भारतको चारधाम र नेपाल सम्बन्ध (यात्रा स्मरण)

म अहिले श्री केदारनाथ मन्दिर परिषरमा छु । सडक छाडेर ४ घण्टा २० मिनेट (१६ किलोमिटर उकालो) पैदल हिडेर यहाँ आइपुगेको छु । केदारनाथ मन्दिर भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित एक प्रसिद्ध हिन्दू मन्दिर हो । यहाँको प्रतिकूल हावापानीका कारण यो मन्दिर अप्रिलदेखि नोभेम्बरसम्म मात्रै दर्शनका लागि खुल्छ ।

यो मन्दिर काटिएको ढुङ्गाको खैरो रङ्गको विशाल र बलियो ढुङ्गा जोडेर बनाइएको छ । ६ फिट अग्लो मञ्चमा उभिएको ८५ फिट अग्लो, १८७ फिट लामो र ८० फिट चौडा मन्दिरमा १२ फिट बाक्लो पर्खाल छ । अचम्म लाग्छ, यति ठूला ढुङ्गाहरू यति उचाइमा ल्याएर मन्दिरको आकार कसरी बन्यो होला ? विशेष गरी यो विशाल छाना स्तम्भहरूमा कसरी राखिएको थियो ? ढुङ्गालाई एक आपसमा जोड्न इन्टरलकिङ प्रविधि जस्तो प्रयोग भएको देखिन्छ ।

कत्युरी शैलीको ढुङ्गाले बनेको यस मन्दिरको बारेमा पाण्डवका नाति महाराज जनमेजयले निर्माण गरेको पनि भनिन्छ । यहाँ अवस्थित स्वयम्भू शिवलिंग अति प्राचीन छ । आदि शंकराचार्यले यस मन्दिरको जीर्णोद्धार गराएका थिए ।

यस मन्दिरको उमेरको बारेमा कुनै ऐतिहासिक प्रमाण छैन, तर केदारनाथ एक हजार वर्षदेखि महत्वपूर्ण तीर्थस्थल हो । राहुल सांकृत्यायनका अनुसार यो १२/१३ औं शताब्दीको हो । र यसो पनि भनिन्छ किः वर्तमान मन्दिर आदि शंकराचार्यद्वारा आठौं शताब्दीमा निर्माण गरिएको थियो, जुन द्वापर कालमा पाण्डवहरूले बनाएको पहिलेको मन्दिरको छेउमा छ । मन्दिरको ठूला खरानी पाइलाहरूमा पाली वा ब्राह्मी लिपिमा केहि कुँदिएको छ, जुन स्पष्ट रूपमा थाहा पाउन गाह्रो छ ।

हालको केदारेश्वर मन्दिरको पछाडि पाण्डवहरूले पहिलो पटक मन्दिर बनाएका थिए तर यो मन्दिर लोप भयो। पछि ८ औं शताब्दीमा आदि शंकराचार्यले नयाँ मन्दिर बनाए, जुन ४०० वर्षसम्म हिउँमा दबिएको थियो। त्यसपछि यो मन्दिर आदि शंकराचार्यद्वारा निर्माण गरिएको थियो । उनको समाधि यस मन्दिरको पछाडि छ । पाण्डवहरूका नाति राजा जनमेजयले उनीहरूलाई यस मन्दिरमा पूजा गर्ने अधिकार दिएका थिए र त्यसपछि तीर्थयात्रीलाई पूजा गर्न लगाउँदै आए ।

आदिगुरु शंकराचार्यको पालादेखि नै दक्षिण भारतका रावल र जंगम समुदायका पुजारीहरूले मन्दिरमा शिवलिंगको पूजा गर्ने गर्छन् भने तीर्थयात्रीहरूको तर्फबाट पूजा यी तीर्थ पुरोहित ब्राह्मणहरूले गर्छन् । केदारनाथको आकृति चाहिँ हाम्रो श्री दुप्चेश्वर महादेव (नुवाकोट) को जस्तो छ । दुप्चेश्वर भन्दा केही सानो देखिएपनि आकार ९० प्रतिशत मिल्दोजुल्दो छ ।

नेपालसितको सम्बन्ध :
केदारनाथ मन्दिरलाई अर्ध ज्योतिर्लिङ्ग पनि भनिदो रहेछ । हाम्रो पशुपतिनाथ मन्दिरलाई समेटेर मात्रै यसलाई पूरा भएको मानिन्छ । यहाँ अवस्थित स्वयम्भू शिवलिंग अति प्राचीन छ। यहाँको मन्दिर जनमेजयले बनाएका थिए र आदि शंकराचार्यले जीर्णेेद्धार गरेका थिए ।

४०० वर्षसम्म हिउँमा :
केदारनाथको मन्दिर ४०० वर्षसम्म हिउँमा कसरी दबिएको थियो र हिउँबाट बाहिर निस्केपछि पूर्णरुपमा सुरक्षित थियो । वाडिया इन्स्टिच्युट देहरादूनका हिमालयन भूवैज्ञानिक वैज्ञानिक विजय जोशीका अनुसार १३ औं शताब्दीदेखि १७ औं शताब्दी अर्थात् ४०० वर्षसम्म एउटा सानो हिमयुग थियो, जसमा हिमालयको ठूलो क्षेत्र बरफमुनी दबिएको थियो । त्यहाँ यो मन्दिर क्षेत्र पनि थियो । वैज्ञानिकहरूका अनुसार मन्दिरको पर्खाल र ढुंगामा आज पनि यसको निशान देख्न सकिन्छ ।

