नौं महिना पछि मुद्दा दर्ता

वडा कार्यालयबाट पैसा चोरर भाग्दै गर्दाको सिसिटिभी फुटेज । जसको अहिलेसम्म पत्तो लागेको छैन ।

विदुर । पञ्चकन्या गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणमा अख्तियारले तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पञ्चकन्या गाउँपालिका–२ को कार्यालयबाट भएको ५३ लाख रुपैयाँ चोरीमा सोही वडाका सचिव र अन्य दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

२०७७ चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम वडा कार्यालयबाट हराएको थियो । वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र रकमलाई वडा सचिव राउत, कार्यालय सहायक गिरी र कार्यालय सहयोगी मिश्रको रोहवरमा कार्यालयकै दराजमा राखिएको अख्तियारले जनाएको छ ।

दराजको सेफको साँचो सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकामा लगाएको ताल्चाको साँचो निलप्रसाद मिश्रले बोकेको साथै घटनापछि ताल्चा लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको आयोगको भनाई छ ।

उनीहरूले वडा कार्यालयमा रकम राखी घर गएको तर, भोलिपल्ट रकम कार्यालयको दराजबाट गायब भएको हुँदा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानी नोक्सानी गरेको ठहरसहित आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनै जनाबाट असुल उपर गराउन तथा कानुन अनुसार थप सजाय माग गरिएको छ ।

१७ माघ २०७८, सोमबार ०६:१७



तपाईको प्रतिक्रिया