विदुर नगरपालिकामा कुन दलबाट को मेयर उपमेयर ?

विदुर । स्थानीय तहको निर्वाचन मिति तय भएसँगै दलमा सरगर्मी बढाएको छ । स्थानीय तहको उम्मेदवार चयन गर्न राजनीतिक दलका नेता–कार्यकर्ता दिनहँुजसो आन्तरिक छलफलमा जुटेको देखिन थालेको छ । राजनीतिक दल मात्र होइन, सर्वसाधारण पनि छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी छलफलमै व्यस्त देखिन थालेका छन् ।

कुन दलबाट को उठ्लान् र को जित्लान् भन्ने बहस विदुर नगरमा तीव्र बनेको छ । १२ वटा स्थानीय तह रहेको नुवाकोटमा अहिले सर्वाधिक चर्चा विदुर नगरपालिकामा देखिएको छ । विदरमा कुन पार्टीबाटको उम्मेदवार हुने र को जित्ने भन्नेबारे ठूलै बहस र छलफल हुन थालेको छ । २०४६ सालपछिको स्थानीय तहको २०४९ र २०५४ र सङ्घीय गणतन्त्र नेपालको संविधान, २०७२ बनेपछिको पहिलो निर्वाचनमा समेत नेकपा एमालेको पकडमा रहेको विदुर अबको निर्वाचनमा कसले जित्ला भन्ने चर्चा चल्न स्वाभाविक भएको बताउँछन्, स्वतन्त्र विश्लेषक एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार । जिल्लाको सदरमुकाम रहेको नगरपालिका यसपटकको निर्वाचनमा एमालेको पकडबाट छुटाउन विपक्षी दलहरूको कसरत हुनेसमेत उनले बताए ।

गत स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयरम एमालेका सञ्जु पण्डित नौ हजार ७१६ मत प्राप्त गर्दै विजयी हुँदा काङ्ग्रेसका ध्रुबप्रसाद अधिकारीले आठ हजार ७४२ मत प्राप्त गरेका थिए । काङ्गेसका उम्मेदवार अधिकारीलाई ९७४ मतले पछि पार्दै एमालेका उम्मेदवार पण्डित विजयी भएका थिए । विदुरमा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्याशी लीलानाथ न्यौपाने चार हजार ७३७ मत प्राप्त गर्दै तेस्रो भएका थिए । उपमेयरमा पनि एमालेमा उम्मेदवार गीताकुमारी दाहाल अर्यालले नौ हजार १२४ मत प्राप्त गरी विजयी हुँदा नेपाली काङ्गेसका उपमेयरका प्रत्याशी गीता अमात्यले नौ हजार १०२ मत प्राप्त गरी दोस्रो भएका थिए । २२ मतले मात्र काङ्गेसले उपमेयर पद गुमाएको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरका उम्मेदवार बनेका सभुद्रा नेपालले चार हजार ६९८ मत पाप्त गरी तेश्रो भएका थिए ।

गत २०७४ स्थानीय तहको निर्वाचनमा काङ्गेस, एमाले र माओवादी एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका थिए । यसपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन हुने चर्चा चलेको छ । गठबन्धन भएर निर्वाचनमा पाँच दल उत्रियो भने एमालेलाई विरासत जोगाउन गाह्रो पर्ने देखिन्छ । आसन्न विदुरको निर्वाचनको तयारीमा जुटेको सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसले १३ वटै वडाको सङ्गठन र टोल, कमिटी निर्माण गरेर शक्ति र जनमतको लेखाजोखा गरिरहेको छ । विगतमा काङ्ग्रेसले उम्मेदवार चयन गर्दा जनताको नजरमा भन्दा पनि नेताको नजरमा परेकालाई प्रस्ताव गर्दा जनमत काङ्ग्रेसको पक्षमा रहँदा–रहँदै पनि उम्मेदवारको कारणले हार व्यहोर्नपरेको नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राजु थापाले बताए । ‘हामीहरू अरू दलहरूमा आएको विभाजनलाई जितको आधार मान्दैनौँ,’ काङ्गेसका विदुर नगर सभापति हरिलाल श्रेष्ठले भने, ‘हामी हाम्रो सङ्गठनलाई बलियो बनाउँछौँ र काङ्ग्रेसलाई विदुरमा पहिलो पार्टी बनाउँछौँ ।’ सभापति श्रेष्ठले उम्मेदवार चयन प्रक्रियामा विगतमा गरिएको कमजोरीका कारण काङ्ग्रेसको अपेक्षित नतिजा नआएको भन्दै उम्मेदवार चयन प्रक्रियालाई पारदर्शी बनाउने बताए । ‘पार्टीको केन्द्रबाट राम्रोलाई भन्दा पनि हाम्रोलाई टिकट दिनु पर्छ भन्ने मानसिकता यसअघि रह्यो र हामो अपेक्षित नतिजा विगतको चुनावमा आउन सकेन,’ सभापति श्रेष्ठले भने, ‘तर, अब हामी उम्मेदवार चयन प्रक्रिया सरल र सहज बनाउँछौँ, विगतमा उम्मेदवार चयनमा हुने गरेको ढिलाइको कारण पनि काङ्गेसले घाटा व्यहार्नु परेको भन्दै सभापति श्रेष्ठले अब यो समस्या पनि नहने बताए । ‘विगतका कमजोरी सच्याएर चुनावमा अघि बढ्छौँ,’ सभापति श्रेष्ठले भने, ‘कसरी जाने भन्नेबारेमा हामीले चुनावी रणनीति समेत तयार पार्दै छौँ ।’