भविष्यमा भविष्याद्री नाम रहने :
पुराणको भविष्यवाणी अनुसार यस क्षेत्रका तीर्थयात्राहरू लोप हुनेछन् । नर र नारायण हिमाल मिल्ने दिन बद्रीनाथ जाने बाटो पूर्ण रुपमा बन्द हुने र भक्तजनले बद्रीनाथको दर्शन गर्न पाउने छैनन् । पुराणका अनुसार वर्तमान बद्रीनाथ धाम र केदारेश्वर धाम लोप हुने र वर्षौपछि भविष्यमा ‘भविष्याद्री’ नामको नयाँ तीर्थको जन्म हुनेछ ।

विनाशमा पनि जोगियो :
२०१३ को जुन १६ तारिखको रातमा प्रकृतिले विनाश गर्यो । बाढीले धेरै ठूला र बलियो भवनहरू भत्किएर पानीमा बगाए तर केदारनाथको मन्दिरलाई बिगारेन । अचम्म त तब भयो जब पछाडीको पहाडबाट पानीको बहावमा गुडिरहेको एउटा ठूलो ढुङ्गा अचानक मन्दिरको पछाडि रोकियो । त्यो चट्टान रोकिएपछि बाढीको पानी दुई भागमा विभाजित भयो र मन्दिर धेरै सुरक्षित भयो । यस प्रलयमा हजारौं (भारत सरकारसित करिव १० हजारको मात्रै तथ्याङ्क छ) मानिस मरे ।

केदारनाथमा बलराम दाईसंग भएको त्यो भेट

श्री केदारनाथ दर्शनका क्रममा बलराम बाजपेयी (बल्लु दाइ) सित भएको भेट यस्तो आत्मीय बन्यो छुट्टिने बेलामा हामीले धेरै बेरसम्म एक अर्काको हात सुम्सुम्याई रहेको थियौँ । बल्लु दाईले नोभेम्वरमा जन्मथलो नुवाकोट आउछु भनेका छन् ।

केदारनाथ मन्दिर परिषरमा पुजाका सामाग्रीको व्यापार गर्ने यिनी विदुर नगरपालिकाको आगापुटारमा जन्मिएका रहेछन् । कक्षा ५ सम्म उहीँ पढेका उनी तीन दाजुभाई र बिहिनि सहित करिव ४० वर्ष अघि (म जन्मेकै थिईन) यता आउदा १२÷१३ बर्षका रहेछन् । यिनिका दाजुभाई र बहिनिले आगापुटार र गेर्ख‘टारको स्कुलमा पढेका रहेछन् । उनका पिताजि विद्युत प्राधिकरणमा काम गर्ने क्रममा उता पुगेका रहेछन् । बल्लु दाईको मामाघर थप्रेक रहेछ । यताको गुप्तकाशीमा परिवारको बसोवास रहेछ । केदारनाथमा भएको घर २०१३ को प्रकोपले ध्वस्त भएको रहेछ । सरकारले निर्माण गरिदिने भएकोले उनले केदारनाथमा घर चाहिँ बनाएका रहेनछन् । २०१३ को प्रलयमा केदारनाथमै हज्जारौं मानिस मरे, सय भन्दा कम संख्यामा उसबेलामा यहाँका मानिसहरू जिवित रहेकोमा यिनी बल्लु दाइ र उनका दाजु ध्रुब पनि रहेछन् । ‘हामी दाजुभाइ थियौँ उस रात, हामीलाई सिन्कोले समेत कोतरेन । मेरो आमा र बाको कर्मको फल हो यो’ उनले सुनाए ।

हाम्रो भाषा सबै बुझ्ने बल्लु दाईले नेपाली भाषा बोल्न चाहिँ बिर्सिएछन् । खाना नख्वाई हामीलाई पठाउन मरिगए नमागेका यिनले नुवाकोटमा बितेको बचपन र उसबेलाका साथिभाईको खुप याद गरे । नुवाकोटको जानकारी, हालखबर सञ्चार माध्यमतिर रुचिसित खोजी गर्ने यिनको बानी रहेछ । परिचयको क्रममै मेरो नाम बताए पछि उनले भने कि ‘कपिलदेव खनाल त न्युजतिर आउने नाम जस्तो लाग्यो त, तपाईंको नाम धेरै वार पढेको छु ।’ नुवाकोटमा अधिकाङ्श व्यक्तिहरूको नाम नै लिएर सोधिखोजी गरे । नुवाकोटमा जन्मिएका दुई दाजुभाई केदारनाथमा छन् सोधिखोजी गर्नु होला है भनेर खबर गर्ने ढुङ्गेका रमेश बस्नेतसित बल्लुदाईको भिडिओ कुराकानी गराएँ । ‘मेयर चाहिँ मैले नचिनेको नामका रहेछन्, को हुन् ?’ उनले सोधे । हामीले चिनाउने थुप्रै कोणका परिचय दियौं, उनी चिनिपो हाल्छु कि, सम्झिपो हाल्छु कि भनेर घोत्लिरहे ।

‘बलरामले जन्मस्थनका पाँच जनालाई मन्दिर भ्रमण गराईरहेका छन्’ भन्ने हल्ला भुषको आगो झै भईसकेको रहेछ मन्दिर परिषरमा । हामी फर्कन थाल्दा मन्दिरका पुजारीदेखि होटलवाला, पुजाका सामाग्रीको व्यापार गर्नेहरू धेरैको हामी प्रति आदरभाव थियो । धेरैले हामीलाई सोधे :‘आपलोग बलरामका रिस्तेदार हे ?’

