गोरु बेचेको साइनो पनि छैन

तारुकाको गोरु जुधाई र जयपृथ्वीबहादुर सिंह सम्बन्ध

वि.सं. १८४७ अगाडीसम्म बझाङ स्वतन्त्र राज्य थियो । त्यसबेला पश्चिम एकीकरण अभियानमा बझाङ नेपाल (काठमाडौं)संग समाहित भयो । त्यसबेला बझाङका राजा रधुनाथ सिंह थिए । उनका छोरा इन्द्र सिंह राजा हुनुपुर्व १४ वर्षसम्म काठमाडौं बसेका थिए । पश्चिमको कुमाउ, गढवाल, अलमोडा युद्धमा नेपाललाई सहयोग गरेर उनले उपत्यकालाई सहयोग गरे । इन्द्र सिंहको जेठा छोरा भोजराज सिंहको बिवाह गृबाणयुद्धविक्रम शाहको छोरी सरस्वतीकुमारीसंग भयो । काठमाडौं र बझाङको पहिलो बैवाहिक सम्वन्ध यही हो । गिर्बाणयुद्धविक्रम शाहले छोरी सरस्वतीकुमारीलाई बिवाहमा बट्टार, बनेपा र तारुका दाईजो दिएका थिए ।

भोजराज सिंह र सरस्वती कुमारीबाट भुपेन्द्र सिंहको जन्मभयो । भुपेन्द्र सिंहबाट बिक्रमबहादुर सिंहको जन्म भयो । बिक्रमबहादुर सिंहले चार वटा बिवाह गरे । उनको जेठी र माइली श्रीमती जङ्गबहादुर राणाको छोरी, साइली श्रीमती भारतको अस्कोट राज्यको पाल राजाका छोरी र कान्छी श्रीमती स्थानीय बम राजाको छोरी थिए । जङ्गबहादुरको जेठी छोरी रुद्रकुमारी र कान्छी छोरी मेघकुमारीको बिक्रमबहादुर सिंहसंग बिवाह भयो । जेठी रानी रुद्रकुमारीबाट तीन छोराको जन्म भयो । जसका जेठा छोरा जयपृथ्वीबहादुर सिंह थिए ।

माइली रानी मेघकुमारीबाट दुई छोराको जन्म भयो । जसका जेठा छोरा ललितबहादुर सिंह र कान्छा छोरा देबिजङ्गबहादुर सिंह थिए ।

जयपृथ्वीबहादुर सिंह आठ वर्षको उमेरमा काठमाडौंको थापाथली दरवारमा आएर बसे । पछि राजा बन्नेबेलामा मात्रै बझाङ फर्किए । उनको पठनपाठन काठमाडौंमै भयो । उनले राजकाज सम्हालेपछि सौतेनी भाइ (माइली रानी मेघकुमारीका छोरा) ललितबहादुर सिंह भोजराज सिंहले सरस्वतीकुमारीसंग बिवाह गर्दा दाइजोमा गिर्बाणयुद्धविक्रम शाहले दिएको नुवाकोटको तारुकामा आएर बस्न थाले । जयपृथ्वीबहादुर सिंहले बझाङको राजकाज त्यागेर भाइलाई राजा बनाउने बेलामा ललितबहादुर सिंहको मृत्यु भइसकेको थियो । उनी जयपृथ्वीबहादुर सिंहपछिका थिए । उनको मृत्युका कारण ललितबहादुरका साख्खै भाइ (मेघकुमारीका कान्छो छोरा) देबिजङ्गबहादुर सिंहलाई जयपृथ्वीबहादुर सिंहले राज्य सुम्पेका थिए । जयपृथ्वीबहादुर सिंह काठमाडौं आइ देब शमशेरको पालामा ‘गोरखापत्र’को प्रकाशक र सम्पादक भएर काम गरेका थिए ।

बझाङ्गी राजाको इतिहास,जीबन घटनाक्रम हेर्दा जयपृथ्वीबहादुर सिंहका कारण तारुकामा गोरु जुधाई सुरुभएको इतिहास मेल खादैन ।

