गोसाइँकुण्ड कि माछा पोखरी ?

रसुवा । गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ मा पर्ने त्रिशुली नदी किनार घट्टेखोला तिवारीबगरमा गोसाइँकुण्ड जान नसक्नेका लागि बनाइएको मिनी गोसाइँकुण्ड खण्डहरमा परिणत भएको छ ।

२०७० साल वैशाख २० गते तत्कालीन रसुवाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको अगुवाइमा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको समन्वयमा निर्माण भएको मिनी गोसाइँकण्ड २०७२ को भूकम्पले ध्वस्त भएको थियो । भूकम्पपछि स्थानीय र जिल्ला सुरक्षा निकायको पहलमा मर्मत गरी कुण्ड सञ्चालनमा आएको थियो ।

उक्त कुण्डको उचित प्रचार–प्रसार र मर्मत सम्भारको अभावमा अहिले पानी विहीन पोखरीको रूपमा परिणत भएको छ । त्रिशुली नदीसँगै रहे पनि कुण्ड बनाइएको पोखरीमा अहिले पानी छैन । पत्कर र फोहोर थुप्रिएको छ । गोसाइँकुण्ड पुग्नु नसक्नेहरू मिनी गोसाइँकुण्डमा नुहाएर भए पनि धार्मिक लाभ लिन सकिन्छ भनेर बनेको कुण्डको सञ्चालन र रेखदेखमा कसैको ध्यान गएको देखिँदैन । कुण्ड निर्माण भएको दुई साल जनैपूर्णिमा र गंगा दशहरामा भव्य मेला लाग्ने गरेको थियो । धुन्चे बजारबाट आधा घन्टाको पैदल यात्रामा पुग्न सकिने गोसाइँकुण्डको फेदीमा निर्माण भएको मिनी गोसाइँकुण्ड अहिले खण्डहरमा परिणत भएको छ ।

रसुवाको सान र मानको रूपमा रहेको गोसाइँकुण्डको फेदमा रहेको मिनी गोसाइँकुण्ड उच्च रक्तचाप, वृद्धवृद्धा, बच्चा लगायतका उकालो हिड्न नसक्नेका लागि स्नान गर्न सानो पोखरी बनाइएको थियो । मिनी गोसाइँकुण्डमा पनि नुहाउन सकिन्छ भन्ने प्रचारप्रसार हुँदै गएको थियो । तर अहिले पानी नहँुदा माछा पाल्ने पोखरी हो कि कुण्ड हो छुट्याउन नसकिने भएको छ । स्थानीय सरकार बनेपछि कुण्डको चासो दिनुपर्ने र प्रचार–प्रसारमा जुट्नु पर्ने स्थानीय निकाय अहिले थाहा नभएको भान गरिरहेको स्थानीयहरुको भनाई छ ।

अन्य गाउँपालिकामा पर्यटक पवद्र्धनका लागि पर्यटक आकर्षण गर्न पूर्वाधार निर्माण गर्न होडबाजी चले पनि यहाँ बनेको पूर्वाधारको संरक्षण र मर्मतमा गाउँपालिकाले ध्यान नदिएको गुनासो छ । कुण्डलाई मर्मत र पूर्ण सञ्चालनका लागि गाउँपालिका र वडा कार्यालयको चासो नदिएको गुनासो गोसाइँकुण्ड होटेल तथा लज व्यवस्थापन उपसमितिका अध्यक्ष रेन्जन तामाङको छ । धार्मिक आस्था बोकेको गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्डलगायतका कुण्डबाट बगेर आएको पानी मिनी गोसाइँकुण्ड हुँदै बगेपनि मिनी गोसाइँकुण्डमा अहिले सुक्खा बालुवा र झारपात देखिन्छ ।

गोसाइँकुण्ड पुग्न नसक्नेका लागि निर्माण गरिएको मिनी गोसाइँकुण्ड निर्माणको बेलाको जस्तो सक्रियता नदेखिँदा अहिले ओझेलमा परेको हो । मिनी गोसाइँकुण्डलाई पुनः हराभरा गर्न गाउँपालिकाले यस वर्ष बजेट छट्याएको अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । धुन्चेदेखि मिनी गोसाइँकुण्डसम्म सडकमार्ग पु-याउने, धुन्चेमा आएका आन्तरिक एवम् बाह्य पर्यटकलाई त्यहाँसम्म सहज रूपमा जाने वातावरण मिलाई पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए ।

तस्बिरहरु : कपिलदेव खनाल

२ आश्विन २०७७, शुक्रबार १८:१३



तपाईको प्रतिक्रिया