००००००

उत्तराखण्डलाई देवताहरूको देश भनिदो रहेछ । यस पवित्र भूमिमा चारधाम मध्येको एक हो गंगोत्री । चारधाम यात्राको दोस्रो चरणमा आज हामीले गंगोत्रीमा स्नान गर्यौ । बाँकी धाम केदारनाथ र बद्रीनाथको यात्रा सुरु गरेका छौ । गङ्गोत्री गंगा नदीको उद्गम रहेछ । यसको उचाई समुन्द्र सतह देखि ३०३२ मिटर छ । यो नदीको धारालाई भागीरथी भनिन्छ ।

अनि यो पावनभुमि हामी नेपाली र नेपालसित जोडिएको छ । आधुनिक इतिहासमा यहाको मुख्य मन्दिर (गंगा मन्दिर) तत्कालिन गोरखा सेनापति अमरसिंह थापाले १८ औ शताब्दीमा बनाएका हुन् । त्यसपछि मात्रै जयपुरका राजा माधोसिंह द्वितीयले गंगा मन्दिरको जीर्णेेद्धार गराए । गंगोत्री धाम हिमालयको भित्री भागमा रहेको यस्तो पवित्र स्थान हो जहाँ गंगा नदीको पवित्र धारा पृथ्वीमा पहिलो पटक अवतरण भएकि मान्यता छ । हिन्दू धार्मिक पौराणिक कथाहरू र ग्रन्थहरू अनुसार देवी गंगाले कठोर तपस्या पछि नदीको रूप धारण गरी महाराजा भगीरथका पुर्खालाई पापबाट मुक्त गराएकी थिइन् । महाराजा भगीरथको तपस्याका कारण गंगाजीको नाम भागीरथी भयो ।

००००००


हाम्रो गढवाललाई ईण्डियाले टिहरी गढवाल जिल्ला बनाएको छ । खासमा म अहिले हाम्रो भुगोलमा छु भन्छ मनले । गढवाल क्षेत्र १७९४–९५ को समयमा भयंकर अनिकालको सामना गर्यो र फेरि १८८३ मा यो क्षेत्र भयानक भूकम्पबाट प्रभावित भयो । त्यतिबेलासम्म गोर्खाहरूले यस क्षेत्रमा आक्रमण गर्न थालेका थिए र यस क्षेत्रमा उनीहरूको प्रभाव सुरु भइसकेको थियो । १८०३ मा महाराजा प्रद्युम्न शाहको शासनकालमा उनले फेरि गढवाल क्षेत्रमा आक्रमण गरे । देहरादुनमा गोर्खाहरूसँग लड्दा महाराजा प्रद्युम्न शाहले मारिए । तर उनका एकमात्र नाबालक छोरा सुदर्शन शाहलाई उनका विश्वसनीय भारदारले बचाए ।

युद्धपछि गोर्खाहरूको विजयसँगै गढवाल क्षेत्रमा आफ्नो अधिराज्य स्थापना भयो । यसपछि उनको राज्य कांगडासम्म फैलियो र १२ वर्षसम्म यहाँ शासन गरे । ईस्ट इण्डिया कम्पनीले कुमाऊँ, देहरादून र पूर्वी गढवाललाई ब्रिटिश साम्राज्यमा गाभ्यो र पश्चिमी गढवाललाई राजा सुदर्शन शाहलाई सुम्प्यो जुन टिहरी रियासतको रूपमा चिनिन्थ्यो ।

ठाउँहरूको नामाकरण मध्ये मलाई किन किन नेपालको तानसेन जस्तै भारतको देहेरादुन (कुनै समय यो पनि नेपाल थियो) असाध्यै मन पर्छ । आज टेकियो, म प्रफुल्लित छु । देहरादुन दुई शब्द देहरा र दून मिलेर बनेको छ । यसमा देहरा शब्दलाई डेराको अपभ्रम्श मानिएको छ । जब सिख गुरु हर रायका छोरा राम राय यस क्षेत्रमा आए, उनले आफ्नो र आफ्ना अनुयायीहरूको लागि यहाँ आफ्नो शिविर स्थापना गरे । र वरपर बिकासको थालनी गरे । यसरी दून शब्दसँग डेरा शब्दको सम्बन्धको कारण यस ठाउँलाई देहरादून भनिन्छ । केही इतिहासकारहरू पनि देहरा शब्दको आफ्नै अर्थ रहेको विश्वास गर्छन् । देहरा शब्द अहिले पनि हिन्दी र पञ्जाबीमा प्रयोग गरिन्छ । हिन्दीमा देहराको अर्थ ‘देवग्रह’ वा ‘देवालय’ हो, जबकि ‘पञ्जाबी’मा ‘समाधी’, ‘मन्दिर’ र ‘गुरुद्वारा’को अर्थमा सुविधा अनुसार गरिएको छ । त्यसैगरी, डून शब्द डुन शब्दबाट आएको हो र यो संस्कृतमा दुना शब्दको व्युत्पत्ति हो । अनि अर्को कुरा, संस्कृतमा द्रोणीको अर्थ दुई पहाड बीचको उपत्यका हो । यो पनि विगतमा ऋषि द्रोणाचार्यको शिविर थियो भन्ने विश्वास गरिन्छ ।

