घटुवा विद्यालय शिक्षकको सरुवा

बेलकोट । बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरेपछि जगेडामा रहेका शिक्षकहरूको काज सरुवा गरेको छ ।

नगरपालिकाको केही समय आगाडि बसेको कार्यपालिका बैठकले नगरभित्रका १९ वटा विद्यालयलाई नजिकैको विद्यालयमा भागिएको थियो । १५ जना भन्दा कम विद्यार्थी भएको कक्षालाई नजिकै रहेको विद्यालयमा गाभिएपछि त्यस विद्यालयमा रहेका शिक्षकहरू जगेडाको रुपमा थिए । उनीहरूलाई बिहीबार बसेको शिक्षा समितिले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा काज सरुवा गरिएको नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिएका छन् ।

केही समयअघि नगरपालिकाले विद्यायहरूको अनुगमन गरेको र विद्यार्थी संख्याको वास्तविक तथ्याड्क संकलन गरेको थियो । सो आधारमा समायोजन गरिएको नगरपालिका शिक्षा शाखाका एक अधिकारीले बताए ।

विद्यालय गाभिएको विषयमा अभिभावक तथा सरोकारवाला निकायहरूको सुझावका आधारमा बैशाख महिनाभरिमा घटुवा भएका विद्यालयले प्रति कक्षामा १५ जना विद्यार्थी भर्ना गराउन सकेको खण्डमा यथावत राख्ने निर्णय गरिएको थियो । सो अनुसार कतिपय विद्यालयले भने विद्यार्थी संख्या पु-याउनका लागि निकै कसरत गरेपनि सम्भव नभएपछि नरपालिकाको निर्णय यथावत रहेको छ । यस्तै कतिपय विद्यालयले भने १० देखि १२ जना विद्यार्थी जम्मा गरेर पुरानै अवस्थामा कक्षा सञ्चालन गरेका छन् । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयलाई अर्को विद्यालयमा गाभेको भएपनि राजनीतिक रुपमा यसको विरोध भएको हुँदै आएको थियो । कतिपयले गाभिएका विद्यालयमा पुग्नका लागि विद्यार्थीहरूलाई टाढा हुने भन्दै गैर न्यायिक ढंगबाट गरिएको निर्णय फिर्ता हुनुपर्ने बताउँदै आएका थिए ।

तर नरपालिकाले विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक पालेर राख्नु आवश्यक नभएको भन्दै विद्यालय गाभ्ने निर्णय लिएको थियो । नरपालिकाभित्र विद्यार्थी भएका विद्यालयमा जगेडा शिक्षक पठाएर पठनपाठनलाई सहज बनाउने निर्णय स्वरुप शिक्षक सरुवा गरिएको नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले जानकारी दिएका छन् । पछिल्लो समय ग्रामिण सामुदायिक विद्यालयमा विद्यार्थीको खडेरी नै लागेको छ । गाउँमा युवाहरू नबस्ने र उनका बालबच्चाहरू समेत अध्ययनका लागि सहर जाने गरेका कारण ग्रामिण भेगमा विद्यार्थीको संख्या कम हुदै गएको देखिन्छ ।

९ असार २०८०, शनिबार १७:५६



तपाईको प्रतिक्रिया