गोसाइँकुण्डको एकीकृत विकास

विदुर । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गोसाइँकुण्डको एकीकृत विकासका लागि ७ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

७ करोड बजेट विनियोजन गरेको हो । मन्त्रालयले पहिलो चरणमा योजना अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, मा पर्ने ‘गोसाइँकुण्ड’ मा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । जिल्लामा धार्मिक पर्यटनको विकास गर्ने, आर्थिक अवस्थामा सुधार ल्याउने, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि योजना सञ्चालन गर्न लागिएको हो ।

योजना अन्तर्गत गोसाइँकुण्ड क्षेत्रमा गुम्बा घरको सिभिल निर्माण कार्य, विद्युतीय कार्य, मन्दिर निर्माण, शौचालय निर्माण, रेलिङ निर्माण, ढुंगाको गारो बनाई तारबार लगाउने, ढल निकास स्थल निर्माण, ६ वटा ट्रष्ट निर्माण, चोलाङपाटीदेखि लौरीविना सम्म भ-याङ, त्रिशुलधारामा भ-याङ निर्माण र हेलप्याड निर्माण हुनेछ ।

यसका लागि २२ करोड ४२ लाख ७१ हजार ३५१ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसैगरी योजना अन्तर्गत खानेपानी वितरणका लागि १ करोड ४० लाख १८ हजार ४७९ रुपैयाँ खर्च लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले योजना सञ्चालनका लागि ३३ करोड ८ लाख १ हजार ७६२ रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

खानेपानी वितरणको लागि २० वर्षको समयावधि प्रक्षेपण गरेर डिपिआर निर्माण गरिएको छ । डिपिआर अनुसार यस क्षेत्रमा हाल २५ घरधुरीमा १५० जनसंख्या छ । एकीकृत विकास योजनामा गोसाइँकुण्ड वरिपरि हुने भौतिक निर्माण र धुन्चे–गोसाइँकुण्ड पदमार्गलाई मात्र समावेश गरिएको छ । यसले गोसाइँकुण्ड जाने अन्य तीनवटा पदमार्गलाई छुन सकेको छैन ।

केही वर्ष पहिलेसम्म गोसाइँकुण्डमा मेलाको समयमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा समेत तीर्थयात्री तथा पर्यटक आउने गरेका छन् ।

१ माघ २०७७, बिहीबार १२:२१



तपाईको प्रतिक्रिया