गोसाइँकुण्डमा १५ हजार पुगेको अनुमान

विदुर । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान (गोसाइँकुण्ड) पुगेका छन् । झण्डै १५ हजार भक्तजन गोसाइँकुण्ड पुगेका हुन् । जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप लगायतका जिल्लाबाट भक्तजन गोसाइँकुण्ड पुगेका छन् ।

समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगतलाई बचाउनुभएको विश्वासका साथ हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा गोसाइँकुण्ड गाउँपालिका, चोलाङपाटीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा दिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न संघीय सांसद मोहन आचार्य, गोसाइँकुण्ड गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रसुवा, लाङटाङ राष्टिय निकुञ्ज, नेपाली सेना, सशस्त्र प्रहरी २० नम्बर गुल्म, जिल्ला प्रहरी कार्यालय, हिमालय उद्धार संघ, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, नेपाल टेलिकम रहेका थिए । त्यस्तै गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय, नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति, होटल व्यवसाय, ल्यकोश, डिवाइटिडिएस, मानेकोर सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ वडा कार्यालय, सूर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नेपाल रेडक्रस सोसाइटी रसुवा, सक्षम नेपाल, नेपाल पत्रकार महासंघ, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल विद्युत प्राधिकरण रसुवा, अनुसन्धान कार्यालय, बस व्यावसायहरू परिचालित थिए ।

मेलाको अवधिभर पार्किङ स्थलमा ११०६ सवारी साधनहरू पार्किङ गरिएको वडा अध्यक्ष दावासिदार वाइवाले बताए । सुरक्षाका लागि नेपाल प्रहरीका ३१ जना, उद्धारका लागि नेपाली सेना विष्णुदल गणका ८० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका १० जना, सशस्त्र प्रहरी २० नम्बर गुल्मका १३ जना तैनाथ थिए ।

१८ भाद्र २०८०, सोमबार ०९:३८



तपाईको प्रतिक्रिया