पुर्व उपमेयरको पुस्तक लोकार्पण

काठमाडौं । बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ को लोकार्पण भएको छ ।

काठमाडौंमा आयोजिक एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तकको लोकार्पण गरेका हुन् । स्थानीय सरकारले के कसरी काम गर्न सक्छ र जनताका लागि त्यो केकति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई समेटेर, आफ्नो अनुभवसमेत त्यसमा उल्लेख गरिएको ढुङ्गानाको उक्त पुस्तक खोजी प्रकाशनले प्रकाशन गरेको हो ।

नेकपा माओवादी केन्द्रका नेता तथा जिल्ला विकास समिति नुवाकोटका तत्कालिन जिल्ला सभापति स्वर्गिय भरतप्रसाद ढुङ्गानाकी छोरी कविताको उक्त पुस्तकले स्थानीय सरकारले गर्ने काम, त्यसको अनुभवसहित विषय पुस्तकमा उल्लेख गरिएको छ । ढुङ्गाना नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको पहिलो उपमेयर हुन् ।

कार्यक्रममा पुस्तक लोकार्पणपछि प्रमुख अतिथि प्रधानमन्त्री दाहालल ढुङ्गानाको पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको शैद्धान्तिक र व्यावहारिक कृति भएको भन्दै यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाई दिए । प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा रहेको बताए । प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठिक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत देखापरेको उल्लेख गरे ।

‘यस्तो बेलामा स्थानीय सरकारको महत्व के हो र त्यसको आवश्यकता किन हो भन्नेबारे स्थानीय जनप्रतिनिधि जसले आफैँले अनुभव गरे उनीहरूले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिलेभन्दा बढेको छ । हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न’, प्रधानमन्त्री दाहालले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सरकारको काम कारबाहीका बारेमा बुझ्न पुस्तक सहयोगी हुने बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले जनताको घर आँगनको सरकारका रूपमा रहेको स्थानीय निकायलाई के कसरी सबल र सक्षम बनाउन सकिन्छ भन्नेबारेमा सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए ।

२१ आश्विन २०८०, आईतवार १९:५५



तपाईको प्रतिक्रिया