चौरीको दुध विक्न छाड्यो

रसुवा । गोसाइँकुण्ड मार्गको चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रले किसानको दूध नलिँदा चौँरीपालन किसान मर्कामा परेका छन् ।

बैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन केन्दलाई दूध बिक्री गर्दै आएका किसानले यस वर्ष पूरा समय दूध बिक्री गर्न पाएका छैनन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण केन्द्रमा उत्पादित चिज बिक्री नभएपछि दुग्ध विकास संस्थान अन्तर्गत रहेको केन्द्रले दूध लिन छाडेको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. १, सिमबन्दीका दावासिदार तामाङले वार्षिक रूपमा केन्द्रलाई दूध बिक्री गरेर परिवार पाल्दै आएका थिए । तर, अहिले केन्द्रले दूध लिन छाडेपछि के गर्ने भन्ने अन्योलमा पुगेका छन् । उनको पूरै परिवारले चौँरी पालेर केन्द्रलाई दूध बिक्री गर्दै आएका थिए । अहिले पनि उनीसँग १५ वटा चौँरी छन् । उनको परिवार विगत २० वर्षदेखि यही पेशामा सम्लग्न छ । उनले प्रत्येक वर्ष वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन केन्दलाई दूध बिक्री गर्दै आएका थिए । पहिले कृषकले दूध बिक्री नहुँदा घ्यू र छुर्पी बनाएर बिक्री गर्ने गरेका थिए । तर, अहिले रसुवामा दुग्धजन्य उत्पादनको बिक्री शून्य रहेको छ । भूकम्पको समयमा समेत दूध बिक्री भएको रसुवामा कोरोना भाइरसको प्रकोपले उत्पादन ठप्प भएको छ ।

कृषकले १० वटादेखि ४० वटासम्म चौँरी पालेका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नंं. ६ पाङलेखर्कमा रहेको चिज उत्पादन केन्द्रले २०७१ सालदेखि नियमित दूध लिँदै आएको थियो । केन्दमा उत्पादन भएको चिज बिक्री नभएको र केन्द्रको भण्डारण क्षमता भन्दा बढी चिज उत्पादन भएपछि भदौ १६ गतेदेखि नै चिज उत्पादन बन्द गरेको छ । दुग्ध विकास संस्थान अन्तर्गत सञ्चालनमा रहेका केन्द्रबाट उत्पादन भएको चिज अहिले संस्थानमा लैजान सकिएको छैन । केन्द्रका प्रमुख जितबहादुर जिरेलले भूकम्पले भत्केको भवन अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र संस्थानमा पनि चिज जान छाडेपछि उत्पादन बन्द गर्नुपरेको बताए ।

२ आश्विन २०७७, शुक्रबार १८:४७



तपाईको प्रतिक्रिया