अख्तियारमा मेयर राजन श्रेष्ठ

समितिले सुरु गर्यो छानविन

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ नगरपालिकाको कार्यकक्षमा ।

विदुर । अबैध रुपमा खोलामा मेसिन लगाउन र प्राकृतिक श्रोत साधनका दोहन गर्न लिखित अनुमती दिएका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी परे लगत्तै जिल्लास्तरिय छानविन समिति गठन भएर उनको कामको छानविन सुरु भएको छ ।

विदुर नगरपालिका वडा नं. २ र ५ मा पर्ने बवर्डस्टोन क्रसर उद्योग प्रालिलाई ३१ दिन खोलामा मेसिन लगाएर नदीजन्य सामाग्री संकलनको अनुमती दिएका श्रेष्ठको विरुद्धमा आयोगमा उजुरी परेको थियो । आयोगले उक्त कार्यको छानविन गरी तत्कालै प्रतिवेदन तयार गरी पठाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पत्राचार गरेको छ । मंसीर ११ गते अख्तियारको पत्र जिल्ला प्रशासनमा कार्यक्रमा आएको हो । जिल्ला प्रशासन कार्यालयले एक छानविन समिति गठन गरी तादी खोलामा भईरहेको कार्यको बस्तुगत स्थिति अध्ययन गरी प्रतिवेदन तयार गर्न एक समिति गठन गरेको छ । समितिले आफ्नो काम सुरु गरिसकेको छ । जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको समितिमा सरकारी कार्यालयका अधिकारीहरू सदस्य छन् ।

विदुर नगरपालिकाले ‘जर्वजस्ती’ नदीमा मेसिन प्रयोग गरी काम गर्न दिएको विषयमा जिल्ला स्थित विभिन्न सरोकारवाला संयन्त्रमा छलफल भएको थियो । तर मेयर श्रेष्ठले आफ्नो क्षेत्राधिकार भित्रको काममा हस्तक्षेप गरे नराम्रो हुने भन्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायतलाई हप्काएका थिए ।

‘चुनावपछि यस विषयमा थप छलफल गर्ने र अहिले काम बन्द गराउने’ भन्दै कात्तिक २४ गते साँझ गरिएको मौखिक सहमतीको भोलिपल्टै नगरपालिकाले वर्ड स्टोन क्रसरलाई खोलाको कहाँ कहाँ खन्न मिल्ने भन्दै चिनो लगाएर दिएपछि सरकारी अधिकारी समेत कानूनी आधारमा नगरपालिकाको ‘अराजकता रोक्ने’ मनस्थितिमा थिए । नुवाकोट प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले समेत अख्तियारले नगरपालिकाको उक्त निर्णय प्रति चासो राखेर पत्र पठाएको पुष्टि गरेका छन् । केही दिन अघि अख्तियारले पत्र पठाएको र आवश्यक कारबाही सुरु भएको प्रजिअ रिसालले बताए । छानविनका लागि गठन भएको समितिले विदुर नगरपालिकाले कुन आधारमा नदी खन्न दिएको र मापदण्ड भित्र रहे/नरहेको सबै लेखाजोखा गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्ने छ । त्यही प्रतिवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालयमा जिल्ला प्रशासन कार्यालयले विवरण सहितको प्रतिवेदन बुझाउने छ ।

अनुसन्धानकै क्रममा वर्ड स्टोन त्रलसरि उद्योगको आधिकारी कागजपत्र समेत जिल्ला प्रशासन कार्यालयमा झिकाइएको छ । विदुर नगरपालिकासंग भएको सम्झौता, विदुर नगरपालिकालाई राजश्व बुझाएको प्रमाण, कम्पनी दर्ता तथा नविकरण लगायतका सबै कागजात जिल्ला प्रशासन कार्यालयले तीन दिन भित्र पेश गर्नु भन्दै क्रसर उद्योगलाई पत्राचार गरेको थियो ।

एक महिना अघि विदुरका मेयरले खुल्ला गरेको वर्ड स्टोन क्रसर उद्योगको विषयमा दुई वर्ष अघि जिल्ला प्रशासन कार्यालयले क्रसर उद्यागे नै बन्द गर्ने गरी गरेको निर्णयको प्रतिलिपि ।

