क्याम्पसविरुद्धका दुवै रिट खारेज

बट्टार । नुवाकोट आदर्श बहुमुखी क्याम्पसविरुद्ध परेका दुई वटै रिट निवेदन खारेज भएका छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति विरुद्ध परेको रिट निवेदन र क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर भएका दुई रिट निवेदन खारेज भएका हुन् ।

उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले नुवाकोट क्याम्पसको विवाद निरुपण गरेको छ । न्यायाधीशद्वयको इजलासले सञ्चालका समिति अध्यक्ष र क्याम्पस प्रमुख कानून र कार्यविधि पुरा गरी नियुक्ति गरिएको ठहर गरेको छ । यो फैसलासँगै क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका श्रीराम श्रेष्ठ नै बैध अध्यक्ष भएका छन् ।

नुवाकोट आदर्श क्याम्पस सञ्चालक समितिका तत्कालित अध्यक्ष रामशरण प्याकुरेल र कामु क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले त्रिभूवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय, नुवाकोट आदर्श बहुमुखी क्याम्पस र क्याम्पस प्रमुख जीतेन्द्र अर्याललाई विपक्षी बनाइ दायर भएको रिट निवेदन पनि खारेज भएको छ ।

उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले निवेदकको माग बमोजिम आदेश जारी गर्न‘ पर्ने अवस्था विधमान नदेखिएकाले क्याम्पस सञ्चालक समिति अध्यक्ष र क्याम्पस प्रमुख नियुक्तिविरुद्ध परेको रिट निवेदन खारेज गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक वसन्तलाल श्रेष्ठ र मानार्थ आजीवन सदस्य नारायणलाल श्रेष्ठले नुवाकोट आदर्श बहुमुखी क्याम्पस, क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख जीतेन्द्र अर्याल र क्याम्पस सञ्चालक समितिका ज्येष्ठ सदस्य छत्रराम डंगोललाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।

क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर भएको रिट खारेज गरी नुवाकोट क्याम्पसका नाममा परमादेश जारी गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

१८ बैशाख २०८०, सोमबार १४:२७



तपाईको प्रतिक्रिया