नुवाकोटमा त्रिपक्षीय भिडन्तको सम्भावना

चैत ३० गते गठबन्धनका चार दलका पालिका प्रमुख तथा जिल्ला प्रमुखहरूको बैठकका क्रममा काँगेस पार्टी कार्यालय विदुरमा चार दलका जिल्ला नेताहरू।

विदुर । नेकपा एमाले विरुद्ध देशब्यापी रुपमा बनाइन लागेको सत्ता पक्ष दलको गठबन्धन नुवाकोटमा कायम नहुने पक्कापक्की भएको छ। दुई नगरपालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटमा चार राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच स्थानीय तह भागबण्डामा कुरा मिलेन । दुई दल काँग्रेस र माओवादीको मात्रै सहमतीमा भएको तीन पालिकाको भागबण्डा पनि कार्यान्वयन नहुने तहमा पुगेको चर्चा सुरु भएको छ ।

विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा काँग्रेस माओवादी बीचको सहमतीमा भएको भागबण्डाको विषयमा समाजवादीले आपत्ति जनाएर आफुहरू त्यसमा सहमत नभएको विज्ञप्ती जारी गरिसकेको छ । सोही विषयलाई लिएर जसपाले गठबन्धबाट नै अलग भएको सार्वजनिक गरेको छ । शुक्रवार काँग्रेस, माओवादी बीच भएको सहमती शनिवार रातीसम्म आइपुग्दा फेरि भत्किएको माओवादी केन्द्रका एक नेताले बताए। लिखित रुपमा सहमती गरेर सार्वजनिक गरिसकेको भागबण्डामा समेत काँग्रेसले तलमाथी गर्ने प्रस्ताव गरेपछि टुङ्गो लागेको भनिएको नुवाकोटको तीन स्थानीय तहको गठबन्धन समेत भत्किएको संकेत मिलेको हो ।

काँग्रेसले विदुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गर्ने र नगरपालिकाका १३ वटै वडाहरूमा आपसी प्रतिस्पर्धा गर्ने प्रस्ताव ल्याएपछि माओवादीमा तरंग पैदा भएको छ । विदुर नगरपालिकामा यो समस्या उत्पन्न भएपछि माओवादी बलियो रहेको बेलकोटगढी नगरपालिकामा पनि गठबन्धन गरेर काँग्रेसलाई उपप्रमुख सहितको ६ वटा वडा दिनुको औचित्य नभएको माओवादीले बताएको छ। तर काँग्रेस र माओवादीका नेताहरूले भने तीन पालिकामा गठबन्धन नटुटेको दावी गरिरहेका छन् । काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले आइतवार अपरान्ह विदुर, बेलकोटगढी र तारकेश्वरमा काँग्रेस(माओवादी गठबन्धन कायम नै रहेको र त्यो कार्यान्वयन हुने बताएका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेले समेत यी तीन पालिकामा गठबन्धन कायम रहेको दावी गरेका छन् ।

तर काँग्रेस, माओवादीका अन्य नेताहरू भने नुवाकोटको कुनै पनि तहमा कसैसंग गठबन्धनको सम्भावना अब नहरेको र एक्लाएक्लै प्रतिस्र्धामा जाने तयारी भइरहेको बताएका छन् । काँग्रेसले आइतवार विहानदेखि राती अवेलासम्म उम्मेदवार छानिरहेको छ । एक्लाएक्लै जानुपर्ने आन्तरिक सर्कुलर गरेर जित्ने उम्मेदावरको खोजी गरिरहेको बताइएको छ । माओवादी केन्द्रले समेत वडातहसम्म उम्मेदवारको टुङ्गो लगाउन आइतवार दिउँसोदेखि आन्तरिक गृहकार्य गरिरहेको छ। गठबन्धन हुने पक्का पक्की मनस्थिति बनाएर अन्तिम समयसम्म संगै देखिएको काँग्रेस र माओवादी अहिले उम्मेदवारको टुङ्गो एक्लाएक्लै लगाउनुपर्ने भएपछि नेताहरूको ब्यस्तता र दौडधुप बढेको छ । काँग्रेसले दुप्चेश्वर, लिखु र शिवपुरी गाउँपालिका बाहेक सबै तहमा नयाँ अनुहार उठाउने गरी उम्मेदवारको छनोट गरिरहेको छ। काँग्रेस भित्रको महत, केसी र बहादुर गुटको व्यवस्थापनका कारण भने काँग्रेसलाई अन्तिम समयमा सर्वमान्य हुने गरी उम्मेदवार छान्न सकस परिरहेको छ। काँग्रेस एक नेताका अनुसार अहिले निर्वाचित जनप्रतिनिधहरू नदोहो¥याउने गरी काँग्रेसका जिल्ला नेतृत्वले केन्द्रीय नेतृत्व समक्ष सुझाव पेश गरेको छ । उनले भने– ‘काँग्रेस भित्र ६० प्रतिशत उम्मेदवारको अनुहार नयाँ हुने छ ।’

