले सावधानीपूर्वक मोटरसाइकल चलाएको अवस्थामा दुर्घटना भई पैदल यात्रुको मृत्यु भएको तर्कसहित सजाय घटाइएको हो । ‘दुईपांग्रे सवारीसाधन मोटरसाइकल चलाउनैपर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकका कारण नभई अन्य कारणले दुर्घटना भई मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवेकको प्रयोग गरी सजाय गरिनुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ । लाइसेन्स नभएको तथ्यलाई स्वतः लापरवाहीपूर्वक सवारी चलाएको भन्न नमिल्ने फैसलामा उल्लेख छ ।

प्रतिवादीले आफ्नै साइडबाट मोटरसाइकल चलाएको, सवारी चलाउँदाको अवस्थामा कुनै किसिमको लागू औषध वा मादक पदार्थ सेवन नगरेको, मोटरसाइकलको यान्त्रिक अवस्थामा कुनै गडबडी नरहेको र गति पनि सीमित रहेको अवस्थामा लापरवाही गरेको भन्न नमिल्ने सर्वोच्चको ठहर छ ।

घटना के थियो ?
घटना २०६९ पुस ११ गतेको हो । नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बजारमा एउटा मोटरसाइकल ढलेको अवस्थामा भेटियो । सँगै रगत लतपतिएको अवस्थामा एक व्यक्ति थिए । उनलाई तत्काल अस्पताल पु-याइयो र उपचारका क्रममा उनको मृत्यु हुन पुग्यो । मृतक थिए स्थानीय रामप्रसाद कुमाल । उनलाई दीपक तामाङले चलाइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो । मृतकका भाइ रामप्रसाद कुमालले दीपकविरुद्ध ज्यान मार्ने कसुरमा किटानी जाहेरी दिए । साथै किरिया खर्च र क्षतिपूर्ति पनि माग गरे । कुमालको शव पोष्टमार्टम गर्दा मृत्युको कारण ‘दिमागबाट अत्यधिक रगत बग्नु’ उल्लेख थियो । दीपकसँग लाइसेन्स नभएकोले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) र १६१ (४) बमोजिम सजाय मागदाबी गर्दै प्रहरीले अभियोगपत्र तयार पा-यो । त्यतिबेलासम्म दीपक पनि घाइते भएर अस्पतालमा उपचाररत थिए ।

ठीक भएपछि अदालतमा बयानका क्रममा उनले ‘मोटरसाइकल चलाउने क्रममा ३० मिटर जति अगाडि मानिस देखेर हर्न बजाएको, १५ मिटर अगाडि पुगेपछि फेरि हर्न बजाएको र दायाँतर्फ मोडिन लाग्दा ढुंगामा मोटरसाइकल ठक्कर खाएको’ बताएका छन् । त्यही क्रममा ती व्यक्ति पनि फर्की दायाँतर्फ नै आएको र आफ्नो मोटरसाइकलको लेग गार्डले लागेको उनले बयानमा भनेका छन् । मोटरसाइकल लडेपछि आफू बेहोस भएको र दुई दिनपछि अस्पतालमा होस आउँदा ठक्कर लागेका व्यक्तिको मृत्यु भएको थाहा पाएको दीपकको साविती बयान छ । आफूसँग त्यतिबेला लाइसेन्स नभएको र दुर्घटना लापरवाहीका कारण नभई अचानक भएको उनले दाबी गरेका छन् । थुनछेक बहसपछि जिल्ला अदालत नुवाकोटले उनलाई १५ हजार धरौटीमा छाड्ने आदेश दियो ।

२०७० माघ १५ अर्थात् घटनाको एक वर्षपछि जिल्ला अदालतले दीपकलाई ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । दुर्घटना जेब्रा क्रसिङ भएको र चालकसँग लाइसेन्स पनि नभएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत पाटनमा पुनरावेदन पत्र हाल्यो । ‘प्रतिवादीले चलाएको मोटरसाइकल बाट मृतकको ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा अभियोग दाबी पुग्दैन’ भन्दै पुनरावेदनले जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि वादी अर्थात् सरकारी वकिलको कार्यालय सर्वोच्च पुग्यो । तर्क थियो– प्रतिवादीसँग लाइसेन्स नभएको, लाइसेन्स नभएकोले स्वतः लापरवाही गरेको मानिने र मोटरसाइकल चलाउँदा सावधानी नअपनाएको । सरकारी वकिलले बहसका क्रममा यही जिकिर गरे भने प्रतिवादीका वकिलले निजी सवारीसाधन चलाउन लाइसेन्स लिनुपर्ने भए पनि आवश्यकता र औचित्यका आधारमा सवारी चलाएको अवस्थामा दुर्घटना भएमा अनुमतिपत्र नभएकै आधारमा लापरवाहीपूर्वक चलाएको भन्न नमिल्ने तर्क गरे ।

त्यसपछि इजलासले यो मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने निर्णय ग-यो । बृहत् पूर्ण इजलासले सवारी ज्यान मुद्दासम्बन्धी मुद्दामा प्रतिपादन भएका नजिर सिद्धान्तहरूको चर्चा गर्दै व्यक्तिगत र सार्वजनिक सवारी चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । ‘लाइसेन्स नलिई सवारी चलाई चलाएर दुर्घटना भई कसैको ज्यान मरेमा स्वतः लापरवाही हुने हो वा दुर्घटनाको रुप, तथ्य वा परिस्थिति आदिबाट पनि हेरिनुपर्ने हो भन्ने प्रश्न पनि रहेको छ,’ फैसलामा भनिएको छ, ‘प्रतिवादी दीपक  तामाङले आफूले चलाउने गरेको निजी  मोटरसाइकल चलाएको अवस्थामा बाटोमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको र चालकसमेत घाइते भएर दुई दिनपछि होस आएको भन्ने देखिएकाले विशेष गरेर बिना अनुमतिपत्र मोटरसाइकल जस्ता दुईपांग्रे सवारीसाधन चलाई दुर्घटना भई मानिसको मृत्यु भएको हकमा विचार गर्न‘पर्ने देखिएको छ ।’

उक्त मुद्दामा सर्वोच्चले प्रतिवादीले आफ्नै फर्निचर कारखानामा काम गर्ने व्यक्तिलाई मोटरसाइकलमा पु-याउन जाने प्रयोजनका लागि मोटरसाइकल चलाएको, चालक आफैं घाइते भई दुई दिनपछि होसमा आएको, चालकले ट्राफिक नियम उल्लंघन नगरेको, यात्रुलाई बचाउन हर्न बजाएको, मोटरसाइकल अर्कोतिरबाट लैजाने प्रयास गरेको, मादक पदार्थ वा लागु पदार्थ सेवन नगरेको, करिब २५–३० किलोमिटर प्रतिघण्टामा मोटरसाइकल चलाएको आदि अवस्थामा सावधानी अपनाउँदा–अपनाउँदै पनि दुर्घटना भई ज्यान गएकाले जिल्ला र पुनरावेदनले गरेको सजायको फैसला घटाउँदै ६ महिना कैद सजायमात्र हुने फैसला गरेको छ । अभियुक्त सजाय भुक्तान गरी जेलबाट छुटिसकेका छन् ।

२२ श्रावण २०८०, सोमबार ०५:००



तपाईको प्रतिक्रिया