प्रदेश सरकारमा नुवाकोट अनुपस्थित

विदुर । बुधबार थप मन्त्रीहरूले सपथ लिएसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । तर यस पटक बागमती प्रदेश सरकारमा नुवाकोटको उपस्थिति शुन्य भएको छ ।

अघिल्लो पटक प्रदेश सभाको उपसभामुख र कानुन मन्त्री/कृषि राज्य मन्त्रीसमेत एकैपटक पाएको नुवाकोटले यस पटक कुनै अवसर पाएको छैन । बुधवार भएको मन्त्री परिषद् बिस्तारपछि नुवाकोट र रसुवाले उपस्थिति प्रदेश सरकारमा छैन ।

सत्ता गठबन्धमा नुवाकोटबाट माओवादी केन्द्रका राधिका तामाङ र रामप्रसाद ढुङ्गाना प्रदेश सांसद छन् । रसुवाबाट माओवादी केन्द्रका इन्द्र गोतामे प्रदेश सांसद छन् । प्रदेश सभाको सभामुख राप्रपाबाट बनेका छन् । मुख्य मन्त्री धादिङका शालिकराम जमकट्टेल छन् । ११ जना मन्त्रीमा बागमतीका सात जिल्लाको प्रतिनिधित्व रहेको छ । नुवाकोट र रसुवा सहित रामेछाप, दोलखा र काभ्रेपलाञ्चोक जिल्लाहरू बागमती प्रदेश सरकारमा मन्त्री विहिन छ ।

मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिलाउँदै सबै मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । मन्त्रिपरिषदमा नेकपा एमाले र माओवादी केन्द्रका ४/४ जना मन्त्री बनेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बाट ३ जना मन्त्री बनेका छन् । धादिङले मुख्यमन्त्री सहित दुई मन्त्री, काठमाडौं र मकवानपुर जिल्लाले दुई/दुई मन्त्री पाएको छ । सिन्धुपाल्चोक, चितवन, ललितपुर, सिन्धुली जिल्लाले एक/एक जना मन्त्री पाएको छ ।

माओवादीबाट नवनियुक्त मन्त्री बन्नेहरूमा युवराज दुलाल (सिन्धुपाल्चोक) र कुमारी मोक्तान (मकवानपुर) रहेकी छन् । दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र मोक्तानलाई सामजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट मन्त्री बन्नेहरूमा जगन्नाथ थपलिया (चितवन), केशवप्रसाद पोखरेल (काठमाडौं), एकालाल श्रेष्ठ (मकवानपुर) र रामेश्वर श्रेष्ठ (ललितपुर) रहेका छन् । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकालाललाई श्रम रोजगार तथा यातायात मन्त्रालय र रामेश्वरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ (सिन्धुली) आन्तरिक मामिला तथा कानून मन्त्री, राप्रपाका उद्धव थापा (काठमाडौं) खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ (धादिङ) पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट (काठमाडौं)लाई वन तथा वातावरण मन्त्री बनाइएको छ ।

माओवादीका तीन मन्त्री दोहोरिए

शालिराम जम्मकट्टेल :
बागमती प्रदेश सरकारको दोस्रो कार्यकालका पहिलो मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेल प्रदेश सभामा दोहोरिएका व्यक्ति हुन् । उनी २०७४ को निर्वाचनमा पनि धादिङ जिल्ला क्षेत्र नं. १ को (२) बाट निर्वाचित भएका थिए । २०७४ मा बागमती प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री भए । लगभग ३ बर्षभन्दा बढि आन्तरिक मन्त्रालय सम्हालेका जम्मकट्टेलले राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन हुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्राप्त गरे । पहिलो कार्यकालमै २ वटा मन्त्रालयको स्वाद चाखिसककेका मुख्यमन्त्री जम्मकट्टेल दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्ने दौडमा थिए ।

