एमसीसीद्धारा जग्गा अधिग्रहण प्रक्रिया सुरु

विदुर । अमेरिकी सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले ४०० केभी प्रसारण लाइन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि लप्सिफेदी सबस्टेसन, रातमाटे सबस्टेसनदेखि हेटौंडा सबस्टेसन र रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डमा पर्ने नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका जग्गाहरू अधिग्रहण गर्न लागिएको जनाएको छ ।

नुवाकोटका शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा पर्ने जग्गा तथा जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जनाएको छ ।

सूचना प्रकाशित भएको २१ दिन भित्र सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

एमसीसी परियोजना औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा गएको छ । एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि भने विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । परियोजना अन्तर्गत चारवटा प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।

यसका लागि एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कूल लागत छ ।

विद्युत् प्रसारणलाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् ।

१८ भाद्र २०८०, सोमबार १०:३४



तपाईको प्रतिक्रिया