नौं करोड लुकाउने तयारी

विदुर । विदुर नगरपालिकाले एक अबैध क्रसर उद्योगसंग जरिवाना स्वरुप उठाउनु पर्ने नौं करोड ६० लाख रुपैयाँ लुकाउने तयारी सुरु भएको छ । विदुर नगरपालिका वडा नं. ३ मैरीटारमा अबैध रुपमा सञ्चालन भएको क्रसर उद्योगसंग विदुर नगरपालिकाले जरिवाना गर्नुपर्ने रकम कसरी मिलाउने भनेर मेयर राजन श्रेष्ठनै लागिपरेका छन् ।

नगरपालिकाले एक वर्ष अघि दिएको अनुमतीको आधारमा बालुवा उत्खनन् गरिरहेको उक्त कम्पनीले अनुमती भन्दा बुढी जमिनमा बालुवा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीको आधारमा विदुर नगरपालिकाले नापजाँच गर्दा करोड रुपैयाँ बरावरको बालुवा बढी निकासी गरेको प्रतिवेदन तयार भयो । ४० रोपनी जमिन खोतलिएको र विदुर नगरपालिकालाई करोडौ रुपैयाँ राजश्व छली गरेको प्रतिवेदन सहित मेयर श्रेष्ठ केही दिन ‘एक्सन’मा उत्रिएका थिए ।

राती राती समेत नगरपालिकाले तयार पारेको प्रतिवेदन भन्दै कागजको मुठो बोकेर बालुवा खानीमै पुग्ने गरेका मेयर श्रेष्ठ अहिले यस विषयमा मौन छन् । मैरीटारमा अनुमती भन्दा बढी ६० हजार ट्रिपर बालुवा निकालिएको अनुमान छ । यस विषयमा डेढ महिना अघि मात्रै विदुर नगरपालिकालका मेयर श्रेष्ठले बढी उत्खनन् भएको र नगरपालिकाको एक रुपैयाँ राजश्व मर्न नदिने प्रतिक्रिया दिएका थिए ।

यस प्रतिनिधिले विदुर नगरपालिकाले ९ लाख ६० लाख रुपैयाँको जरिवा ‘क्लेम गरेको’ हल्ला बाहिर आएको विषयमा तपाईको आधिकारिक धारणा के हो भन्दा मेयर श्रेष्ठले झण्डै ११ करोड रुपैयाँ जरिवाना उक्त अबैध कामबाट उठाउने बताएका थिए  । ‘म नगरपालिको राजश्व मर्न दिन्न, त्यस वापत के भोग्नु पर्छ म तयार छु, मैरीटारबाट ११ करोड भन्दा बढी राजश्व नगरपालिकाले उठाउछ’ श्रेष्ठले त्यस बेला भनेका थिए ।

तर अहिले त्यो जरिवाना नगरपालिकाले नलिने गरी आन्तरिक गृह कार्य थालिएको छ । ग्राण्डी हस्पिटलका अध्यक्ष दिपक कुँवर सञ्चालक रहेको उक्त कम्पनीलाई अहिले निष्क्रिय पार्ने र कम्पनी सम्पर्कमा नआएको बहाना तयार गरे राजश्व गुमाउने तयारी नगरपालिकाले गरेको हो । त्यस वापतमा उनै कुँवर ‘हिडन पार्टनर’ रहेको अर्को कम्पनीलाई मैरीटारको बालुवा र खन्न बाँकी क्षेत्र नयाँ सहमती गरेर नगरपालिकाले जिम्मा लगाउने तयारी गरेको छ । यस विषयमा कुँवर र मेयर श्रेष्ठ बीच काठमाडौंमा ‘मिटिङ’ भएको बताइएको छ ।

विदुर नगरपालिका वडा नं. ३ का अध्यक्ष बद्रीप्रसाद रिमालसमेत ‘हिडन पार्टनर’ रहेको कुँवरको पुरानो कम्पनीलाई जरिवानाबाट जोगाउने र अर्को कम्पनीलाई काम दिए वापत मेयरले राम्रै रकम समाउने भएका छन् ।

