काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार सम्बोधन गर्दै तामाङले काँग्रेसको जिल्ला नेतृत्व र पालिका नेतृत्व जनता र पार्टी कार्यकर्ताको विषयमा गम्भीर नबनेकोमा असन्तुष्टि पोखेका छन् ।

पञ्चकन्या गाउँपालिका काँग्रेस सचिवसमेत रहेका तामाङले बागमती प्रदेश सांसद एवं जिल्ला सभापति रमेशकुमार महतले आफ्नो जिम्मेवारी र दायित्व भूलेर आफूहरूलाई बेवास्ता गर्ने गरेको उल्लेख गरेका छन् । नेता तामाङले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुनुभन्दा एक हप्ता अगाडि पञ्चकन्या ३ का योजनाहरूबारे जिल्ला सभापति महतलाई जानकारी गराउँदा माओवादीका नेता तथा प्रदेश सांसद राधिका तामाङलाई भन्नु भनेर पन्छिएको भन्दै गुनासो गरे ।

‘रमेशकुमार महत प्रदेश सांसद भइसकेपछि बजेट भाषण हुने क्रममा मैले दाइ यो यो ठाउँमा केन्द्रबाट सम्बोधन भएन, तपाईंले यसलाई यसरी सम्बोधन गर्न‘ है भनेको, राधिका तामाङलाई भन्न जाऊ भन्नुभयो’ त्यसपछि त म कुन पार्टीको कार्यकर्ता हुँ भन्ने नै बिर्सिएछ,’ नेता तामाङले भने, ‘हिजो माओवादी थिएँ । न मलाई माओवादी नै सम्झिएछ कि ! मलाई अचम्म लाग्यो । कुरा त्यो होइन । उहाँ हामीले बनाएको जिल्ला पार्टी सभापति हो । हामीले नबनाए पनि जिल्लाको पार्टी सभापति हो । जिल्ला सभापतिको जिम्मेवारी के रहन्छ भने सम्पूर्ण जिल्लावासीको समस्या हेर्न‘पर्ने उहाँको कर्तव्य हो । तर उहाँले त्यो रुपमा हेर्न‘ भएन । यो लाइभ भिडियो रमशेकुमार महतसमक्ष पुग्ने गरी हालिदिन साथीहरूलाई म अनुरोध गर्छु ।’ सभापति महतले पार्टीका नेता, कार्यकर्तालाई बेवास्ता गर्छ भने आफूहरूले पनि बहिष्कार गर्ने चेतावनी उनको थियो ।

‘यदि रमेशकुमार महतले विकास निर्माणका कुराहरूमा, हामीलाई बाइकट गर्छ भने उहाँलाई पनि हामीले स्वागत गरिरहनु पर्ने जरुरत म देख्दिनँ,’ नेता तामाङको भनाइ थियो । उनले पञ्चकन्या गाउँपालिका संगठन समितिका सभापति माधवप्रसाद खनाललाई पनि पार्टी नेतृत्वसँग वडा र पालिकाको विषय पु¥याउन आग्रह गरे ।

कार्यकर्ता, गाउँपालिकाका विषयमाथि पु-याउन नसके नेता खनालको राजनीतिक भविष्यसमेत अन्धकार हुने उनको भनाइ थियो । खनाल यसपटक स्थानीय तह चुनावमा पञ्चकन्या गाउँपालिका अध्यक्षको उम्मेदवार भई पराजित भएका थिए ।

‘३ नम्बर वडामा विकासले निकै पछि परेको छ । ३ नम्बरलाई विशेष प्राथमिकता दिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु । ४ नम्बरको कुरा गर्ने हो भने राधिका तामाङले अलि अलि हेरिराछ त्यहाँनिर । राधिका तामाङले पार्टीका साना साना कार्यकर्ताले लेखेका योजना पनि ल्याइदिएका छन्,’ नेता तामाङको गुनासो थियो, ‘हाम्रो त पार्टी संगठनले लेखेको एउटा बाटोमा पनि बजेट छैन । एउटै ठाउँको मान्छे आउँदा यहाँ (तरुण दलको भेलामा) सय जना हुन्थ्यो । किनकि एउटै बाटोका लागि मागेको १० लाख पैसा केन्द्रदेखि प्रदेशसम्म हाल्न सक्दैन । अनि काँग्रेसका कार्यक्रममा मान्छे कसरी आउँछन् ।’

नेता तामाङले करिब ८ महिनाको अवधिमा हुने तरुण दलको महाधिवेशनको तयारीमा जुट्न मातहतका संगठनलाई आग्रह गरे । भेलाबाट पञ्चकन्या गाउँपालिका वडा नम्बर–३ मा सागर कार्कीको अध्यक्षतामा तरुण कार्यसमिति गठन गरिएको छ ।

बाबुराम राईको नेतृत्वमा पञ्चकन्या गाउँपालिकाको वडा १ मा तरुण दल कार्यसमिति गठन गरिएको थियो । कार्यक्रममा काँग्रेस पञ्चकन्या सभापति माधवप्रसाद खनाल, तरुण दल पञ्चकन्या अध्यक्ष सुनिल दोर्जे लगायतको उपस्थिति थियो ।

८ आश्विन २०८०, सोमबार ०५:३९



तपाईको प्रतिक्रिया