उत्तराखण्डको राजधानी देहरादूनको गौरवशाली इतिहासले यसको धेरै पौराणिक कथाहरू र विविध संस्कृतिहरू समेटेको छ । रामायण कालदेखि देहरादूनको बारेमा विवरण यो छ कि भगवान राम र उनका भाई लक्ष्मण रावणसँग युद्ध पछि यस क्षेत्रमा आएका थिए । यो स्थान द्रोणाचार्यसँग पनि सम्बन्धित छ । ऋषिकेशको बारेमा स्कन्द पुराणमा उल्लेख छ कि भगवान विष्णुले मधु–कैटभ आदि राक्षसहरूलाई मारेर यो भूमि ऋषिहरूलाई दिएका थिए । रामायण र महाभारत कालसँग सम्बन्धित देहरादून जिल्लाका स्थानहरूमा पुरातन मन्दिर र मूर्तिहरू वा तिनका भग्नावशेषहरू पुराणहरूमा पाइन्छ ।

बद्री बिशाल : दुई पटक दर्शन गर्नुपर्ने देवालय

चार धाम मध्येको एक बद्रीनाथको बारेमा एउटा यहाँ प्रचलित रहेछ : ‘जो जाये बद्री, वो न आये उड्री’ । अर्थात् जसले बद्रीनाथ देखेको छ, उसले फेरि गर्भमा आउनु पर्दैन । अर्थात् दोस्रो पटक जन्मिनु पर्दैन । अनि शास्त्रका यसो पनि भनिएको रहेछ कि : मानिसले जीवनमा कम्तीमा दुईपटक बद्रीनाथको दर्शन गर्न‘पर्छ । मेरो चाहिँ यो पहिलो दर्शन हो । हामी हिजो भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा अलकनंदा नदीको किनारमा बास बस्यौं । यहाँ हिन्दू देवता विष्णुलाई समर्पित मन्दिर छ । यो दुई हजार वर्ष भन्दा अघिदेखि प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको छ ।

धर्ममा उल्लेख गरिएको सबैभन्दा पवित्र स्थानहरू मध्ये बद्रीनाथ, बद्रीनारायण वा बदरिनाथ (तीन नामले पुकारिदो रहेछ) एक हो । बालखकालदेखि मैले चाहिँ बद्रीनाथ भनेर नै सुनेकोले म चाहिँ बद्रिनाथ नै भन्छु । खासमा बद्रीनाथ यो मन्दिर परिषरको शहरको नाम रहेछ । भगवान श्री बिष्णु स्वयम् भने ‘बद्री विशाल’ नाम दिएका छन् । यस विषयमा म केही बेरमा सोधिखोजि गर्छ‘ । यहाँ प्रचुर मात्रामा पाइने जंगली बेरीलाई बद्री भनिने भएकाले यस धामको नाम बद्री राखिएको भन्ने पनि लोकोक्ति रहेछ ।

यो चार धाम अन्तर्गत पर्छ । यो एक प्राचीन मन्दिर हो जसको निर्माण ७ औं देखि ९ औं शताब्दीमा भएको पाइन्छ । मन्दिरको नामबाट यसको वरिपरि रहेको सहरलाई बद्रीनाथ भनिएको रहेछ । यो स्थान समुद्र सतहबाट ३ हजार १३३ मिटर (१० हजार २७९ फीट)को उचाइमा छ । हिमाली क्षेत्रको कठोर मौसमका कारण मन्दिर वर्षको छ महिना (बैशाखको १८\२० देखि कात्तिकको १६\१८ गतेसम्म) खुला हुदो रहेछ । बद्रीनाथ मन्दिर खोल्ने समय बसन्त पञ्चमीको दिन तय हुने रहेछ । यो भारतको सबैभन्दा व्यस्त तीर्थस्थल मध्ये एक यहाँ बार्षिक रुपमा आउने तीर्थयात्रीको संख्या नेपालको जनसंख्या भन्दा तीन गुणा बढि हुँदो रहेछ । सरकारले राखेको आगमन रेकर्डको आधारमा पनि बार्षिक १० करोड भन्दा माथि यहाँ भक्तजन आएका छन् । सरकारको सबै यात्रुहरूको रेकर्ड राख्न सकेको छैन ।

बद्रीनाथ मन्दिरमा हिन्दू देवता विष्णुको एक रूप ‘बद्री नारायण’को पूजा गरिन्छ । यहाँ शालिग्रामको बनेको उनको १ मिटर (३.३ फिट) अग्लो मूर्ति छ, जसलाई आदि शंकराचार्यले आठौं शताब्दीमा नजिकैको नारद कुण्डबाट ल्याएर स्थापना गरेको मानिन्छ । यो मूर्तिलाई हिन्दूहरूले विष्णुको आठ स्वयम् प्रकट क्षेत्रहरू मध्ये एक मान्छन् ।