तारुका स्थित मावली आउदा उनलाई मनोरञ्जन दिन गोरु जुधाउन थालिएको कथन र इतिहासमा फरक देखिएको छ । जयपृथ्वीबहादुर सिंह जङ्गबहादुर राणाको आफ्नै नाती रहेको इतिहासले पृष्टि गरेको छ । बरु जयपृथ्वीबहादुर सिंहका सौतेनी भाइ जङ्गबहादुर राणाको अर्का नाती ललितबहादुर सिंह नुवाकोटको तारुकामा आइ बसेको इतिहासले देखाएको छ ।

अहिले पनि तारुकामा ललितबहादुर सिंहको सन्तान छन् । त्यसबेलामा तारुकाको खेतीपातीको राजश्व सिधै बझाङ जाने गरेको थियो । पुरुषोत्तम शमशेर राणाको पुस्तकमा समेत यो कुरा उल्लेख छ । जयपृथ्वीबहादुर सिंहले राज्य त्यागेर भाइलाई राजा बनाउदा पनि ललितबहादुर राजा हुन पाएका थिएनन् । जयपृथ्वीबहादुर सिंहले राज्य त्याग्नु पुर्वनै उनको निधन भइसकेको थियो ।

ललितबहादुर सिंह तारुकामा बस्दा चाँही बझाङको परम्परा विस्तार भएको अनुमान गर्न सकिन्छ । बझाङमा माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउने गरिएको थियो । तर माघे संक्रान्तिकै लागि चाँही गोरु जुधाउने चलन थिएन । उबेलामा असोज महिनामा धान काटेपछि बझाङमा गोरु र राँगा जुधाउने चलन थियो । तारुका बस्दा ललितबहादुर सिंहले त्यही गोरु जुधाउने परम्परालाई तारुकामा चलाएका थिएकी चाँही भन्न सकिन्छ ।

त्यसैले नुवाकोटको तारुकामा गोरु जुधाएर माघे संक्रान्ति मनाउने प्रचलनसंग जयपृथ्वीबहादुर सिंहको गोरु बेचेको साइनो पनि छैन । अझ जयपृथ्वीबहादुर सिंह मानवताबादी राजा भएकै कारण उनले हत्याहिंसामा विश्वास गर्थे भन्न सकिदैन । जयपृथ्वीबहादुर सिंह जस्ता हिंसामा विश्वास नगर्ने व्यक्तिले गोरु जुधाएर मनोरञ्जन लिएका थिए भन्न मिल्दैन ।

गोरू जुधाई हेर्न जाँदा गाउँले हाँसे

कपिलदेव खनाल

२०६१, माघ १ गते । खाना भाइसकेपछि राजु दाईसित (पत्रकार राजुमित्र खनाल) मेरो भेट भयो, नयाँ रुपरेखा साप्ताहिकको कार्यालय विदुर चोकमा । यसरी भेट्टिनु हाम्रो दैनिकी जस्तै थियो । पत्रिकाकाको कार्यालय उनकै घरमा थियो । बा माधबप्रसाद खनाल प्रकाशक र दाई बिश्वामित्र खनाल सम्पादक रहेको नयाँ रुपरेखामा राजु दाईले नै त्यसबेला सबै काम गर्थे । बिश्वामित्र दाई त्यसबेला नेपाल टेलिभिजनको नुवाकोटको संवाददाता थिए, तर काठमाडौं बस्न थालिसकेका थिए । राजु दाईले नै बिश्वामित्र दाईका लागि नेपाल टेलिभिजनमा रिपोटिङ्ग गर्थे । म त्रिशुली प्रबाह साप्ताहिकमा काम गर्थें । त्यस बाहेक तत्कालिन हिमाल पाक्षिकमा मेरा समाचार छापिन्थे । केही समय अघिदेखि तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउने चलन छ रे भन्ने सुनेको थिए । अघिल्लो वर्षको स्थानीय अखबारहरूमा पनि तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउछन् रे भन्ने खाले सामाग्री आएको थियो कि जस्तो लाग्छ ।

