धादिङका सबै क्रसर बन्द

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र बालुवा खानी सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ । गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया पूरा गरे नगरेको छानबिन गर्न निर्देशन दिएसँगै धादिङमा सञ्चालनमा रहेका १७१ वटा क्रसर, बालुवा धुने फिरफिरेलगायतका खानी आइतबारबाट बन्द गराइएको हो ।

२०७४ सालबाट स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि धादिङमा मापदण्डविपरीत अवैध उत्खनन निकै बढेर गएको थियो । गृह मन्त्रालयले प्राकृतिक स्रोतको उत्खनन र अवैध रूपमा निकासी पैठारी भएको भन्दै तत्काल बन्द गर्न निर्देशन गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले ढुङ्गा, गिट्टी र बालुवाका सबै उद्योग र खानीहरू बन्द गर्न निर्देशन दिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

जिल्लामा सञ्चालन हुँदै आएका यस्ता उद्योग र खानीले मापदण्ड पूरा गरे नगरेको साथै दर्तासमेत भए नभएको छानबिन गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । केही समयदेखि क्रसर उद्योग दर्ता नगरी बालुवा प्रशोधनका नाममा दर्ता भएका उद्योगले ढुङ्गा, गिट्टीका सबै काम गर्न थालेपछि झनै समस्या उत्पन्न भएको थियो ।

प्राकृतिक स्रोतको निकासी पैठारीमा समेत कर छली गर्ने गरेको र जथाभाबी उत्खनन गर्दा वातावरणमा प्रतिकूल प्रभाव पर्न थालेपछि गृह मन्त्रालयले यस्तो अभियान सुरु गरेको जनाइएको छ । क्रसर र खानीजन्य उद्योग सञ्चालन गर्न भूगर्भ विभागबाट स्वीकृति लिई स्थानीय तहबाट दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्छ । उद्योग सञ्चालन गर्दा कम्तीमा २० रोपनी जग्गा हुनुपर्ने कानुनी व्यवस्था छ तर ती कुनै पनि कानुनी व्यवस्था पूरा नगरी जिल्लामा अवैध रूपमा क्रसरहरू सञ्चालन हुँदै आएका छन् ।

अर्कोतर्फ क्रसर उद्योग सञ्चालन मापदण्डअनुसार खोलाको किनार, पुलपुलेसा, सार्वजनिक महत्वका स्थान, हाइटेन्सन लाइनलगायत राजमार्गबाट पाँच सय मिटरवरपर यस्ता उद्योग स्थापना गर्न पाइनेछैन । त्यसैगरी शिक्षण संस्था, सुरक्षा निकायलगायतका क्षेत्रबाट दुई किलोमिटरबाहिर मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । मुलुक सङ्घीय संरचनामा गएसँगै प्राकृतिक स्रोतको उत्खनन र व्यवस्थापनको जिम्मा प्रदेश र स्थानीय तहलाई नै दिएपछि झनै समस्या उत्पन्न भएको स्थानीयवासीको गुनासो छ ।

२७ पुष २०७९, बुधबार ०८:१७



तपाईको प्रतिक्रिया