विदुर । भुकम्पले थलिएको नुवाकोटका १३ वटा सरकारी कार्यालयको पुनःनिर्माण सकिएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई नुवाकोटमा अख्तियारी प्राप्त भएको १४ वटा सरकारी कार्यालयको पुनःनिर्माण सकिएको हो ।
आयोजना कार्यान्वयन ईकाई नुवाकोट मार्फत, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत कृषि, पशु, शहरी बिकास तथा भवन निर्माण शाखा, शिक्षा कार्यालय लगायत १३ वटा भवनको पुनःनिर्माण सम्पन्न भएको छ । भुकम्पका कारण थलिएको नुवाकोटको सरकारी कार्यालयहरूको पुनःनिर्माण सम्पन्न भएसँगै सेवा प्रबाहमा सहजता भएको छ ।
सबै कार्यालयको सुबिधा सम्पन्न र भवन संहिता अनुसार निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत नुवाकोटका १३ वटा सरकारी भवन निर्माणको लागी मात्रै बजेट आएको थियो ।
यस्तै नुवाकोटको २ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण सम्पन्न भएको छ । राउतबेशी स्वास्थ्य चौकी र दुईपिपल स्वास्थ्य चौकीको मात्रै पुनःनिर्माण सकिएको आयोजना प्रमुख लिला खतिवडाले जानकारी दिएका छन् ।
यस आर्थिक बर्ष ७७/७८ मा ३७ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनका अनुसार ९ वटा स्वास्थ्य संस्थाको बोलपत्र मुल्याङ्कनको चरणमा पुगेको छ । १० वटा स्वास्थ्य संस्थाको बोलपत्र आबह्वान भैसकेको छ । केहि समयभित्र बोलपत्रको मुल्याङ्कन गरि ठेक्का सम्झौता गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
यसै आर्थिक बर्षमा नै बोलपत्र आबह्वान गरि ठेक्का सम्झौता गर्नको लागी १८ वटा स्वास्थ्य संस्थाको लागत अनुमान गरी स्विकृतीको लागी पठाएको आयोजनाले जनाएको छ ।
नुवाकोटमा निर्माण हुने सबै स्वास्थ्य संस्थाहरू नेपाल सरकार र भारत सरकारको संयुक्त लगानीमा निर्माण हुने छन् । हाल बोलपत्र आबह्वान गरि मुल्याङ्कनको चारणमा रहेका ९ वटा स्वास्थ्य संस्था भने नेपाल सरकारकै लगानीमा निर्माण हुने छ ।
सबै स्वास्थ्य संस्थाहरूको पुनःनिर्माणका लागी लगानीको सुनिश्चितता भएपछि मात्रै जिल्ला आयोजना कार्यान्वयन इकाईले बोलपत्र आबह्वान गर्ने बताइएको छ । केहि स–साना स्वास्थ्य संस्थाहरू भने स्थानीय तहहरूले नै निर्माण गरिसकेका छन् ।
विदुर नगरपालिका भित्र रहेका शहरी स्वास्थ्य क्लिनिक, उपस्वास्थ्य चौकीहरूको पुनःनिर्माणको लागी नगरपालिका आफैले बजेटको व्यवस्थापन गरेर काम सुरु गरेको छ । अन्य स्थानीय तहहरूले पनि बजेट बिनियोजन गरि निर्माण गरिरहेका छन् ।



१३ पुष २०७७, सोमबार ०७:५६