केदारनाथलाई भगवान शंकरको विश्रामस्थल मानिन्छ भने बद्रीनाथलाई ब्रह्माण्डको आठौं वैकुण्ठ भनिन्छ, जहाँ भगवान विष्णु ६ महिना सुत्छन् र ६ महिना जाग्छन् । यहाँ शालग्रामशिलाबाट बनेको बद्रीनाथको मूर्ति चतुर्भ‘ज ध्यान मुद्रामा छ । यहाँ नर–नारायण देवताको पूजा गरिन्छ र अखंड दीप प्रज्वलन गरिन्छ, जुन अचल ज्ञानको प्रतीक हो ।

पौराणिक लोककथाका अनुसार बद्रीनाथ र यसको वरपरको सम्पूर्ण क्षेत्र कुनै समय शिवभूमि (केदारखण्ड) को रूपमा अवस्थित थियो । जब गंगा नदी पृथ्वीमा अवतरण भयो, यो बाह्र धाराहरूमा विभाजित भयो । यस ठाउँबाट बग्ने धारा अलकनंदाको नामले प्रसिद्ध भयो । मान्यता अनुसार जब भगवान विष्णु आफ्नो ध्यानको लागि उपयुक्त स्थान खोज्दै थिए, तब उनलाई अलकनंदा नजिकको यो स्थान निकै मन पर्यो । विष्णु पुराणमा यस क्षेत्रसँग सम्बन्धित अर्को कथा पनि छ, जसअनुसार धर्मका दुई छोरा नर र नारायण थिए, जसले धर्म विस्तारका लागि धेरै वर्षसम्म यस स्थानमा तपस्या गरेका थिए । आफ्नो आश्रम स्थापना गर्नको लागि उपयुक्त ठाउँको खोजीमा उनले वृद्धि बद्री, योग बद्री, ध्यान बद्री र भविष्य बद्री गरी चार ठाउँको भ्रमण गरे । अन्ततः उनले अलकनंदा नदीको पछाडि एउटा तातो र एउटा चिसो पानी भेट्टाए, जसको वरपरको क्षेत्रलाई उनले बद्री विशाल नाम दिए ।यसै ठाउँका बारेमा व्यासजीले महाभारत यसो लेखेका रहेछन् ः नर–नारायणले अर्को जन्ममा क्रमशः अर्ज‘न र कृष्णको रूपमा जन्म लिएका थिए । यही ठाउँमा पाण्डवहरूले आफ्ना पुर्खाहरूको पिण्डदान गरेका थिए । यसै कारणले आज पनि बद्रीनाथको ब्रम्हकपाल क्षेत्रमा तीर्थयात्रीहरूले आत्माको शान्तिको लागि आफ्ना पुर्खाहरूलाई पिण्ड दान चढाउँछन् ।

महाभारतमा बद्रीनाथको उल्लेख गर्दै लेखिएको छ : ‘अन्यत्र मृत्युः स्वधर्म ।’ अर्थात् ‘अन्य तीर्थमा विधिपूर्वक स्वधर्मको पालना गर्दा मृत्युबाट मात्र मोक्ष प्राप्त हुन्छ तर बद्री विशालको दर्शनले मात्र मानिसले आफ्नो मोक्ष आफ्नो हातमा प्राप्त गर्छ ।’ ७ औं शताब्दीदेखि ९ औं शताब्दीसम्म अल्वर ऋषिहरूले रचित नालायर दिव्य प्रबन्धग्रन्थमा यस मन्दिरको महिमाको वर्णन गरिएको छ । सेन्ट पेरियाल्वरद्वारा लिखित सात स्तोत्रहरू र तिरुमांगाई अल्वरद्वारा लिखित १३ स्तोत्रहरू यस मन्दिरलाई समर्पित छन् । यो मन्दिर भगवान विष्णुको समर्पित १०८ दिव्यदेशम मध्ये एक हो ।

यहाँका स्थानीयहरूसित मैले कथा पनि सुने । यो लोककथा अनुसार भगवान विष्णुले नीलकण्ठ पर्वतको छेउमा बालकको रुपमा अवतार लिएको अर्को प्रसङ्ग पनि सुन्न पाईदो रहेछ । जस अनुसार भगवान विष्णु आफ्नो ध्यान र विश्रामको लागी एक उपयुक्त स्थान को खोजी गर्दै थिए र यो स्थान अलकनंदा नदी को धेरै नजिक थियो । त्यसबेला यो स्थानमा भगवान शंकर र पार्वतीको वास थियो । यस्तो अवस्थामा विष्णुले एउटा युक्ति सोचे । अनि कथा यसरी सुरु हुन्छ :