त्यस बेला ठ्याक्कै कत्तिवटा गोरु जम्मा पारेका थिए गाउँलेहरूले चाँही बिर्सिएँ । तर हामीलाई फोटो खिच्न र भिडिओ खिच्न पुगेपछि गोरु जुधाई बन्द गरिएको थियो ।

तर माघे संक्रान्तिका दिन तारुकामा के हुन्छ, कसरी जुध्छन् गोरु, इतिहास के हो भन्ने वास्तबिताको जानकारी हामीलाई थिएन । र, राजुदाईलाई तारुका जाने प्रस्ताव गरेँ । अहिले सम्झेसम्म विदुरमा बढिमा १०/१२ जनासंगमात्रै मोटरसाइकल थियो, जसमा राजुदाई पनि पर्थे । बिहानको खाना भाइसकेपछिको समयमा कतै जाउ भन्ने बत्तिकै तयार हुने राजुदाईलाई केले छेक्थ्यो र ! भिडिओ खिच्नका लागि घाटीमा ह्याण्डी क्यामेरा भिरेर तयार भए । शरणदाई (त्रिशुली प्रबाहका साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटा) ले फोटो खिच्नका लागि दिएको रिल हाल्ने क्यामेरा थियो मसित । त्यसबेला एकदम कम फोटो खिचिन्थ्यो । खिच्नै पर्ने फोटो भयो भने वा विषयवस्तु छ भने मात्र क्यामेरा बोक्ने गरिन्थ्यो, किनभने एउटा रिल सबै सक्दा बढीमा ३५/३६ वटा फोटो अट्थ्यो, त्यसलाई ल्याबमा लगेर प्रिन्ट गरेपछि मात्रै पत्रिकामा छाप्नका लागि फोटो पठाउन मिल्थ्यो । मेरो कोठामा गएर क्यामेरा ल्याएँ, र हामी माघे संक्रान्तिको दिन तारुकाको गोरु जुधाई हेर्ने विदुरबाट मोटरसाइकलमा निस्कियौं ।

देविघाट–गल्छीबाट तारुकाघाट पुगेर झोलुङ्गे पुलबाट मोटरसाइकल तार्यौ । सडकदेखि पुलसम्मको आधा ठाउँमा मोटरसाइकल बोक्यौं । सडक राम्रो थिएन, राजुदाईलाई मोटरसाइकल हाक्न बाटोको नक्सा मात्रै भएपनि हुने भएर हामी ‘सजिलैसंग’ गाउँ उकालो लाग्यौं ।

गाउँको छेउछाउ पुगिएको थियो सायद, ध्वस्त बनेको प्रहरी चौकी वा गाविस भवन देखिएको थियो । केही वर्ष अघि भएको प्रहरी–माओवादीको भिडन्तको भग्नाबशेष थियो । त्यहाँबाट अल्लि तेर्सो लागेपछि कोदो काटेको ठोसा देखिने बारी परैसम्म थिए । फाट्टफुट्ट मानिसहरू बारीको डिलमा बसेका देखिन्थ्ये, कहिकतै बारीको गह्रामा गोरु चरिरहेको थियो ।

त्यहाँसम्म पुग्दा तलतिर तीन/चार ठाउँमा भने हल गोरुहरू सिङ्ग जोडेर घामको पार तापिरहेको चाँही देखिएकै थियो । डिलमा दुई चार जना बसेर त्यही रमिता हेरिरहेका हुन्थ्ये । बीच बाटोमा भेटिएको स्थानीय कोहीलाई हामीले सोधेका थियौं : यहाँ गोरु जुधाउने ठाउँ कहाँ होला भनेर । तर ति अधवैशें पुरुषले ‘गोरु चर्दै जाँदा जुरो जोड्ने हो, बरु बुधसिंगतिर चाँही मान्छेले छेकी छेकी गोरु जुधाउछन् रे भन्ने सुनेको छु’ भनेका थिए ।

