सरकारी सवारी साधनको बढ्दो दुरुपयोग

विदुर । नुवाकोटमा सरकारी सवारी साधनको दुरुपयोग बढ्दो छ । जिल्लास्थित सरकारी कार्यालय र जनप्रतिनिधिहरूले सवारी साधनको दुरुपयोग गरेपछि सरोकारवाला निकाय भने मौन रहेका छन् ।

जिल्लामा हुने सरकारी सवारी साधनको दुरुपयोग रोक्नको लागि पुर्नसंरचना हुनुभन्दा अघि राजनीतिक दल तथा तीनका भातृ संगठनले अभियान सञ्चालन गर्ने गरेका भएपछि पछिल्लो दश वर्षदेखि यिनीहरू निष्कृय छन् । राजनीतिक दल, भातृ संगठन तथा सामाजिक संघसंस्था निस्क्रि हुनुको मनग्य फाइदा जिल्लाका सरकारी तथा जनप्रतिनिधिहरूले उठाइरहेका छन् ।

पुर्नसंरचनापछि जिल्लामा १२ वटा स्थानीय तह र ८८ वटा वडा भएको छ । जिल्लाका केही सरकारी कार्यालय हटेपनि सरकारी सवारी साधनको प्रयोग भने बढेको छ । हरेक पालिकामा ३ देखि ५ वटा सम्म चार पांग्रे सवारी साधन छ भने वडा अध्यक्ष र कर्मचारीका लागि मोटरसाइकलको व्यवस्था गरिएको छ । सरकारी सवारी साधनको दुरुपयोग रोक्नको लागि संघीय सरकारले छुट्टै नियम बनाएको छ । तर, यो नियम जिल्लामा लागू भएको पाइँदैन ।

जिल्लामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको जनगुनासो आएपनि सरोकारवाला र सवारी पास उपलब्ध गराउने प्रशासन कार्यालय तेल हालेर बसेका छन् । व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने र बजार तथा भट्टी पसल अनि आफन्त कहाँ जानसमेत सरकारी साधनको प्रयोग गरिएको अनेरास्ववियु क्रान्तिकारीका नेता राजेन्द्र पनेरु बताउँछन् । ‘सरकारी सवारी साधनको चरम दुरुपयोगसँगै विदाको समय र घरायसी प्रयोजनमा खर्च हुँदा राज्यको व्ययभार बढेको छ ।’– पनेरुले भने ।

सरकारी साधन भट्टी पसलसम्म आफन्त बोक्न र रमाइलोको लागि प्रयोग गर्न बन्द हुनुपर्ने उनी बताउँछन् । यसको नियन्त्रणको लागि सम्बन्धित व्यक्तिलाई मात्र सवारी दिने, पासको व्यवस्थापन र बिदाको दिन अनुगमनलाई प्रभावकारी बनाउन सकिने हो भने यसको नियन्त्रण हुने उनको बुझाई छ ।

सरकारी पदमा रहेकाकालाई काममा सहज होस् भनेर प्रदान गरिएको सवारी साधन आफ्नो सरकारी काममा बाहेक व्यक्तिगत काममा प्रयोग गरेका छन् ।

सार्वजनिक विदा वा कार्यालय समयभन्दा बाहिर सरकारी सवारी साधन प्रयोग गर्न पाइँदैन । काममा सहजता होस् भन्ने उद्देश्यले विदाको दिनमा पनि अतिआवश्यकका लागि पास बनाई प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । तर, पास व्यवस्थापनको कडाई जिल्ला प्रशासन कार्यालयले गर्न सकेको छैन ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रविन दाहाल अहिले मात्र होइन, नुवाकोटमा धेरै पहिलेदेखि दुरुपयोग भइरहेको बताउँछन् । ‘आफन्त ओसार पसार गर्ने विवाह, व्रतबन्धमा प्रयोग भएको पाइन्छ ।’ दाहाल भन्छन्– ‘नियमन गर्नुपर्ने निकायहरूले दुरुपयोग गरिरहेका छन् ।’ उनले अझ मर्मत सम्भारमा धेरै खर्च देखाएर राज्य सम्पत्तिको दुरुपयोग भइरहेको बताए ।

चाहिने भन्दा बढी इन्धन माग गरेर पेट्रोल पम्पसँग विक्री गरेर पकेट खर्चसमेत निकाल्ने कर्मचारी र जनप्रतिनिधिका कारण राज्यको अर्वौ रुपैयाँ दुरुपयोग भएको उनी बताउँछन् । ‘तीन, चार वर्षमा मर्मत खर्च मात्रै सवारी किनेको भन्दा बढी रकम मर्मत मै खर्च भएका उदाहरण पनि छन्’ दाहाल भन्छन्– ‘यसको नियन्त्रणको लागि सचेत गराउँदा एक दुई दिन मात्रै रोकिने र त्यसपछि फेरी उस्तै हुने गरेको छ ।’

अनुगमन गर्नुपर्ने निकायले नै नियमन नगर्दा समस्या निम्त्याएको उनी बताउँछन् । सरकारी सवारीसाधन कार्यालय समय बाहेक सञ्चालन गर्दा पास भए नभएको अनुगमन गर्ने ट्र«ाफिक प्रहरी अरुसँग परनिर्भर हुँदा पनि समस्या भइरहेको दाहाल बताउँछन् ।

अनेरास्ववियु नुवाकोटका निवर्तमान अध्यक्ष सत्य रिमाल जिल्लामा बढ्दो सवारी दुरुपयोगलाई रोक्नको लागि सरोकारवाला सबैको अनुगमन आवश्यक रहेको बताउँछन् । अनुगमन र चेकजाँच गर्ने सरकारी निकायले नियमित चेकजाँच गर्ने र सरोकारवालाहरूको खवरदारी नियमित भयो भने मात्रै दुरुपयोग रोक्न सकिने उनले बताए । विद्यार्थी संगठनहरूले एउटा अभियान नै बनाउनुपर्ने उनको सुझाव छ । जनप्रतिनिधिहरूले ‘हामी २४ सै घण्टा जनताको सेवामा’ भन्दै सरकारी साधनको दुरुपयोग भएको उनको बुझाई छ ।

केही वर्ष अघि अघि एक वर्ष अघि सरकार उच्चस्तरीय तलब सुविधा आयोगले बुझाएको प्रतिवेदनमा सवारी साधनको सुविधा दिने कर्मचारीको संख्या भन्दा ४ गुणा बढि सवारी साधनको उपयोग भएको भन्दै सचेत गराएको थियो । प्रतिवेदन अनुसार सवारी साधन खरिद र प्रयोग सम्बन्धी स्पष्ट मापदण्ड तोक्न नसक्दा सवारीसाधन खरिद र मर्मतमा वार्षिक बजेटको ठूलो रकम दुरुपयोग भइरहेको बताएको थियो । –यो समयबाट

११ भाद्र २०८०, सोमबार १०:११



तपाईको प्रतिक्रिया