वडा अध्यक्ष रिमालले सुरुमा साढे दुई करोड रुपैयाँ मात्रै जरिवाना गर्ने गरी कानूनी काम अघि सार्न मेयरलाई आग्रह गरेका थिए । मेयरले प्राकृतिक श्रोतको दुरुपयोग सहनै नसक्ने र ‘छाती पोलेर आउने’ भन्दै अडान लिएपछि अन्तिम समयमा वडाअध्यक्ष आफै उक्त कम्पनीलाई एक चिम्टी बालुवा छोड्न हुने भन्दै अडान लिन थालेका थिए । जुन समयमा मेयर श्रेष्ठ भने उक्त कम्पनीप्रति नरम बनिसकेका थिए । मेयर ‘दिपक दाईको काम हो’ भन्दै टाउँको कन्याउन थालेको फाइदा लिदै वडा अध्यक्ष रिमालले आफ्नै वडामा अहिले दुई वटा अबैध बालुवा प्रशोधन केन्द्र सञ्चालन गर्न थालेका छन् ।

मेयरलाई खुत्रुक्कै पारे अर्जुननरसिंहले

दाँयाँबाट क्रमशः मेयर श्रेष्ठ, सांसद केसी र ढुङ्गाना नगरपालिकाको कार्यक्रममा

विदुर । मंसीर १४ गते विदुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरूको स्वागतमा कार्यालयमा एक औपचारिक कार्यक्रम राख्यो । नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, क्षेत्र नं. २ को प्रदेश १ का प्रदेश सांसद माओवादी केन्द्रका वागमती उपाध्यक्ष रामप्रसाद ढुङ्गाना र माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार बिमला सुवेदी थिए । विदुर नगरपालिकाको स्वागत ग्रहणपछि मन्तब्य राख्ने क्रममा केसीले इंकित नै गरेर बोलेनन् । तर प्राकृतिक श्रोत साधनको चरम दुरुपयोग नियन्त्रणमा लागिपर्ने अभिव्यक्ति दिएपछि मेयर राजन श्रेष्ठ खुत्रुक्कै भए ।

दुई वर्ष अघिनै अबैध प्रमाणित भएर बन्द भएको क्रसर उद्योगलाई सञ्चालन र तादी खोलामा मेसिन हालेर प्राकृतिक श्रोतको दोहन गर्न लिखित अनुमती दिएर विवादमा परिरहेका मेयर श्रेष्ठलाई आफ्नै कार्यक्रम अमिलो बन्यो । काँग्रेस भित्र पनि बहादुरसिंह लामा तामाङको फेरो समातेर राजनीति गर्न लागेका मेयर श्रेष्ठले केसीसंग पनि ‘रिलेसन मेन्टेण्ड’ गर्ने रणनीतिका रुपमा उक्त कार्यक्रमलाई प्रस्तुत गरेका थिए ।

तर ‘इलाका तेरा, धमाका मेरा’ भने झै उनकै कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद केसीले खुत्रुक्कै पारे । विदुर वडा नं. २ र ५ को वर्ड स्टोन क्रसरलाई खोला उधिन्ने अनुमती दिएका र नगरपालिकाको कार्यालयलाई राजश्वको रुपमा मैरीटारको अबैध कामबाट जम्मा हुने करोडौ रुपैयाँ समेत लुकाउने प्रपन्चमा रहेका मेयरलाई आफ्नै प्रमुख अतिथि केसीको खरो अभिव्यक्तिले निलोकालो बनायो । ‘त्रिशुली र तादी नदीमा जुन किसिमको दोहन भइरहेको छ त्यो तत्कालै रोक्छु’ केसीले भने । मेयरको नाम नलिएपनि उनले प्राकृतिक श्रोत साधनको दुरुपयोग र दोहन गरेर कमाउछु भन्ने सपना देख्नेलाई तह लगाउने चेतावनी केसीले दिए ।

अर्जुननरसिंह केसीले अलपत्र अवस्थामा रहेको पासाङल्हामु राजमार्गको पिपलटार–रानीपौवा–बालाजु सडक आफूले निर्माण गरेरै छाड्ने दाबी समेत गरेका छन् । यसअघिको नेतृत्वले नहेरेको र आफूले त्यसको दुरावस्थालाई हेरेर नबस्ने उनको भनाई छ । केसीले देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा उभिने पनि बताए । ‘देशमा व्याप्त भ्रष्टाचार विरुद्धमा लाग्दा र उभिँदा कहाँ पुग्ने, के नपाउने भन्ने छैन,’ उनले भने, ‘देश झण्डै ८ खर्ब ऋणबाट साढे १७ खर्ब ऋणमा परिणत भएको छ’ नेता केसीले भने ।

१९ मंसिर २०७९, सोमबार ०५:३३



तपाईको प्रतिक्रिया