महङ्गो भयो चिनियाँ सामान

विदुर । चिनियाँ सामान सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, कोरोनाका कारण नाकाहरूमा चीनले लगाएको अघोषित प्रतिबन्धले नेपालमा चिनियाँ सामानको मूल्य अत्यधिक वृद्धि भएको छ । व्यवसायीका अनुसार चीनबाट आउने रेडिमेड सामानको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ ।

आयात गर्नुपर्ने सामान समयमै नाकामा नआउनु, खरिद गरेको समय र सामान आइपुग्ने समयमा डलरको मूल्यका कारण बढी लागत लाग्नु, चीनमा नै सामानको मूल्य बढ्नु, ढुवानी भाडा महँगो पर्नु, भन्सारको सन्दर्भमूल्यमा वृद्धि हुनुलगायत कारण चिनियाँ सामग्रीको मूल्य अत्यधिक बढेको व्यवसायीहरू बताउँछन् । व्यापारी धर्म पौडेलका अनुसार चीनमा जुत्ता–चप्पलमा ६० प्रतिशत र रेडिमेड सामानमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सोही कारण साबिकको तुलनामा काठमाडौंमा सामान ढुवानी भइसक्दा ५० प्रतिशतभन्दा बढी मूल्य पर्ने उहाँको भनाइ छ । सोही कारण केही समय पहिला दुई हजारमा आउने ज्याकेटको मूल्य अहिले पाँच हजार पर्छ । आजकल चीनबाट नेपालमा कच्चा पदार्थ ल्याएर सिलाउने प्रचलन पनि बढेको छ । जसलाई व्यापारीहरू नेपाली सामान भन्छन् । यसले पनि मूल्य बढाउन भूमिका खेलेको उनको अनुमान छ ।

चीनबाट नेपाल आयात गर्न लागिएको सामग्री चार महिनादेखि केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । उनका अनुसार अहिले स्याउ, लसुन भने रोकिएको छैन, तर लत्ताकपडा, इलेक्ट्रोनिक सामान भने रोकिएको छ । मुसा ट्रान्सपोर्टको मात्रै चार सयभन्दा बढी चिनियाँ कन्टेनर चार महिनादेखि केरुङको गोदाममा थन्किएको उहाँको भनाई रहेको छ । कोरोनापछि चीनले कोटा प्रणालीमा सामान पठाइरहेको छ । केरुङबाट दैनिक चिनियाँ नौ कन्टेनर सामान नेपाल आइरहेको छ । केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउन ४६ वटा चिनियाँ कन्टेनर रहेका छन् ।

२९ मंसिर २०७८, बुधबार ११:२९



तपाईको प्रतिक्रिया