एकै चालकको दोश्रो दुर्घटना

घाइतेहरुको पूर्ण विवरण सहित

विदुर । आइतवार (फागुन ८ गते) नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ३ किर्नेबगरमा भएको बस दुर्घटनामा ८० जना घाइते भएका छन् । ७ जनाको अवस्था अहिलेपनि गम्भिर रहेको बताइएको छ । उनीहरूको उपचार त्रिशुली अस्पतालमा सम्भव नभएपछि काठमाडौं स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । साल्मेबाट काठमाडौं जान लागेको बसमा ८० जना चढेका थिए । क्षमताको दोब्बर भन्दा पनि बढी यात्रु बोकेको बस सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

चार महिना अघि किस्पाङ गाउँपालिकामा भएको बस दुर्घटानको र आइतवारको दुर्घटनाको बस चालक एकै व्यक्ति रहेको बताइएको छ । एक स्थानीयका अनुसार चार महिना अघिको उक्त दुर्घटनापछि केही समय अघिदेखि फेरि ति चालकले अहिले दुर्घटना भएको बस चलाउन थालेका थिए । यस अघि २०७८ कात्तिक १ गते किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामनाको भुमेस्थानमा एक जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाकै चालकले आइतवार दुर्घटना गराएका हुन् । त्यस बेला १२ जना घाइते भएकोमा उपचारको क्रममा एक जनाको निधन भएको थियो । सोही बसका चालक लबसङ्ग तामाङ आइतवार ८० जना यात्रु बोकेर काठमाडौं जानका लागि त्रिशुली ओर्लिरहेका थिए । ३२ बर्षिया चालक तामाङ नुवाकोटको म्यागाङ गाउँपालिका वडा नं. २ कै हुन् । अहिले उनको अवस्था सामान्य रहेको छ । ‘एकै व्यक्तिका कारण हाम्रो यो भेगका नागरिकहरू दोहो-याएर दुर्घटनामा पर्नु परेको छ, एक जनप्रतिनिधिले भने– ‘चालकको लापरबाही र अत्याधिक यात्रु संख्याका कारण दुर्घटना भएको देखिएको छ ।’

२०७८ कात्तिक १ गते किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामनाको भुमेस्थानमा एक जनाको ज्यान जाने गरी भएको बस दुर्घटना

आइतवारको बस दुर्घटनामा परी घाइते भएका मध्ये काहुलेका ५४ बर्षिया सिता बस्नेत, साल्मेका २४ बर्षिया प्रेमबहादुर लामा र म्यागङ गाउँपालिका वडा नं. २ का बुद्धिमान तामाङको त्रिशुली अस्पतालमा थप उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो । त्यस्तै किस्पाङ वडा नं. ३ का ४० बर्षिया प्रेमबहादुर लामा, ३५ बर्षिया सुकुमाया तामाङ, ५५ बर्षिया आमा छेरुङ घले, किस्पाङ वडा नं. ४ का जिता लामा तामाङ बढी घाइते छन् ।

त्रिशुली अस्पतालमा उपचार सम्भव नभएर रेफर गरिएका बिरामीमा किस्पाङ–४ का १८ बर्षिया सोमबहादुर तामाङ, ३८ बर्षिया साथीराम तामाङ, ३५ बर्षिया देउती बिक, २७ बर्षिया गणेश तामाङ, २५ बर्षिया गंगामाया तामाङ, किस्पाङ–२ का ६२ बर्षिया छेउमा तामाङ र वडा नं. ३ का ११ बर्षिया स्मृति लामिछाने छन् ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेका अनुसार ७ जनालाई काठमाडौं पठाइएकोमा ३ जना हेलिकोप्टरबाट र चार जना एम्बुलेन्सबाट काठमाडौं गएका छन् । गम्भिर घाइते मध्ये ४ जना पुरुष र ३ जना महिला छन् । ८० जना घाइतेमा ४६ जना पुरुष र ३४ जना महिला छन् ।

८ फाल्गुन २०७८, आईतवार १७:२६



तपाईको प्रतिक्रिया