गल्छी–रसुवागढी सडक निर्माणमा ढिलाई

विदुर । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीमा ढिलाई भएको छ ।

सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको साढे पाँच वर्षमा समग्र आयोजनाको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पहिलो खण्डअन्तर्गतको गल्छी–त्रिशूली–मैलुङ सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पहिलो खण्डमा स्तरोन्नति गर्ने काम २०७३ कात्तिक ७ गतेबाट सुरु भएको हो ।

गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर लामो सडकमध्ये २९ किलोमिटर सडक कालोपत्रे भएको छ । बाँकी सडक फराकिलो बनाउने, तारजाली, टेवापर्खाल तथा नाली निर्माणको काम भइरहेको छ । स्तरोन्नती सुरु भएको दुई वर्षमा सम्पन्न हुनुपर्ने पहिलो सडकखण्डमा अहिलेसम्म ७५ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजनाले जनाएको छ । यो सडकखण्डमा स्तरोन्नती गर्ने काम ढिला हुँदा ठेक्काको म्याद पटकपटक थप गरिएको छ ।

कोरोना महामारीका कारण काममा ढिलाइ भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना प्रमुख निरज शाक्यले बताए । ‘सर्वोच्च अदालतमा परेको मुद्दाका कारण पिपलटार देखि ढुंगे खण्डमा काम रोकिएको छ,’ उनले भने । पिपलटारदेखि ढुंगेसडक खण्डको काम नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै मुआब्जाको कारण पनि कतिपय स्थानमा काम हुन नसकेको आयोजनाको भनाइ छ ।

पहिलो खण्डमा निर्माण भइरहेको सडकको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँ छ । गल्छीदेखि स्याफ्रुसम्म १६ वटा पुल निर्माण गर्नुपर्छ । पुल निर्माणको जिम्मा कालिका–टुण्डी–हिदुङ एन्ड थोकर जेभी र सडक बनाउने जिम्मा एमएस–कन्भेट–टुंडी, रसुवा जेभीले पाएको छ । त्यस्तै आयोजनाको दोस्रो खण्डमा निर्माण कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुबेंसी सडकमा पाँच महिनादेखि स्तरोन्नतिको काम अलपत्र परेको छ ।

मैलुङदेखि स्याफ्रुबेंसीसम्म दोस्रो खण्डको लम्बाइ १९ किलोमिटर छ । यो नेपाली सेनाले ट्र्याक खोलेको सडक हो । यस खण्डमा सडक फराकिलो बनाउने, तारजाली, टेवापर्खाल तथा नाली निर्माणको समेत गरी २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकखण्ड स्तरोन्नतिको जिम्मा श्री भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले पाएको थियो । यस सडक खण्ड स्तरोन्नतिको लागत १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । २०७९ पुस ३० सम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी आयोजनाले निर्माण कम्पनीसँग २०७७ साउन १ गते सम्झौता गरेको थियो ।

निर्माण कम्पनीलाई सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएपछि निर्माण कम्पनीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको शाक्यले बताउनु भयो । हाल ठेक्का रद्द गर्न माथिल्लो निकायमा पत्राचार गरिएको छर । कम्पनीले अग्रिम पेस्कीबापत् बुझेको साढे १२ करोड असुल गरिएको शाक्यले बताएका छन् ।

आयोजनाको तेस्रो खण्ड स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतीको काम भने अझै सुरु हुन सकेको छैन । चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नति हुन लागेको हो । ०७६ असोज ११ गते गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा रिबन काटेर सडक स्तरोन्नतीको औपचारिक उद्घाटन गरिएको थियो । तर ३३ महिना बितिसक्दा पनि काम सुरु भएको छैन ।

सडक स्तरोन्नतीको जिम्मा चाइना तिब्बत टिनालु कम्पनी लिमिटेडले लिएको हो । निर्माण कम्पनीका कर्मचारी नआउँदा काम सुरु हुन नसकेको भनाइ छ ।

कोरोनाका कारण कम्पनीका कर्मचारी अहिलेसम्म नआउँदा स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नती गर्न ढिलाइ भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना प्रमुख शाक्यले बताए । सडक खण्डमा ८२ वटा घरटहरा र ३२३ वटा बिजुलीका पोल हटाउनुपर्ने देखिएको छ । सडक खण्डमा पर्ने बिजुलीका पोल सार्ने काम भइरहेकको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

२४ श्रावण २०७९, मंगलवार २२:०७



तपाईको प्रतिक्रिया