समय आधा सकिँदासम्म सडक निर्माण सुरु भएन

रसुवा । निर्माण सम्पन्न गर्ने समय आधा सकिँदासम्म पनि स्याफ्रुबेंसी–रसुवागढी सडक सुरु हुन सकेको छैन ।

चीन सरकारले निर्माण गर्ने सो सडक कोभिडका कारण निर्माण सुरु हुन नसकेको हो । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी योजनाको अन्तिम खण्डका रुपमा सो खण्ड रहेको छ। गल्छीबाट स्याफ्रुबेंसीसम्मको सडक नेपाल सरकारले र स्याफ्रुबेंसीबाट रसुवागढीसम्म चीन सरकारले निर्माण गर्ने सहमति भएको थियो । सन् २०१८ अगस्टमा ४० महिनामा सम्पन्न गर्ने चीन सरकारसँग सहमति भएको थियो । उनीहरुसँग सम्पर्क भइरहे पनि काम सुरु नगरेको योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए ।

चिनियाँ पक्षले कोभिडकै कारणले काम गर्न नसकेको बताएका छन् । सडक निर्माणका लागि सम्झौता हुँदा नै नेपाल सरकारले निर्माणस्थल खाली गराउने र चिनियाँ टोलीले निर्माण गर्ने सहमति भएको थियो । चीन सरकारको लगानीमा निर्माण हुने र निर्माण व्यवसायी पनि चिनियाँ नै हुने बताइएको छ ।

सरकारले निर्माणस्थल खाली गराउनु पहिले नै चिनियाँ टोली निर्माणका लागि आइपुगेको सूचना अधिकारी पाण्डेयले बताए । निर्माणस्थल खाली नभएकाले उनीहरु तत्काल फर्किएका थिए । त्यसपछि कोभिड सुरु भएकाले फेरि आएका छैनन् ।

दुई वर्षयता सरकारले स्याफ्रुबेंसी–रसुवागढी सडकमा निर्माणस्थल खाली गराइरहेको छ । अधिकांश स्थानमा खाली भइरहेको उनले बताएका छन् । टिमुरे र त्यस आसपासका क्षेत्रमा मात्रै मुआब्जा विवादका कारण जग्गा प्राप्त गर्न बाँकी छ । त्यस स्थानको जग्गा विवाद टुङ्ग्याउन पटकपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको हो । झण्डै ४०० मिटर लम्बाइमा विवाद भएकामा टुङ्गो लाग्न सकेको छैन ।

त्यस क्षेत्रमा सडक निर्माण गर्ने स्थानमा रहेका विद्युत्का खम्बा, घर, टहरा हटाउने काम भइरहेको छ । सार्वजनिक जग्गा नै भएको ठाउँमा समस्या कम भएको उनको भनाई छ । सरकारले निर्माण गर्ने खण्डभन्दा चिनियाँले गर्ने खण्डमा जग्गाको विवाद कम रहेको छ ।

स्याफ्रुबेंसी–रसुवागढी सडक दुई लेनमा बिस्तार गर्न लागिएको हो । सात मिटर चौडाइमा एक मिटर नाली निर्माण गरिने योजनाले जनाएको छ । अहिले झण्डै पाँच मिटर चौडा रहेको छ । एक लेनको सडक भनिए पनि अहिले दोहोरो गाडि सजिलो आवतजावत गरिरहेका छन् ।

विसं २०७२ मा भारतले गरेको नाकाबन्दीको समाधानका रुपमा गल्छीबाट मैलुङ– स्याफ्रुबेंसी हुँदै रसुवागढीसम्मको सडक निर्माणलाई अघि बढाइने योजना बनाइएको थियो । विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना रहेको छ ।

योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्को छ । स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ । योजना अन्तर्गत ३२ पुल निर्माण गर्नुपर्नेमा आठ पुल निर्माण सम्पन्न भइसकेका छन् भने आठ निर्माणाधीन छन् ।

२३ मंसिर २०७८, बिहीबार ११:०४



तपाईको प्रतिक्रिया