माओवादी केन्द्रको विदुर नगरपालिकामा प्रभा बोगटी प्रमुख या उपप्रमुख दुवैमा जाने गरी यस अघि नै निर्णय भइसकेको छ । प्रमुखका लागि सिफारिस भएका बोगटीलाई गठबन्धन हुने भएपछि शुक्रवार उपप्रमुखमा माओवादी केन्द्रले उठाउने निर्णय भएको माओवादी केन्द्रका जिल्ला सह–ईञ्चार्ज हिरानाथ खतिवडाले जानकारी दिएका थिए ।

काँग्रेस र माओवादीको गठबन्धन विथोलिएको संकेत पाएपछि समाजवादीले आइतवारबाट माओवादी केन्द्रसंगको वार्तालाई बाक्लो पारेको छ । समाचार श्रोतका अनुसार माओवादी र समाजवादीबीच नै गठबन्धन हुने सम्भावना बढेको छ। विदुर, बेलकोटगढी र तारकेश्वरमा काँग्रेस–माओवादी समीकरण भत्किएमा जिल्ला भरिनै र त्यहाँ कामय भएमा बाँकी नौं वटा गाउँपालिकामा माओवादी–समाजवादी गठबन्धन हुने पक्का भएको एक नेताले दावी गरेका छन् । ति नेताका अनुसार समाजवादीले शिवपुरीको अध्यक्ष सहित एउटा वडा र तादी गाउँपालिकाको उपाध्यक्ष सहित दुई वटा लिने सम्भावना बढेको छ । त्यसो हुँदा माओवादीले तादीमा अध्यक्ष र शिवपुरीमा उपाध्यक्ष सहित बाँकी वडाहरू पाउने छ। शिवपुरीमा समाजवादीका पदम उप्रेती अध्यक्ष माओवादी केन्द्रका मिनबहादुर गुरुङ उपाध्यक्ष, तादी गाउँपालिकामा माओवादी केन्द्रका किरणकुमार रिजाल अध्यक्ष हुने छन्। तादीमा समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिने व्यक्तिको विषयमा छलफल चलिरहेको छ ।

यसरी माओवादी र समाजवादी बीच हुने तालमेलले ति दुई पालिका बाहेक दुप्चेश्वर, पञ्चकन्या, ककनी, गाउँपालिका बेलकोटगढी नपा, किस्पाङ गाउँपालिकामा माओवादीलाई सहज हुने छ ।

यता नेकपा एमालले विदुर नगरपालिकामा उम्मेद वारको टुङ्गो लगाएको छ। यस अघि निर्वाचित प्रमुख सञ्जु पण्डितलाई नै एमालले विदुर नगरपालिकामा प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपप्रमुखमा अम्बिका पौडेल नेपाललाई एमालेले अघि सारेको छ । एमालले अन्य स्थानीय तहहरूको उम्मेदवार भने टुङ्गो लगाइसकेको छैन । अन्य दलको उम्मेदवार हेरेर सार्वजनिक गर्ने रणनीतिमा रहेको एमाले नुवाकोटले गठबन्धन हुँदा र नहुँदा मैदानमा उतार्ने पात्रा फरक हुने भएकोले ‘पर्ख र हेरे’को नीति लिएको बताइएको छ ।

सत्ता गठबन्धनको चैत १८ गते नुवाकोटमा बसेको पहिलो बैठक (बाँयाँ) मा सहभागि काँग्रेसका सभापति रमेशकुमार महत, समाजवादीका अध्यक्ष गोविन्द नेपाली, माओवादीका संयोजक पुष्प लामिछाने क्रमश ।

मनोनयन दर्ताको दुई दिन कसका लागि ?