यसअघिको निर्वाचनमा विदुर नगरपालिकामा पहिलो दलको रूपमा कायम रहेको एमालेका नेताहरू पार्टी विभाजनको असर चुनावमा देखा नपर्ने दाबी गर्छन् । माधवकुमार नेपाल समूह भएर छुट्टै दल निर्माण गर्दा एमालेको शक्ति कम भएको देखिए पनि एमाले आन्तरिक रूपमा कमजोर नदेखेको एमाले जिल्ला कमिटी नुवाकोटको उपाध्यक्ष बुद्धिबहादुर प्रधानको दाबी छ । ‘बाहिरबाट हेर्दा मात्रै एमाले कमजोर देखिएको हो,’ उपाध्यक्ष प्रधानले भने, ‘तर, पार्टीको आन्तरिक शक्ति मजबदु छ ।’ उनले अहिले जिल्लामा नयाँ प्रवेशीको लहर चलेको भन्दै एमाले साङ्गठनिक रूपमा कमजोर नबनेको दाबी गरे । यसैगरी, एमालेले नगरमा चुनावकेन्द्रित वडा र टोलस्तरीय भेला र प्रशिक्षण गरिसक्यो भन्दै पार्टीका हरेक तहका नेता तथा कार्यकर्ता चुनावी माहोल निर्माणमा लागिसकेको एमाले विदुर नगर सङ्गठन कमिटीका अध्यक्ष नवीन प्रधानले बताए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा विदुरमा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र आफ्नो ‘एकल प्रयास’लाई जितको आधार देख्दैन । माओवादीले पाँचदलीय सत्तागठबन्धनलाई कायमै राख्न सके मात्र स्थानीय तहमा आफ्नो उपस्थिति बलियो हुने एक मात्र विकल्प देखेको छ । नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल एकीकृत समाजवादी पहिलोपटक स्थानीय निर्वाचनमा होमिँदै छ । नगरको १३ वटै वडामा सङ्गठन निर्माण गरेर उपस्थिति जनाउँदै गरेको समाजवादीले पनि सत्तागठबन्धनलाई कायम राख्न सके मात्र केही सिट जित्ने अवस्था रहेको छ । तर, सत्तागठबन्धनको निर्णायक दल काङ्गेसभित्र निर्वाचनमा गठबन्धन गर्न नहुने उठेको ठूलो तप्काको आवाजले गठबन्धनको निरन्तरतामाथि शङ्का उब्जाएको छ । काङ्ग्रेसलाई नगरमा चारवटा केन्द्री्रय सदस्यका उम्मेदवारका आकाङ्क्षीलाई व्यवस्थापन गर्न नसक्ने अवस्थामा गठबन्धनलाई समेटेर जान सक्ने अवस्था देखिँदैन । काङ्ग्रेस नेपालको जेठो पार्टी भएकाले उसको जनआधार तथा सङ्गठन परिचालन गर्ने हो भने विदुरमा काङ्ग्रेसको पकड रहने नेपाली काङ्ग्रेसका युवा नेता वासु सापकोटा बताउँछन् । ‘उम्मेदवार चयनमा हुने गरेको ढिलाईका कारण पनि काङ्गेसले घाटा व्यहोर्नु परेको विगतको गल्ती पार्टीले अब दोहो-याउँदैन’ सापकोटाले भने । जिल्लामा नेतृत्व नयाँ आइसकेकाले जनप्रिय जनताको नजरमा रहेकालाई उम्मेदवार बनाउने गृहकार्यमा पार्टी लागेकोसमेत उनले बताए ।