यस्तै हेर्दाहेर्दै हामी चन्दनीको ठूलो कटहरको रुखनेर (अहिलेको गोरु जुधाउने मैदान) पुगेका थियौं । त्यहाँ १०/१५ जनाजत्ति मानिसहरू थिए । कोही घरबाट गुन्द्री ल्याएर सुतिरहेका थिए । कोही तमाखु/चुरोट तानिरहेका थिए । कटहरको रुखै मुनी देखिएको सबै भन्दा ठूलो बारीको गह्रामा गोरु थिएन । परैतिर चाही गोरु चरेको देखिएको थियो । माघे संक्रान्तिमा तारुकामा गोरु जुधेको हेर्न पुगेको हामी अलमलिसकेका थियौ कि, कहाँसम्म गयो भने गोरु जुधेको हेर्न पाइन्छ भनेर ।

हामीले घाटीमा भिरेको क्यामेरा देखेर त्यहाँ भएका केहीले पत्रकार आएको पत्ता पाइसकेका थिए । खासमा कहिलेकाँही गोरु जुधाउँदा चाँही त्यही बारीको गह्रा प्रयोग हुने रहेछ । त्यस दिनपनि एकै हल भएपनि गोरु जुधाउने ध्याउन्नमा गाउँहरूले रहेछन् । तर कसको गोरु जुधाउने भन्ने निश्चित थिएन ।

दिउँसोको झण्डै २ बजिसकेको थियो कि जस्तो लाग्छ । त्यहाँ गोरु जुधाउने सुरसार नदेखेपछि दुःख गरेर आएपछि एउटा फोटो खिचेर भएपनि जाउ भनेर हामीले गाउँलेलाई त्यही गह्रामा गोरु जम्मा पारेर जुधाउन आग्रह गर्यौ । गोरु जुधेको हेर्न भनेर विदुरबाट मोटरसाइकलमा हामी तारुका आइपुगेको भनेर त्यसदिन त्यहाँका धेरै जना हाँसेका मलाई अझै अझै याद छ । पहिलो कुरा मोटरसाइकल गाउँ पुग्नु रोचक थियो, अनि जहाँसुकै जुध्ने गोरु हेर्न दुई युवा तारुकासम्म पुगेको झन् रोचक थियो ।

गाउँलेहरूले वरपर भएका सबै गोरु जम्मा गरे । केही बेर अघिसम्म तलतिर बेग्लाबेग्लै सिगांैरी खेलिरहेको हल गोरु एकै ठाउँमा जम्मा भयो । त्यस बेला ठ्याक्कै कत्तिवटा गोरु जम्मा पारेका थिए गाउँलेहरूले चाँही बिर्सिएँ । तर हामीलाई फोटो खिच्न र भिडिओ खिच्न पुगेपछि गोरु जुधाई बन्द गरिएको थियो । त्यस बेला स्थानीयहरूसंग कुरागर्दा माघे संक्रान्तिका दिन घाम तापेर बस्ने र गोरुलाई पनि पारिलो ठाउँमा चराउने अनि अर्को गाउँको वा अर्को हलको गोरु भेट्दा जुध्ने गरेको मात्रै इतिहास हामीले सुनेका हौं । माघे संक्रान्तिको दिन गोरु जुधाउने गरेको चाँही भन्थ्यें त्यसबेला सबैले । केही वर्ष पहिला गोरु जुध्दा हार्ने गोरु जित्ने गोरु धनीले लगेको घटना पनि रहेछ, तारुकामा । तर माघे संक्रान्तिमा अन्तपनि जुधाउने गोरुको खोजी गर्दै तारुका पुगेको विषयमा भने उनीहरू अचम्मित भइरहेका थिए ।

हामीलाई चाँही माघे संक्रान्तिकै दिन गोरु जुधाउने गरेको अन्तको इतिहासको बारेमा खास जानकारी थिएन । अहिले भनेजस्तो जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा मनोरञ्जनाका लागि गोरु जुधाउने गरेको परम्पराका बारेमा चाँही त्यो बेला हामीलाई कोही कसैले भनेका थिएनन् ।

