परिचयपत्रका लागि ६० हजारको विवरण दर्ता

विदुर, ककनी र पञ्चकन्यामा अभियान सुरु भएन

नुवाकोट । राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण संकलन अभियानमा जिल्लाका ५९ हजारले विवरण दर्ता गराएका छन् । आइतबारसम्ममा ५९ हजार ६२९ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

विवरण संकलन जेठ पहिलो साता किस्पाङ गाउँपालिकाबाट थालिएको थियो । यसरी विवरण दर्ता गराउनेमा सबैभन्दा बढी बेलकोटगढी नगरपालिकामा १५ हजार ७९० जना छन् । सबैभन्दा कम किस्पाङ गाउँपालिकामा ५ हजार ३८५ जनाले आफ्नो विवरण दर्ता गराएका छन् ।

अभियानअन्तर्गत म्यागङमा ६ हजार १२, दुप्चेश्वरमा ८ हजार ७३८, तारकेश्वर ८ हजार २४९, सुर्यगढी ६ हजार ८४७, लिखु गाउँपालिका ६ हजार ६३५ संकलन भएको छ । तादी १ हजार ८१० र शिवपुरीमा १६३ मा दर्ता संकलन जारी छ ।

नुवाकोटमा १२ वटा स्थानीयमा ८८ वटा वडा छन् । ती वडाहरुमा प्राविधिक पठाएर दर्ता संकलन गरिएको स्थानीय प्रशासनले जनाएको छ । विदुर नगरपालिका, ककनी र पञ्चकन्या गाउँपालिका दर्ता संकलन अभियान संचालन हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

१८ भाद्र २०८०, सोमबार १०:४९



तपाईको प्रतिक्रिया