पर्वतका सबै क्षेत्रमा एमाले विजयी

पर्वत । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतका तीनवटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा एमालेकै मित्रलाल बस्याल विजयी भएका हुन् । 

बिहीबार बिहान ९ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवार विजयी भएको औपचारिक घोषणा गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरे । गिरीले २९ हजार ८७२ मत पाए । जोशीले २७ हजार ६०९ मत पाए । तेस्रो स्थान कायम गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जापुनले ४ हजार १७३ मत पाए ।

प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे । भक्तले १६ हजार ८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका सुदीपले १३ हजार ७४२ मत पाए । उनीहरूबीच २ हजार ३३९ मतको अन्तर छ ।

प्रदेशसभा २ मा एमालेका मित्रलाल बस्यालले १४ हजार १३२ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका ऋषिकेश तिवारीले १२ हजार २१० मत पाए । तिवारी र बस्यालका बिचमा १ हजार ९२२ मतको अन्तर छ । पर्वतका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो ।

८ मंसिर २०७९, बिहीबार १०:११



तपाईको प्रतिक्रिया