आचार्य सहित चार पत्रकारको सम्मान

विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको ११ औं साधारणसभाको अवसरमा शाखाका संस्थापक दिनेश आचार्य सहित नुवाकोटका चार जना पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

विदुरमा गएको सोमवार आयोजित साधारण सभा तथा सम्मान र पुरस्कार प्रदान समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार आचार्यलाई दोसल्ला ओढाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरेका छन् । पत्रकार आचार्य २०५४ सालमा नेपाल वाणी साप्ताहिकको समाचारदाताको रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको आबद्धतासंगै हाल शेयर बजार साप्ताहिकको सम्पादकका रुपमा कार्यरत छन् ।

साधारणसभामा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । बर्षेनी पत्रकार महासंघ नुवाकोट शाखाले प्रदान गर्दै आएको पुरस्कार यस पटक पनि प्रदान गरिएको हो । स्वर्गिय पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, स्वर्गिय पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र महिला पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु पुरस्कृत भएका छन् । उनीहरू सबैलाई एधार हजार १११ रुपैयाँ नगद प्रदान गरिएको छ ।

पत्रकार महासंघले स्थापना गरेको जोशी स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य नुवाकोटबाट सञ्चालित डबली खबर डट कमले च२०७४ सालदेखि गर्दै आएको छ । प्रधान स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य विदुर–२ मा रहेको बिन्दवासिनी बचत तथा ऋण सहकारी संघले गरेको छ । महिला पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य नुवाकोटबाट प्रकाशन हुने नुवाकोट पुकार साप्ताहिकले गरेको छ ।

पुरस्कृत भएका पत्रकार श्रेष्ठ २०६० सालदेखि कान्तिपुर टेलिभिजनको जिल्ला प्रतिनिधिको रुपमा कार्य गर्दै आईरहेका छन् । पत्रकार अधिकारी दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथामा २०५२ सालमा स्वंमसेवी रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरी ०६४ सालमा नुवाकोट जिल्लामा पहिलो पटक एफएम रेडियो स्थापना गरेर स्टेशन म्यानेजरको रुपमा कार्य गर्दै आईरहेका छन् । पत्रकार पनेरु २०६९ सालमा हिमाल एफएम सोलुखुम्बुबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरि विभिन्न राष्ट्रिय सञ्चार माध्यामहरूमा कार्य गरी नयाँ पत्रिकामा संवाददाता छन् ।

साधारण सभामा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, ध्रुबकुमार रावल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, प्रदेश महासचिव कृष्ण सारु मगर, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर पण्डित, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

यस्तै, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिष्णु तारुके, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम, पत्रकार महासंघ बागमती प्रदेश सदस्य रामहरि गजुरेल, पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य देवचन्द्र भट्ट, समाजवादी प्रेस संगठन बागमती प्रदेशका सचिव भोलाराज पौडेल, महिला मानव अधिकार रक्षकहरूको सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे लगायतले पत्रकारहरूको प्रोत्साहनका लागि सम्मान र पुरस्कारको निरन्तरताको कामना गरे ।

३ पुष २०७९, आईतवार १३:१८



तपाईको प्रतिक्रिया