एक दिन शिव र पार्वती घुम्न बाहिर गएर फर्केपछि ढोकामा एउटा सानो बच्चा रोइरहेको देखे । पार्वतीलाई माया लाग्यो र बच्चा उठाउन लाग्दा शिवले रोकेर कसरी र कहाँबाट एकाएक यहाँ आयो बुझ्न भने । तर पार्वतीले मानिनन् र बच्चालाई घर भित्र लगे । उनले बच्चालाई त्यहीँ सुताएर नजिकैको तातो कुण्डमा शिवसँग नुहाउन गइन् । दुवै फर्किएपछि घरको ढोका भित्रबाट बन्द भएको पाए । पार्वतीले शिवलाई सोधिन् कि अब के गर्ने ? शिवले यो तिम्रो बच्चा हो म केहि गर्न सक्दिन । केही नयाँ ठाउँ भेट्टाए राम्रो हुन्छ, किनकि अब ढोका खुल्ने छैन र म यो ढोका जबरजस्ती खोल्ने छैन भने । भनिन्छ कि शिव र पार्वती त्यो ठाउँ छोडेर केदारनाथ गए र बच्चा जो भगवान विष्णु थिए त्यहीँ बसे । यसरी भगवान विष्णुले जबरजस्ती बद्रीनाथलाई आफ्नो विश्राम स्थल बनाए ।

भगवान विष्णु ध्यानमा लीन हुँदा धेरै हिउँ पर्न थाल्यो । विष्णु र उनको घर पूर्णतया हिउँमा डुब्न थाले । यो देखेर माता लक्ष्मी विचलित भइन् । त्यसपछि उनी स्वयं भगवान विष्णुको समीप उभिएको बेरी (बद्री) रूखको रूप धारण गरी सबै हिउँ आफैंमा बोक्न थालिन् । लक्ष्मीजी भगवान विष्णुलाई सूर्य, वर्षा र हिउँबाट बचाउनको लागि कठोर तपस्यामा संलग्न भइन् । धेरै वर्ष पछि, जब विष्णुले आफ्नो तपस्या पूरा गरे, उनले लक्ष्मीलाई हिउँले ढाकिएको देखे । अनि उनले भने : ‘हे देवी ! तिमीले पनि म जस्तै तपस्या गरेका छौ, त्यसैले आजदेखि तिम्रो साथमा यो धाममा मेरो पुजा हुनेछ र तिमीले बद्री रुखको रूपमा मेरो रक्षा गरेकोले आजदेखि म बद्रीको नाथ (बद्रीनाथ) भनेर चिनिनेछु । यसरी भगवान विष्णुको नाम बद्रीनाथ भयो ।

बद्रीनाथमा धेरै प्राचीन स्थलहरू रहेछन् । अलकनन्दको किनारमा अवस्थित अद्भूत तातोपानीको मुहान जस्तै जसलाई‘ुतप्त कुण्ड’ भनिन्छ । ब्रह्म कपलु नामक समतल मञ्च पौराणिक कथामा ‘नाग’ शिलाको उल्लेख छ । शेषनागको कथित छाप भएको ढुङ्गा ‘शेषनेत्र’ हो । भगवान विष्णुको पदचिह्न ‘चरणपादुका’ हो । गढवाल रानी भनेर चिनिने अग्लो हिउँले ढाकिएको शिखर नीलकण्ठ बद्रीनाथबाट देखिन्छ ।

मन्दिरमा बद्रीनाथको दाहिनेपट्टि कुबेरको मूर्ति पनि रहेछ । उद्धवजी उनको अगाडि र उत्सवमूर्ति उनको अगाडि छ । हिउँ जमेको बेला उत्सवमूर्तिलाई हिउँदमा जोशीमठ भन्ने ठाउँमा बोकेर लगिदो रहेछ । उद्धवजीको चरणपादुका छ । देब्रेपट्टि नरनारायणको मूर्ति छ । उनीहरूको नजिकै श्रीदेवी र भूदेवी छन् ।

पुराणका अनुसार भूकम्प, बाढी र खडेरीपछि गंगा लोप हुनेछ र यस गंगाको कथा बद्रीनाथ र केदारनाथ तीर्थस्थलको रोचक कथासँग जोडिएको छ । भविष्यमा बद्रीनाथ नदेखेको हुनाले नर र नारायण हिमाल मिल्ने दिन बद्रीनाथको बाटो पूर्ण रुपमा बन्द हुने जनविश्वास छ । भक्तहरू बद्रीनाथ जान पाउने छैनन् । पुराणका अनुसार वर्तमान बद्रीनाथ धाम र केदारेश्वर धाम आगामी केही वर्षमा लोप हुने र वर्षोपछि भविष्यमा भविष्य बद्री नामको नयाँ तीर्थको जन्म हुनेछ । जोशीमठमा अवस्थित नरसिंह भगवानको मूर्तिको एक हात वर्षेनी पातलो हुँदै गएको जनविश्वास पनि छ । जुन दिन यो हात लोप हुन्छ, ब्राद्री, केदारनाथ जस्ता तीर्थस्थलहरू पनि लोप हुन थाल्नेछन् ।

उत्तर भारतमा अवस्थित छ, यहाँ ‘रावल’ भनिने मुख्य पुजारीहरू दक्षिण भारतको केरला राज्यको नम्बुदिरी सम्प्रदायका ब्राह्मणहरू हुन् । श्री बद्रीनाथ र श्री केदारनाथ मन्दिर अधिनियमू अन्तरगत उत्तराखण्ड सरकारद्वारा मनोनीत १७ सदस्यीय समितिले बद्रीनाथ र केदारनाथ दुवै मन्दिरको व्यवस्थापन गर्दो रहेछ ।