हामी फर्कियौं । केही फरक समाचार त बनेकै थियो । तर अचम्म माघ २ गते नेपाल टेलिभिजनको मुख्य समाचार बुलेटिन राती आठ बजेको मुख्य समाचार बनेर तारुकाको गोरु जुधाई आयो । त्यसपछि भएको तारुकाको गोरु जुधाईको प्रचार र व्यापकताको चर्चा अब गरिसाध्य छैन । हामी तारुका पुगेको दोश्रो, तेश्रो वर्षपछि गोरु जुधाईको इतिहास र पृष्ठभुमीको सन्र्दभमा नयाँ/नयाँ किस्साहरू सार्वजनिक हुन थाले ।

२०६२ सालमै माघे संक्रान्तिमा परपरका मानिसहरू तारुका ओइरिएपछि मेला व्यवस्थापनका लागि गाबिसले समेत रकम व्यवस्था गर्न थाल्यो । २०६३ सालमा त तारुकाघाटबाट गाउँ उकालो लाग्ने सडक समेत गाबिसले बनाएको थियो । बिस्तारै मेला व्यवस्थित बन्दै गयो । गोरु जुधाईलाई स्थानीयहरूले मेलाको रुपमा बिकास गरे । गोरु जुधाउनकै लागि जग्गा खरिद गरेर स्थायी मैदान बनाए । गोरु जुधाउन ब्यवस्थापन समिति गठन हुन थाले । गोरुधनीले हात्ताहात्ति नगदै पुरस्कार पाउन थाले । मैदानमा गोरु उतार्नका लागि प्रायोजकहरू भेटिन थाले । अन्तराष्ट्रिय सञ्चार माध्यमको कलम र क्यामेरा समेत तारुका पुग्न थाल्यो । गोरु जुधाईकै विषयमा थुप्रै अडियो भिजुअल ‘डकुमेन्ट्री’हरू तयार भए । राष्ट्रिय सञ्चार माध्ययले माघे संक्रान्तिका दिन एक जना पत्रकार तारुका पठाउने अनिवार्य तालिका नै बनाउन थाले ।

‘फेसन’ बनेको नुवाकोटको गोरु जुधाई

विश्व महामारी कोभिड–१९ का कारण नुवाकोट परम्पराको रुपमा स्थापित भइसकेको गोरु जुधाई मेला प्रभावित हुने अनुमान गरिएको थियो । तर सधै जस्तै यसपटकको माघे संक्रान्तिमा पनि नुवाकोटको आधा दर्जन भन्दा बढि स्थानमा गोरु जुधाइएको छ । यसपटक नुवाकोटको नयाँ स्थानमा गोरु जुधाउन थालिएको खबर सार्वजनिक नभएपनि यस अघि गोरु जुधाउन थालिएको स्थानहरूमा रोकिएको छैन । तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घलेभञ्याङ्ग, शिवपुरी गाउँपालिकाको शेराबगर, तादी गाउँपालिकाको सातबिसे, विदुर नगरपालिकाकै तुप्चे लगायतका स्थानमा माघ १ गते गोरु जुधाइयो ।

तारुकाबाट सुरु भएको यो परम्पराले बिस्तारै व्यापकता पाउन थालेको छ । यो ब्यापकताको नुवाकोटमा मात्रै होइन छिमेकी जिल्ला धादिङ्गमा समेत प्रभाव देखियो । यसपटक धादिङ्गको धुँवाकोटमा समेत गोरु जुधाईएको छ । तादी गाउँपालिकाको सातबिसेमा गोरु जुधाएर माघे संक्रान्ति मनाउन थालेको यो दोश्रो वर्ष हो । पञ्चकन्या गाउँपालिकाको घलेभञ्याङ्गमा गोरु जुधाउन थालेको यो चौथो वर्ष हो । बेत्रावतीमा २०६९ सालबाट गोरु जुधाईको सुरुवात गरिएको हो । त्यसअघि पनि बेत्रावतीमा गोरु जुधाई हुने गरेको भनिएपनि बीचमा रोकिएको स्थानीयहरूको दाबी छ । त्यस्तै शेरावगर, तुप्चेमा पनि भर्खरै सुरुवात भएको हो ।