त्यसो त, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायतका दलको पाँचदलीय गठबन्धन आम निर्वाचनमा होमिँदा निर्वतमान मुख्यमन्त्री पाण्डेले आफू केन्द्रमा जाने भन्दै जम्मकट्टेललाई मुख्यमन्त्री दिलाउने शर्तमा प्रदेशमै दोहोराएको चर्चा समेत चलेको थियो । एकै निर्वाचन क्षेत्रबाट कहिले प्रतिस्पर्धी त कहिले सहयात्रीको रुपमा निर्वाचनमा होमिएका पाण्डे र जम्मकट्टेलको सल्लाहमै पाण्डे संघीय संसद र मुख्यमन्त्री जम्मकट्टेल प्रदेशमा दोहोरिएका हुन् ।

गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् । जम्कट्टेलले १९ हजार ९०३ मत प्राप्त गर्दा एमालेका थपलियाले १२ हजार ४७८ मत प्राप्त गरेका थिए ।

यो पटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा नदेखाएका भने होइनन् । गठबन्धनभित्रको भागबन्डा नमिलेपछि उनी प्रदेशसभातर्फ नै चुनावी मैदानमा होमिएर जित हासिल गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रियपात्रको रुपमा चिनिएका उनलाई केन्द्रको पनि राम्रै साथ रह्यो । जसका कारण बागमती प्रदेश सरकारको इतिहासमा चौथो मुख्यमन्त्रीको रुपमा नाम लेखाउन सफल भए ।

कुमारी मोक्तान :
मकवानपुर क्षेत्र नम्बर २(१) बाट २०७४ सालको निर्वाचनमा विजयी भएकी कुमारी मोक्तान संसद विघटन भएपछि पहिलो पटक समामाजिक विकास मन्त्री बनिन् । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेकी मोक्तान प्रदेशको दोस्रो कार्यकालमा पनि सामाजिक विकास मन्त्रीकै जिम्मेवारीमा फर्किएकी छन् । मकवानपुरको सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २२ मत अन्तरले हराउँदै उनी गएको निर्वाचनमा विजयी भएकी थिइन् । उनले १९ हजार ८७३ प्राप्त गर्दा ढकालले १९ हजार ५७१ मत प्राप्त गरे ।

गत मंसिर ४ को निर्वाचनमा दोस्रो कार्यकालको लागि सांसदमा निर्वाचित भएकी उनलाई पनि केन्द्रकै दबाबमा मन्त्रीमा नियुक्त गरिएको भन्ने चर्चा सांसदहरूले नै चलाइरहेका छन् । सांसदको पदभार ग्रहण गरेपछि सामाजिक विकास मन्त्रीबाट राजीनामा दिँदै उनले पुनः मन्त्री बनेर यही भवनमा आउँछु भनेकी थिइन् ।

शमुख्यमन्त्री जम्मकट्टेल र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डको जोडबलमा नै उनलाई पुनः मन्त्रीमा नियुक्त गरिएको हो । प्रदेशका ११ मन्त्रीमध्ये महिला मन्त्री बन्ने मोक्तान एक्ली हुन् । प्रदेशमा उनी बाहेक सबै पुरुष मन्त्री रहेका छन् ।

युवराज दुलाल :

सिन्धुपाल्चोक–२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्, मन्त्री युवराज दुलाल । २०७४ सालको आम निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका उनी पहिलो कार्यकालको सुरुवातमै सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । २०७७ साल पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि बदलिको राजनीतिक परिस्थितीमा सामाजिक विकास मन्त्रीको पदबाट राजीनामा दिएका उनी त्यसपछि नयाँ गठबन्धनको सरकारमा अटाएनन् । गत मंसिर ४ गतेको आम निर्वाचनमा पनि सिन्धुपाल्चोकको सोही क्षेत्रबाट उम्मेदवारी दिएका दुलाल भारी मतान्तरले विजयी भए ।

उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमानसिंह तामाङले १२ हजार १३९ मत पाए । उनीहरूबीचको मतान्तर ८ हजार ७६७ छ । दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुन् । सांसदको शपथ ग्रहण गरेदेखि नै दुलाल मन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका थिए ।

१६ माघ २०७९, सोमबार ०५:३०



तपाईको प्रतिक्रिया