यहाँ नेपाल, नेपाली र नेपालीपन बाक्लो फेला पर्दो रहेछ । हाम्रो भाषामा बोल्दापनि यहाँका आधासरोले बुझ्दा रहेछन् । गण्डकी अञ्चलको नाममा गेष्ट हाउसपनि यहाँ छ । हामीले बिर्सिसकेको यो नाम साईनबोर्डमा पढ्दा पनि अर्को एक आनन्द मिल्दो रहेछ ।

नेपाली धर्मशाला ८७ बर्ष अघि यहाँ बनेको रहेछ । १९९२ सालमा तत्कालीन श्री ३ महारानीको नाममा यहाँ बनेको धर्मशाला ‘बालचन्द्र भवन’ अहिले तीन वटा ब्लकमा छ । विभिन्न कालखण्डमा दानबिरहरूले यो धर्मशालाको अङ्श अङ्श निर्माण र मर्मत गराउने गरेका रहेछन् । हामी चाहिँ गएराति नेपालका पुर्वप्रधानमन्त्रि स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री हुदाको समयमा १ लाख २५ हजार भारु खर्च गरेर आफ्ना पिताको नाममा निर्माण गराएका कक्षमा बिश्राम गर्यौ ।

स्वर्ग जाने बाटोमा बितेको मेरो एक दिन

हुन त पानीको स्वाद हुदैन भनिन्छ, कहिले काहीँ सधै पिउने गरेको पानीको पनि फरक स्वाद त आएको पनि अनुभुती छ । तर यो झरनाको पानीको स्वाद भने अर्को लाग्यो । केही मिसिएको स्वाद पानीमा पाए । बद्रीनाथ धामबाट करिब ७ किलोमिटर दुरीमा रहेको अलकानन्द नदीको उद्गमस्थल ‘बशुधारा’मा मैले गरेको यो अनुभव हो । यस मुहानको पानी सिधै हिमालबाट बगेर यहाँसम्म आइपुग्दा धेरै जडीबुटी छोएको भएर यसको स्वाद फरक रहेको यहाँ भेटिएका भेडा गोठाला र ‘बाबा’हरूले बताए ।

यस झरनामा पानीको धारा करिब चार सय फिटको उचाइबाट झरिरहेको छ अनि पानी चट्टानमा ठोकिदाको आबाज यस्तो डरलाग्दो सुनिदो रहेछ कि, त्यो पानीको आबाज मात्रै हो भन्ने बानि पारेर मन ढुक्क हुन मलाई धेरै बेर लाग्यो । यो झरना यति अग्लो रहेछकि पहाडको फेददेखि पहाडको टुप्पोसम्मको पूरै झरनालाई एकै दृष्यमा देखिदो रहेनछ । राम्रो लेन्स भएको क्यामेरामा भने अट्दो रहेछ ।

बद्रीनाथ जाने सबै भक्तहरू वसुधारा झरना हेर्न रहर गर्दा रहेछन्, तर माना गाउँबाट झण्डै ६ किलोमिटर पैदल हिड्नु पर्ने, चिसो र तप्पिउतप्पिउ परेको उकालो बाटोका कारण धेरै यात्रीहरू बिचबाट फर्कदा रहेछन् । हामीलाई झण्डै ३ घण्टा लाग्यो माना गाउँबाट बशुधारा पुग्न ।

स्थानीयहरूको भनाई अनुसार यस झरनाको विशेषता यो हो कि यो झरना मुनी जाने हरेक व्यक्तिमा पर्दैन । भनिन्छ यो मुहानको पानी पापीलाई पर्दैन । त्यसो त शास्त्र अनुसार पञ्च पाण्डवकालमा सहदेवले यहाँ प्राण त्याग गरेका थिए । उनीहरू स्वर्ग जान यहि बाटो हिडेका थिए ।

बशुधाराको केही पर देखिने पहिरो गएको जस्तो स्थान छ, जहाबाट मन्दाकिनी नदी सुरु भएको जस्तो देखिन्छ । तर यो नदी धेरै माथिबाट बगेर आएको छ । यहि बशुधाराबाट १८ किलोमिटर माथि महापथ छ अरे, युधिष्ठिर चाहि यही बाटो भएर स्वर्ग तर्फ लागेका थिए । पाँच पाण्डवका अन्य सदस्य भने बशुधाराबाट माथि जान नसकेपछि सहदेवले यही प्राण त्यागेर स्वर्ग लागे भने अन्य बशुधाराको यो विशाल पहाड चढेर स्वर्गको यात्रा गरे ।

००००००


आज म हिन्दुस्तानको अन्तिम गाउँ वा उत्तराखण्डको अन्तिम गाउँ भनेर चिनिने ‘माणा’ गाउँ र यसको पनि अन्तिम वा भनु हिन्दुस्तानको अन्तिम पसलसम्म आइपुगेको छु । यो गाउँलाई ‘माना’ पनि भन्ने गरेको पाईयो । यो गाउँ चीनसँग सीमा जोडिएको रहेछ । यहाँबाट चिन २५ किलोमिटरको दुरीमा रहेछ । त्यस तर्फ जानका लागि भारत सरकारले सडक निर्माण गरिरहेको रहेछ । पवित्र बद्रीनाथबाट चार किलोमिटरको दूरीमा यो गाउँ अवस्थित छ । यस गाउँको नाता महाभारतकाल, भगवान श्री गणेश र महर्षि बेदब्याससँग पनि जोडिएको रहेछ । यस गाउँबाट पाण्डवहरू स्वर्ग गएको विश्वास गरिन्छ । यस्तै महाभारतको रचना पनि यहि भएको रहेछ । यस गाउँसँग सम्बन्धित धेरै रहस्यमय र रोचक कुराहरू रहेछन्, जसले मलाई छक्क पारेको छ ।