परापुर्व कालदेखि गोरु जुधाउन थालिएको दावी हुने तारुकामा समेत पटक पटक स्थानीयहरू बिभाजित हुने गरेको इतिहास छ । राजनीति दलगत रुपमा र गाउँ टोलको आन्तरिक बिवादका कारण धेरै पटक तारुकामै पनि माघे संक्रान्तिमा बेग्लाबेग्लै गोरु जुधाईको आयोजना गरिएको थियो । पछिल्ला वर्षहरूमा तारुकाको एकै ठाउँमा गोरु जुधाई हुने गरेको भएपनि कमजोर ब्यवस्थापनको साथमा बिरोधका स्वरहरू बढ्दो छ । बेत्रावतीमा गोरु जुधाई परम्पराको पुर्नस्थापना हुँदा पनि तारुकाको बिकल्पको रुपमा हेरिएको थियो । सुरुका वर्षहरूमा तारुका र बेत्रावतीको मेला ब्यवस्थापन समितिका जिम्मेवार व्यक्तिहरूले सार्वजनिक गर्ने गरेका अभिव्यक्तिले पनि तारुकाको बिकल्पको रुपमा र देखासिकिका रुपमा बेत्रावतीमा गोरु जुधाईको सुरुवात भएको अनुभुत गराउथ्यो । तारुकाले बजाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मावाली आउँदा मनोरञ्जनका लागि गोरु जुधाउन थालेको इतिहास रटिरहेको छ । जुन तथ्य इतिहाससंग मेल नखाएको भेटिइसकेको छ । त्यस्तै बेत्रावतीमा हुने गोरु जुधाई तिब्बत र नेपालबीच भएको युद्धमा नेपाल बिजयी भएकोे खुसीयालीमा हुने गरेको भनिदै आएको छ । यसको तथ्य र प्रमाणहरूको जाँच तथा खोज हुन बाँकी नै छ ।

यि दुई स्थान बाहेक अन्य स्थानहरूमा हुने गोरु जुधाईलाई पनि रैथानेहरूले आफ्नो परम्पराको रुपमा ब्याख्या गर्दै आएका छन् । हुन त कृषिप्रधान देश, त्यसमा पनि नुवाकोट जस्तो कृषिमुखी भुगोलमा माघेसंक्रान्ति जस्तो कृषक र कृषिमा प्रयोग हुने औजारदेखि जनावरले आराम गर्ने बेलामा गोरु जुधाएर केही बेर मनोरञ्जन लिएर वा परापुर्व कालमा मनोरञ्जनको उल्लेख्य साधन नहुँदा गोरु जुधाएर मनोरञ्जन लिए भन्नेमा शंका गरिरहनु नपर्न । केही दशक अघिसम्म पनि धान काटेका खेतमा गोरु जुधाएर गोठालाहरू घाम तापेको प्रशस्तै देखिन्थ्यो । अब त कृषिमा आधुनिकिकरण भित्रिएसंगै जोत्ने गोरुको समेत अभाव हुन थालेको छ । जुधाउनकै लागि आवश्यक पर्ने बलिया गोरुहरूको अभाव छ नै । परम्परा र इतिहासलाई संरक्षण गर्न र चर्चा गर्नका लागि कन्जुस्याई गरिरहनु पर्दैन । तर नुवाकोटमा ‘फेसन’को रुपमा विकास भएको माघे संक्रान्तिको गोरु जुधाउने शैलीमा व्यवस्थापन जरुरी छ । अनि इतिहास र तथ्य जे हो त्यसैको मात्रै चर्चा हुनु आवश्यक छ । टोलटोलमा हुने गोरु जुधाईले नुवाकोटको पहिचान बनिसकेको मेलालाई कमजोर त पक्कै बनाउने छ । यही कारण हो परम्परा र मैलिकता बोझिलो बन्ने र लोप हुने । त्यसैले परम्पराको पुस्ता हस्तान्तरणसम्मको सोच तयार गरेर परम्परालाई बोझिलो नबनाऔं । (इमेज साप्ताहिकको सम्पादकीयबाट)

५ माघ २०७७, सोमबार ०७:२८



तपाईको प्रतिक्रिया