उपभोक्ताको काम गैससलाई देउ

मिनकुमार केसी

विदुर । नुवाकोटमा क्रियाशिल सामाजिक संस्थाहरुले आफुले गरेको राम्रा र प्रभावकारी सिकाईको आदानप्रदान गरेका छन् । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा विदुरमा आयोजना गरिएको कार्यक्रममा सहभागि गैर सरकारी संस्थाकर्मीहरुले आफ्नो तर्फबाट समुदायमा भएको योगदानको चर्चा गरे ।

गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले सामाजिक उत्तरदायित्व सहितको अभियानमा रहेको गैर सरकारी संस्थाहरुका कराण सरकारलाई लक्ष्य प्राप्ति र विकासमा सहयोग मिलेको बताए । त्यस्तै सामाजिक संस्थाहरुलाई अब स्थानीय सरकारले सहि रुपमा परिचालन गर्न सकेमा विकास निर्माण र मानव विकासमा ह्वात्तै प्रगती हुने बताए । स्थानीय सरकारले संघसंस्थालाई परिचालन गर्न छुट्टै योजना र बजेट तय गर्नु आवश्यक भइरहेको उनको तर्फ छ । उपभोक्ता समिति मार्फत् हुने काम प्रतिस्पर्धाको माध्यमबाट सामाजिक संस्थाबाट गर्नुपर्ने गैसस महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले बताए ।

२०७२ सालको भूकम्प पछि नुवाकोट जिल्लामा सामाजिक संघसंस्थाहरुको सक्रियता प्रशस्त रहेको भएपनि अहिले हराउँदै गएको कार्यक्रममा चर्चा गरिएको छ । त्यसको मुख्य कारणमा श्रोत साधन र बजेट रहेको जानकारहरुले बताए । अन्तराष्ट्रिय दातृ निकायको बजेटबाट मात्रै योजना र कार्यक्रम तयार गर्ने संघसंस्थाहरु अहिले हराएको बताइएको छ । आफ्नै श्रोत र नागरिकहरुको समेत सक्रियता र लगानीमा सञ्चालन भएका परियोजना र सामाजिक संस्थाहरु भने निरन्तर क्रियाशिल रहेको सामुदायिक विकास केन्द्र नेपाल सिडिसिका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताए ।

यसरी दातृ निकायकै कारण गतिविधिमा खुम्चिने सामाजिक संस्थाहरुलाई टिकाउन र निरन्तर अभियानमा राख्नका लागि सामाजिक सुरक्षा कर र सामाजिक दायित्व अन्र्तगतको कोषहरु परिचालन गर्न दिनुपर्ने तर्क गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले गरे । उनका अनुसार सामाजिक सेवामा खर्चिने भनेर बहुराष्ट्रिय कम्पनी तथा ठूला उद्योगहरुले आफ्नै कोषबाट रकम खर्चिरहेको प्रसङ्ग सुनाए ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटमा कार्यरत गैर सरकारी संस्थाहरुको खुलेरै प्रसङ्ग गरेका छन् । कोभिड–१९ का कारण विश्वमा देखापरेको अप्ठ्यारो अवस्थामा समेत नुवाकोटमा सामाजिक संस्थाहरुले राम्रो काम गरेको बताए । यो कार्यको ठिक समयमा ठिक रुपमा मुल्याङ्कन हुने उनको धारणा छ ।

१३ आश्विन २०७७, मंगलवार १२:१८



तपाईको प्रतिक्रिया