करिब १९ हजार फिटको उचाइमा रहेको यस गाउँको नाम मणिभद्र देवको नामबाट ‘मन’ राखिएको बताइएको छ । पौराणिक मान्यताका अनुसार यो भारतको एक मात्र गाउँ हो जसलाई पृथ्वीका चार धाममध्ये सबैभन्दा पवित्र मानिन्छ । यो गाउँलाई श्रापमुक्त र पापमुक्त पनि मानिन्छ ।

यहाँका स्थानीयहरू र यस गाउँको बारेमा जानेबुझेकाहरूको एउटा बलियो विश्वास यो रहेछ कि : यहाँ आउने हरेक मानिसको गरिबी हट्छ । यस गाउँलाई भगवान शिवको विशेष आशीर्वाद प्राप्त भएको बताइन्छ र यहाँ जो आउँछ, उसको गरिबी हट्छ भनिदो रहेछ ।

‘भीम पुल’ भनेर चिनिने यस गाउँमा महाभारत कालमा बनेको पुल अहिले पनि रहेछ । भनिन्छ कि जब पाण्डवहरू यस गाउँबाट स्वर्ग जाँदै थिए, उनीहरूले यहाँ रहेको सरस्वती नदीको पारी जाने बाटो मागेका थिए तर सरस्वती नदीले बाटो दिन अस्वीकार गरेपछि महाबली भीमले दुईवटा ठूला ढुङ्गा तोडेर उठाए र नदीमाथि राखेर आफ्नो लागि बाटो बनाए । यसपछि पाण्डवहरू यो पुल पार गरेर स्वर्गतिर लागेछन् । भीम पुल भारी ढुंगाले बनेको यस्तो सुरक्षित पुल हो, जहाबाट आज पनि हज्जारौं मानिसको आवतजावत हुन्छ । भीमपुलको ढुङ्गामा पाँच औँलाको छाप पनि देखिन्छ । जब भीमले आफ्नो हातले यो ढुङ्गा उठाए तब यी निशान ढुङ्गामा परेको विश्वास छ । डरलाग्दो गडगडाहट सहित गहिरिएर बगेको सरस्वती नदिमा मानिस नपरुन् भनेर यस पुलको माथि सुरक्षाका लागि प्याराफिट बाउन्ड्री बनाएको छ ।

यो गाउँमा रहस्यले भरिएको गुफा रहेछ, जसलाई ‘व्यास गुफा’ भनिन्छ । यो सानो गुफा भए पनि हजारौं वर्ष पहिले महर्षि वेदव्यासले यस गुफामा बसेर वेद र पुराणको संकलन गरेको बताइन्छ । यस गुफामा वेदव्यासले भगवान श्री गणेशको सहयोगमा महाभारतको रचना गरेको पनि विश्वास गरिन्छ । वेदव्यास गुफा पनि आफ्नो अद्वितीय छानाको लागि भारतभरि प्रसिद्ध रहेछ । यो छत हेर्दा धेरै पानाहरू एक अर्को माथी थुप्रिएको जस्तो देखिन्छ । यो छतको बारेमा रहस्यमय विश्वास छ । भनिन्छ कि यो महाभारतको कथाको त्यो अंश हो, जसको बारेमा महर्षी वेदव्यास र भगवान श्री गणेशजी बाहेक कसैलाई थाहा छैन ।

महर्षी वेदव्यासले भगवान श्री गणेशलाई महाभारतका ती पानाहरू लेख्न लगाएका थिए तर उनले ती पानाहरूलाई त्यस महाकाव्यमा समावेश गरेनन् र आफ्नो शक्तिले ती पानाहरूलाई ढुङ्गा बनाएका थिए ।

ढुङ्गाका यी रहस्यमय पानालाई आज ‘व्यास पोथी’ भनेर पुकारिदो रहेछ । जुन यो गुफाको बाहिर भागमा देखिन्छ । टाढाबाट हेर्दा एउटा सिङ्गै पहाड कितावको पाना चाङ्ग जस्तै देखिन्छ ।

त्यो रहस्य के थियो, जुन वेदव्यासले संसारलाई बताउन चाहेनन् । महाभारतको यो ‘हराएको अध्याय’ साँचो हो वा कथा, कसैलाई थाहा छैन, तर जत्ति हेरेपनि र जसरी हेरेपनि व्यास गुफाको छतमा ठूलो किताब राखिएको देखिन्छ ।

यो माना गाउँमा गणेश गुफा पनि रहेछ । जहा श्री गणेशजीले व्यासजीको आदेशमा पुराण लेखेका थिए ।

२४ श्रावण २०७९, मंगलवार १९:२२



तपाईको प्रतिक्रिया