सहमहामन्त्रीको भाषण सुनेपछि भोक्किएका थिए सापकोटा

रिपोर्टर्स क्लबमा भाषण सुन्दै गरेका सापकोटा (कोलो टोपीमा)

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा २० गते बुधवार खुकुरी प्रहार हुनुभन्दा अघि सोही कार्यक्रममा आक्रमणकारी सहभागि थिए । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो ।

पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए । रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणबारे धारणा राखेका थिए । कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । जहाँ उनको उपचार भइरहेको छ ।

यसै बीच, नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ– ‘घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

कांग्रेसले रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको पनि जानकारी गराएको छ । उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली कांग्रेस सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

२९ भाद्र २०८०, शुक्रबार ११:३६



तपाईको प्रतिक्रिया