गत ०७४ को निर्वाचनमा विदुरको मेयरमा धु्रवप्रसाद अधिकारी र उपमेयरमा गीता अमात्य प्रत्याशी रहेका थिए । आसन्न निर्वाचनमा पनि ध्रुवप्रसाद अधिकारीले पुनः मेयरमा उम्मेदवार बन्ने इच्छा गरेकाले अरूले मौका नपाउने अवस्था रहेको उनले बताए । उनले उठ्छ भनेसम्म उनको विकल्पमा जिल्ला त के, प्रदेश र केन्द्रले समेत अर्को उम्मेदवार सोच्न नसकेको बताए । उनको त्याग, निरन्तरता र पार्टीप्रतिको क्रियाशीलताले गर्दा अरू आकाङ्क्षी छन्, तैपनि काङ्गेसमा उनको स्तरमा अरू आउन सक्ने अवस्था नरहेको काङ्ग्रेसका नेताहरू बताउँछन् ।

काङ्गेसबाट विदुर नगरपालिकाको मेयरको आकाङ्क्षीमा ध्रुवप्रसाद अधिकारीसँगै नुवाकोट उद्योग वाणिज्य सङ्घका दुई कार्यकालका सफल अध्यक्ष रहेका व्यवसायी ताराबहादुर कार्की, नुवाकोट निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष एवम् नेपाली काङ्गेसका पूर्वकोषाध्यक्ष तथा विदुर नगरपालिका– ८ का बहालवाला वडाध्यक्ष फैसिंग तामाङ, काँग्रेस विदुर नगरसमितिका सभापति एवम् व्यवसायी हरिलाल श्रेष्ठ, जिल्ला उपसभापति राजु थापा, काङ्ग्रेसका युवाबीच लोकप्रिय मछिन्द्रनरसिंह प्याकुरेल, काङ्ग्रेसका निवर्तमान जिल्ला सचिव एवम् अधिवक्ता सुरेन्द्रराज अधिकारी, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्का, नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठ, काँग्रेसको पूर्वमहासमिति सदस्य एवम् गत २०७४ को विदुर नगरपालिकाको मेयरका प्रस्तावित भरत खड्का, जिल्ला सचिव एवम् नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ देखिएका छन् ।

काङ्गेसबाट विदुर नगरपालिकाको उपमेयरमा गत २०७४ को निर्वाचनमा प्रत्याशी रहेर २२ मतले पराजित गीता अमात्य, महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे उप्रेती, रुक्मिणी सेढाईं, अञ्जना अर्याल, गीता थापा, ज्ञानु गिरी, सरस्वती आचार्य आकाङ्क्षी देखिएका छन् ।

काङ्ग्रेसको जिल्ला पार्टीले गत हप्ता निर्णय गरेर पालिकामा उम्मेदवार आफूखुसी घोषणा नगर्न उर्दी जारी गरेको छ । काङ्ग्रेसको गत सम्पन्न १४ औँ जिल्ला अधिवेशनमा विभाजित कार्यकर्ता र नेता समेट्न नसकेको कारण यसपटक पनि विदुर नगरपालिकामा एमालेको लाल किल्ला तोड्न हम्मे–हम्मे पर्ने अवस्था रहेको छ । केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, डा. रामशरण महतले आफूनिकटका मेयरका आकाङ्क्षीलाई बोकेर हिँडिरहेका छन् । उनीहरूको चाहना आफूनिकट र आफ्नो गुटकालाई जसरी पनि मेयर बनाउने रणनीति रहेको छ । स्थानीय निर्वाचन आफूनिकटकालाई विजयी गराएर ल्याउने र आगामी सङ्घको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्न चाहेका कारण टिकट भागबन्डामा वितरण हने अवस्था रहेको छ । डा. रामशरण महतलाई र अर्जुननरसिंह केसीलाई यसपटक समानुपातिकमा पठाएर डा. प्रकाशशरण महत र बहादुरसिंह लामा तामाङ प्रत्यक्षमा उम्मेदवार बन्ने इच्छा पूरा गराउन पनि संस्थापन पक्ष अर्थात् देउवानिकटका अधिकांश जित्न सक्नेलाई टिकट दिने रणनीतिमा काङ्ग्रेसको एउटा पक्ष जिल्लामा सक्रिय भएर लागेको छ ।