विदुर । मुख्य ठूला दलहरू यो समाचार तयार गर्दासम्म उम्मेदवारको छनौट र सत्ता पक्षको गठबन्धनका दलहरू गठबन्ध टिकाउने वा फुटाउने दौडमा छन् । आइतवार र सोमवार दुई दिन उम्मेदवारको मनोनय दर्ताको समय निर्वाचन आयोगले दिएकोमा मुख्य दलहरूले सोमवारलाई मात्रै प्रयोग गर्ने भएका छन् । एकै दिन मनोनयन दर्ता हुँदा पर्ने चाप कम गर्नका लागि आयोगले राखेको दुई दिनको पहिलो दिन आइतवार खासै सदुपयोग भएको छैन ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय राख्नुको कारण स्पष्ट गरेको छ । एकैदिन मनोनयन दर्ता गराउँदा हुने अत्यधिक चापलाई दृष्टिगत गर्दै दुई दलहरूलाई मनोनयन दर्ताका लागि दुई दिनको समय दिनुपरेको आयोगको भनाइ छ । तर दलहरूको आन्तरिक विवाद र लडाई व्यवस्थापन देखि गठबन्धनको ‘तलमाथी’लाई ब्यवस्थापनका कारण अन्तिम दिनको अन्तिम समयलाई दलहरूले मनोनयन दर्ताका लागि प्रयोग गर्दै छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका ठूला दलहरूले आइतवार मनोनयन पत्र दर्ता गराएका छैनन् । सोमवार पनि अन्तिम समयमा मात्रै दर्ता गराउने रणनीति सबै दलको रहेको छ । आफ्ना असन्तुष्ट र उम्मेदवार बन्न नपाएकाहरू अन्य पार्टीमा प्रवेश गरेर नउठुन् र बागीको सामना गर्नु नपरोस् भनेर दलहरूले यो रणनीति तय गरेको बुझिएको छ ।

नेपाली काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्र आफ्नो पार्टी भित्र टिकट बाडफाडको काम बाँकी रहेकोले मनोनयन दर्ता सोमवार पुगेको बताउँछन् । यउनका अनुसार सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने गृहकार्यमा समय बितेकोले पार्टी भित्रबाट उम्मेदवार छान्ने काम आइतवार मात्रै सुरु भएको थियो । आइतवार राती वा सोमवार विहानसम्म काँग्रेसले सबै पाकिाको तथा ८८ वडाको अध्यषहरूको टुङ्गो लगाउने छ ।

यस्तै नेकपा माओवादी केन्द्रले समेत गठबन्धको नाममा समय खर्च गर्नुपरेकोले उम्मेदवारको छनोट प्रक्रिया आइतवार दिउँसोबाट मात्रै सुरु भएकोले सोमवार पुगेको बताएको छ । जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार माओवादीको उम्मेदवारहरूको टुङ्गो लागिसकेको भएपनि अझै हुनसक्ने गठबन्धनको सम्भावनालाई हेरेर एक दिन कुरिएको हो ।

‘स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौँ महानगरपालिकामा जम्मा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगन्ज महानगरपालिकामा ११२५ जनाको मनोनयन पत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयन पत्र दर्ता गर्ने कार्यचाप अत्यधिक रहेकोले उक्त दिन मनोनयन पत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरूको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयन पत्र दर्ताको समय दुई दिनका लागि तोकेको छ’, आयोगले विज्ञप्तिमा भनेको छ ।

७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता भएपछि आयोगले वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

१२ बैशाख २०७९, सोमबार ०५:००



तपाईको प्रतिक्रिया