ओली कदमको भण्डाफोर अभियान

विदुर । शनिवार नेपाली काँग्रेस नुवाकोटले नुवाकोटको सबै स्थानीय तहमा प्रर्दशन र विरोध कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदको विरुद्धमा काँग्रेसले एकै दिन नुवाकोटको विभिन्न स्थानमा विरोध कार्यक्रमको आयोजना गरेको हो । विदुर नगरपालिका र बेलकोगढी नगरपालिका इकाइले देविघाटमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो भने अन्य गाउँपालिकाहरूले आफ्नै भुगोलमा कार्यक्रमको आयोजना गरि ओली कदमको ‘भण्डाफोर’ गरेको छ ।

देविघाटमा आयोजित दुई नगरपालिकाको संयुक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत लगायत नेताहरूले सम्वोधन गरेका छन् । त्यस कार्यक्रममा बोल्दै अर्जुननरसिंह केसीले नेपाली काँग्रेस कम्युनिष्ट सरकारसंग टाँसिएर बिसंगती र कुकृत्यहरूको साक्षी बस्न र भागबण्डा गर्न नजाने बताएका छन् । जनताले ५ बर्षको लागी कम्युनिष्ट सरकारलाई दिएको मतको संरक्षण नगरी प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई लुटतन्त्रमा परणित गरेको केसीको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्रतितिधि सभा विघटन गरेर संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने गरी संबिधान र बिधीको शासनमाथी आक्रमण गरेको काँग्रेस नेता केसीले बताए । नेकपाको आन्तरिक कलह र त्यसको जगमा उभिएर प्रधानमन्त्री ओलीले संविधानको चीर–हरण गरेको र मुलुकलाई राजनीतिक संकटबाट गुज्रिन विवश बनाएको उनको आरोप छ । नेता केसीले प्रधानमन्त्री ओलीले गरेको संबिधान माथीको आक्रमणमा राष्ट्रपति बिद्यादेवी भण्डारी मुकदर्शक बनेको प्रति आपत्ति प्रकट गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले निरंकुशता र सर्वसत्तावादको बाटोमा हिडेको कम्युनिस्ट नेतृत्वको सरकार संविधान, संसद, संसदीय व्यवस्थालगायत सबैलाई बाधक मानेर तिनको तेजोवध गर्न उद्यत रहेको आरोप लगाएका छन् । नेपाली काँग्रेसको नेतृत्वले मात्रै मुलुकमा ऐतिहासिक परिबर्तन भएको स्मरण गराउदै राजनीतिक संकटबाट मुक्त बनाउने पार्टीको रुपमा नेपाली काँग्रेस ईतिहासमा दर्ज भएको महतले बताए । राजनितिक झुटले अधिनायकबादमा उन्मुख रहेको कम्युनिष्ट सरकार बिरुद्ध एकजुट भएर निरङकुशता बिरुद्ध लाग्न उनले कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले वर्तमान सरकार कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो बेलामा नागरिकहरूमाथि अत्याचार गर्न तम्तयार रहेको बताएका छन् । पार्टीको आन्तरिक विवादमा राज्यव्यवस्थालाई शिकार बनाउने, नेतृत्वबीचको किचलो र झगडामा सिंगो मुलुक र जनतालाई दण्ड दिने कम्युनिस्ट नेतृत्वको प्रवृत्तिले जनतामा आक्रोश व्याप्त भएको उनको भनाइ छ । उनले जनताले फेरि काँग्रेस खोज्न थालेको र नेकपाको शासनशैली र संवैधानिक ‘कु’ले नागरिकस्तरमा नेकपा बहिस्कृत भइसकेको बताए ।

५ माघ २०७७, सोमबार ०६:४८



तपाईको प्रतिक्रिया