दसैँलक्षित सुरक्षा योजना आज मध्यरातबाट

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना आज मध्यरातबाट कार्यान्वयनमा आउने भएको छ। सुरक्षा योजना दसैँ, तिहारसहित छठ पर्वसम्म कायम रहनेछ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सुरक्षा योजना कार्यान्वयनमा उपत्यकाभित्र सात हजार ६ सय ३३ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमध्ये एक हजार आठ सय ट्राफिक प्रहरी रहेका छन् भने बाँकी पाँच हजार आठ सय ३३ अन्य सुरक्षाकर्मी रहनेछन्। 

उक्त सुरक्षाकर्मी काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत सुरक्षामा खटिनेछन्।

रानीपोखरी कार्यालयका अनुसार यसपटकको चाडपर्वमा उपत्यकाभित्रको सुरक्षा निगरानी ड्रोनबाट गरिनेछ। सिसिटिभीबाट पनि पर्वभर उपत्यकाको सुरक्षा निगरानी गरिनेछ। 

बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोबार हुने स्थानहरूमा सादा पोशाकमा सञ्चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी सुरक्षामा खटाइनेछ। 

रानीपोखरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले यसपटकको चाड पर्वमा ड्रोनबाट सुरक्षा निगरानी गरिने बताए। 

उनले भने, ‘चाड पर्वलक्षित  सुरक्षा योजना आइतबार मध्यरातिबाट छठ पर्वसम्मका लागि लागू गरिएको छ । यसका लागि उपत्यकाभित्र सात हजार ६ सय ३३ सुुरक्षाकर्मी खटिनेछन्। यस पटक ड्रोनबाट सुरक्षा निगरानी गरिनेछ। त्यसबाहेक बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोबार हुने स्थानहरूमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन हुनेछन्। उनीहरू हतियारसहित परिचालन हुनेछन्।’

उपत्यकाभित्रका विशिष्ठ स्थान, सपिङ मल, मार्ट र मुख्य–मुख्य नाकामा आधुनिक प्रविधिसहितको केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरबाट चेकजाँच हुनेछ। त्यसबोहक प्रहरीको पैदल तथा मोवाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ फोर्समार्फत पनि पर्वभर सुरक्षा दिइनेछ। 

यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने छ। विशेष गरी ट्राफिक प्रहरीले सवारी साधनमा हुने टिकटको कालोबजारी रोक्न विशेष निगरानी गर्नेछ। 

एउटै टिकट धेरै यात्रुलाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाइ हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाइ लुट्न सक्ने भएको हुँदा यसको नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचान हुनेछन्।

त्यसबाहेक लामोदुरीका सवारीसाधनहरूमा दुईवटा चालक राखे÷नराखेको, मादक पदार्थ सेवन (मापसे), लागू पदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने गरेको, तीब्र गतिमा सवारीसाधन चलाउनेलगायतका गतिविधि पनि ट्राफिक प्रहरीले निगरानी गर्नेछन्।

२१ आश्विन २०८०, आईतवार २०:३८



तपाईको प्रतिक्रिया