चीनले थाल्यो केरुङ रेलमार्ग अध्ययन

चिनियाँ पत्रकार सेन सिवेईले ट्वीटर मार्फत् सार्वजनिक गरेको तस्बिर ।

नुवाकोट । चीनले नेपालसँग जोड्ने भनिएको सिगात्से–केरूङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ । चिनियाँ टेलिभिजन सिजिटिएनका पत्रकार सेन सिवेईले पछिल्लो समय चिनियाँ प्राविधिकहरूले उक्त रेलमार्गको अध्ययन गरिरहेका तस्बिर सार्वजनिक गरेका छन् ।

सिगात्सेदेखि केरूङसम्म पाँच सय किलोमिटर रेलमार्ग बनाउन चीनले यसअघि नै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो । यसपालि उनीहरूले विस्तृत इन्जिनियरिङ अध्ययन गरेको चिनियाँ पत्रकार सिवेईल सूचित गरेका छन् । चीनले रसुवागढी केरूङसम्मको रेलमार्गको विस्तृत अध्ययन गरिरहेको कुरालाई नेपालमा पनि चासोका साथ हेरिएको छ । चीनले केरूङसम्म ल्याउने रेल रसुवागढी हुँदै काठमाडौं ल्याउने योजना प्रधानमन्त्री केपी शर्मा ओलीको छ ।

केरूङ–काठमाडौं रेलमार्गका लागि चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन पनि गरिसकेको छ । पछिल्लो समय सिगात्से–केरूङ रेलमार्गको विस्तृत अध्ययन गरिरहेकोबारे भने चिनियाँ पक्षले नेपाललाई औपचारिक जानकारी गराएको छैन । गत मंसिरमा नेपाल र चिनियाँ अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकले साढे २ वर्षभित्र केरूङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सक्ने समझदारी गरेको थियो ।

चिनियाँ पक्षले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५ किलोमिटरको केरूङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने देखिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोजमा भएको नेपाल भ्रमणका क्रममा पनि केरूङ–काठमाडौं रेलमार्गको अध्ययन गर्ने समझदारी भएको थियो । उक्त रेलमार्गमा अहिलेसम्म भएको अध्ययनको सबै खर्च चिनियाँ पक्षले व्यहोरेको छ । तर, रेलमार्ग बनाउँदा लगानी कसरी जुटाउने भन्ने विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन ।

१३ श्रावण २०७७, मंगलवार ०८:५२



तपाईको प्रतिक्रिया