नुवाकोटमा ८० हजार बिरुवाहरु रोपिदै

विदुर । यस वर्ष पनि नुवाकोट जिल्लाको बाँझो जग्गामा ८० हजार बिरुवाहरु रोपिदै छ । मनसुन भित्रिएसँगै वन डिभिजन कार्यालय नुवाकोटले निःशुल्क विरुवा वितरण गरिने कार्य सुरु गरेको छ ।

बिरुवाहरु डिभिजन वन कार्यालय नुवाकोटसहित यस कार्यालय मातहतमा रहेका सब डिभिजनहरु ककनी, शिवपुरी, खरानीटार, देउराली, रातमाटे र विदुरबाट उत्पादन भएको बिरुवाहरु निःशुल्क वितरण हुनेछ ।

डिभिजन वन कार्यालय नुवाकोटका रेन्जर तथा सूचना अधिकारी रमेश दुलालले जिल्लाका सामुदायिक र निजी खाली जग्गामा वृक्षारोपण गर्नको लागि विरुवा वितरणको कार्य सुरु गरिसकेको बताए । वनजन्य विरुवाहरुमा डालेघाँस, फलफुल र जडीबुटीका विरुवाहरु वितरण गरिरहेको उनले बताए ।

नर्सरीमा उत्पादन भएका चाँप, सिसौ, खयर, इपिल लिपिल, लप्सी, अमला, लगायतका विरुवाहरु अहिले डिभिजन बन कार्यालय नुवाकोटले बितरण गरिरहेको छ । अहिले फेरी बन कार्यालयले खरिद गरेर ओखर, कागती, आँप, लिची, एभकाडो, अनार, कटहर लगायतका फलफुलका बिरुवाहरु समेत उपलब्ध गराउन थालेको छ ।

डिभिजन बन कार्यालयले यस वर्ष सबैभन्दा बढी ४५ हजार टिम्मुर बृक्षारोपण गर्ने लक्ष्य राखेको छ । यसको लागि शिलबन्दी दरभाउ खरिद आव्हान पनि गरिसकेका छ । असार १० गते भित्र सप्लायर्सले टिम्मुरको विरुवा उपलब्ध गराउने र त्यसपछि विरुवा वितरणको लागि प्रक्रिया अघि बड्ने बताईएको छ ।

बिरुवा रोपणको लागि खाडल खन्नको लागि तीन किसिमको औजार पनि डिभिजन र सब डिभिजनमार्फत उपभोक्तालाई प्रक्रियागत उपलब्ध गराईने छ । बिरुवा माग फारम भरेका इच्छुक प्रति व्यक्ति ५० ओटा बिरुवा उपलब्ध गराईने छ । यस्तै, सामुदायिक उपभोक्ता वन समिति, कार्यालय, संघ÷संस्थाहरुको आवश्यक प्रमाण कागजातका आधारमा वितरण गरिने छ ।

बिरुवा र फलफुल वितरण प्रक्रियामा आवश्यक परे स्थलगत अध्ययन निरीक्षण समेत गरि विरुवा वितरण प्रक्रिया अगाडी बढाउने डिभिजन बन कार्यालय नुवाकोटका प्रमुख प्रेमप्रसाद सापकोटाले बताए ।

५ असार २०७८, शनिबार १८:०८



तपाईको प्रतिक्रिया