नेकपा एमाले विदुर नगरपालिकामा आफ्नो विगतदेखि वर्चश्व यसपटक पनि कायम गर्न उम्मेदवार छनोटमा लागेको छ । जनताको नजरमा रहेका र कुनै पनि हालतमा जित्न सक्ने युवा उम्मेदवारको खोजीमा एमाले रहेको जिल्ला कमिटीका सचिवालय सदस्य दीपक चित्रकारल बताए । २०७४ को विदुर नगरपालिकाको मेयर पदका आकाङ्क्षी एक दर्जनलाई पछि पार्दै सञ्जु पण्डितले मेयरको टिकट पाएका थिए । पण्डितले मेयरमा नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति धु्रवप्रसाद अधिकारीलाई ९७४ मतले पछाडि पारेर विजयी भएपछि उनको चर्चा जिल्लामा खुब भयो । आसन्न निर्वाचनमा पनि नगरकै बहालवाला मेयर, उपमेयर, वडाध्यक्षमध्येबाट उम्मेदवार बनाउने गरी विदुर नगर सङ्गठन कमिटी छलफलमा व्यस्त देखिन्छ । एमालेले जित्ने हो भने अहिले काम गरिरहेका जनप्रतिनिधि मध्येबाट मेयर–उपमेयर चयन गर्दा नगरवासीमा राम्रो सन्देश जाने जिल्ला कमिटी सचिवालयका एक सदस्यले बताए । एमालेले विदुरमा विगतको वर्चश्व कायम गर्न मत सर्वेक्षण सुरु गरेर भावी मेयरबारे नेता–कार्यकर्ता र मतदातासमेतबाट सुझाव लिइरहेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि सङ्गठनलाई पुनर्गठन गरेर विदुर नगरपालिकामा उम्मेदवार बनाउनेको सूची तयार पार्दै छन् । विदुर नगरपालिकामा गठबन्धन भएमा माओवादीलाई उपमेयर र एक वडा तथा समाजवादीलाई एक वडा दिएर काङ्गेसले गठबन्धन गर्न सक्ने काङ्ग्रेसका एक जिल्ला नेताले बताएको त्रिशुली प्रबाहले दावी गरेको छ । त्यो अवस्था नआए काङ्गेस एक्लै लड्नेसमेत उनले दाबी गरेका छन् । माओवादी केन्द्रबाट मेयर–उपमेयरका सम्भावित उम्मेदवार लीलानाथ न्यौपाने, कल्पना रिमाल, प्रभा बोगटी, बद्री प्याकुरेल, राजाराम अधिकारी, रामकृष्ण बानियाँ, रामचन्द्र पौडेल छन् ।

त्यसैगरी, समाजवादीबाट विदुर नगरपालिकाको सम्भावित उम्मेदवारमा सूर्यबहादुर कँडेल, रामकृष्ण राजभण्डारी, उद्धव पनेरू, रामहरि गजुरेल, यमकुमार खाती क्षेत्री, बिना खाती, जमुना गजुरेल देखिएका छन् ।

राप्रपाबाट पनि सम्भावित उम्मेदवारमा कुलबहादर खड्गी, प्रकाश जोशी रहेका छन् । विदुरमा एमाले र काङ्ग्रेसको कडा प्रतिस्पर्धा हुने भएकाले अन्य दलहरूले खासै विजयी हुने अपेक्षा गरेका छैनन् । काङ्गे्रस र एमालेलाई मेयर–उपमेयरम एकभन्दा बढी नाम आएकाले भने उम्मेदवारको नाम छान्न सकस हुने देखिएको छ । जिल्लाका एक नेताले भने, ‘सहमतिमा नाम चयन गर्ने प्रयास गरिन्छ । सम्भव नभए आएको नामलाई अध्ययन गरी योग्यता र क्षमताको आधारमा प्रदेश र केन्द्रमा सिफारिस गरिनेछ ।’

१९ फाल्गुन २०७८, बिहीबार १६:१७



तपाईको प्रतिक्रिया