डेढ वर्षपछि ठेकेदार कम्पनी काममा

रसुवा । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतका दुई आयोजनामा चिनियाँ ठेकेदार कम्पनी डेढ वर्षपछि फर्किने भएको छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैतमा लकडाउन जारी भएयता माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रोमेकालिकलतर्फको काम गरिरहेको चिनियाँ कम्पनी डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल काममा फर्किन कठिन भएकोे छ ।

ठेकेदार कम्पनी लामो समयसम्म काममा नफर्किंदा आयोजनाको काम धकेलिँदै आएको थियो । काम छाडेर गएको २० महिनापछि ठेकेदार कम्पनी आयोजनामा फर्किएको सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार ढुंगेलले जानकारी दिए । ठेकेदारले यही साता नेपाल आएर काम सुरु गर्ने भनेको छ । काम थालेको ६ महिनाभित्रमा इलेक्ट्रोमेकानिकल तर्फका काम सकिने छ ।

लामो समयसम्म भन्सार नाकामा अड्किएका इलेक्ट्रोमेकानिकल तर्फका उपकरण आयोजना निर्माणस्थलमा ल्याइपु-याइएको छ । तोङफाङ इलेक्ट्रिक इन्टरनेसनलले आयोजनामा काम गर्न केही कामदार, विज्ञ तथा इन्जिनियर चीनबाटै ल्याएर काम गरिरहेको थियो ।

रसुवा जिल्लामा निर्माणाधीन अवस्थामा रहेका रसुवागढी, सान्जेन र माथिल्लो सान्जेनलगायत आयोजनाबाट उत्पादित विद्युत् चिलिमे–त्रिशूली थ्रीबी हब प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ । तर प्रसारण लाइन समयमै नबन्ने हो भने आगामी असारसम्म व्यावसायिक उत्पादन थाल्ने तयारीमा रहेका रसुवागढी र माथिल्लो सान्जेनबाट उत्पादित विद्युत् खेर जाने देखिएको छ । यी आयोजनामा विद्युत् उत्पादन भइसक्दासम्म पनि प्रसारण लाइन निर्माण नसकिने सम्भावना देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण आयोजनाको स्थलगत अनुगमन समेत गरेका छन् ।

 

सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ मा राखेको १११ मेगावाट उत्पादन क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी काम अघि बढाइरहेको छ । रसुवागढीमा ८३ प्रतिशत भौतिक प्रगति भइसकेको र आगामी असार मसान्तसम्ममा व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखिएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिएका छन् । प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको संयुक्त लगानीमा बनिरहेको यो आयोजनामा पनि महामारीका कारण काम रोकिएको थियो ।

१६ मंसिर २०७८, बिहीबार २१:३६



तपाईको प्रतिक्रिया