प्रदेश सभापतिलाई सुझाव !

नेपाली कांग्रेसको हालै सम्पन्न चौधौं महाधिवेशनले सातवटै प्रदेशमा गठित पार्टीका प्रदेश समितिहरूको भूमिका पार्टी संगठनको लागि एकदमै जिम्मेवारीपूर्ण हुने कांग्रेसको विधानले स्पष्ट पारेको छ । त्यसमा पनि संघीय राजधानी रहेको र देश विदेशका नागरिकहरूको बाक्लो आवतजावत र बसोबास हुने १३ जिल्ला समावेश सबभन्दा ठूलो प्रदेशमा त कांग्रेस समितिको भूमिका झनै सर्वाधिक महत्वपूर्ण हुने गर्छ । तसर्थ कांग्रेस बागमती प्रदेशका सभापति तथा अन्य पदाधिकारी र सदस्यहरू यो महत्वलाई सार्थक र सफल बनाउन सक्षम हुनुहोस् भन्ने मेरो फेरि पनि हार्दिक शुभकामना छ । कांग्रेसको सङ्गठन विस्तार, सशक्तीकरण, सन्तुलन र प्रभाव तथा प्रतिष्ठा अभिवृद्धिको लागि बागमती प्रदेश समितिलाई म लगायत मेरा सम्पूर्ण साथीहरूको निस्वार्थ र निःशर्त सहयोग रहने कुरामा बचनवद्ध छौं ।

तर प्रदेश समितिको निर्वाचन सकिएको साँढे दुई महिना बितिसक्दा पनि हाम्रो यो शुभेच्छालाई समेट्ने र प्रदेशमा पार्टीको संगठन तथा प्रभाव विस्तार गर्ने जिम्मेवारीमा प्रदेश सभापतिको उचित व्यवहारको आभास पाइएन । पार्टीको आन्तरिक निर्वाचनलाई अर्को पार्टीसँग प्रतिस्पर्धामा जितेको जस्तो ढङ्गले लिन थाल्दा पार्टीको संरचना, संगठन र सन्तुलन सबै कुरा खल्बलिन जाने वास्तविकताप्रति कम्तीमा प्रदेश सभापतिले सजग रहनु पर्ने हो । प्रदेश निर्वाचनको सिलसिलामा म सभापतिको प्रत्याशी थिएँ, तर झिनो मतको अन्तरले पराजित भएँ । निर्वाचनलाई प्रभावमा पार्न अनेकौं अपवित्र शैलीको सहारा लिइयो भनेर हामीले आपत्ती जनाएनौं । जे भए पनि मैले आफ्नो पराजय स्वीकारेँ । विजेता सभापतिजी मेरो प्रिय मित्र पनि हुनुभएकोले उहाँको विजयलाई मैले आफ्नै विजयको अर्को रूपमा बुझेको थिएँ ।

तर निर्वाचित भएको यतिका दिनसम्म प्रतिस्पर्धी समुहलाई पनि साथै समेटेर कांग्रेसको संस्कार अनुरूप लोकतान्त्रिक पद्धतिका साथ चल्ने सभापतिजि बाट प्रयत्न नै नहुनु उदेकलाग्दो भएको छ । यस्तो एकलकाँटे र काँग्रेसको लोकतान्त्रिक संस्कारसँग मेल नखाने गतिविधिले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी विजय गराउन सकिन्छ ? चौधौं महाधिवेशनको क्रममा यो प्रदेशमा पनि ४ जिल्लामा अधिवेशन र नेतृत्व निर्वाचन गर्न बाँकी नै छ । पार्टीका सहधर्मी साथीहरूको ठूलो समूहलाई निषेध र निष्कृय बनाउने नियतले सन्तुलन खल्बल्याउँदै अधिनायकवादी विकृतिको सहारामा पार्टीको सू–सञ्चालन हराउँछ, पार्टीलाई आफ्नो स्वार्थमा जबरजस्ती घिसार्न खोज्ने अहंकार हावी हुन्छ । हाल बाग्मती प्रदेश कांग्रेस समिति यस्तै विकृत र विसंगत गतिविधिको शिकार हुने कुबाटोमा धकेलिने खतरा बढिरहेको देखिन्छ । यसलाई समयमै सकारात्मक ढङ्गले नियन्त्रण गरिएन भने यसको महँगो मूल्य पार्टीका हामी कार्यकर्ताले चुकाउनु नपर्ने ग्यारेन्टी कसैले दिन सक्दैन ।

त्यसैले वास्तबमा पार्टीको आन्तरिक निर्वाचनमा बिजेताले एकलौटी चलाउने र पराजित पक्षको भूमिका नै समाप्त हुने खालको हुँदैन । लोकतान्त्रिक पार्टी–नेतृत्वको आन्तरिक निर्वाचनमा ‘विनर’ र ‘लुजर’ होइन ‘विनर’ र ‘रनर’ हुन्छ । प्रदेश सभापतिबाट आफ्नो कार्यशैलीमा आमूल सुधार गरी सबैलाई समेट्ने, विश्वास र सन्तुलनमा लिने फराकिलो मानसिकता देखाउनु पर्ने जरुरी छ । लोकतान्त्रिक पार्टीमा सबैको भूमिका र गतिविधिलाई नेतृत्वले संयोजन गर्न सक्नुपर्छ । विजेताले प्रतिस्पर्धीहरूलाई पनि न्यायोचित ब्यवहारद्वारा सँगै लिएर सक्रिय हुने र पराजित हुनेले चुनावी तिक्ततालाई हटाएर एकताका साथ क्रियाशील हुनुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं । प्रदेश सभापतिजिबाट पनि सोही अनुरूपको कार्यकशैली अपनाइयोस् भन्ने सुझाव दिन चाहन्छु ।

(नेपाली काँग्रेस नुवाकोटका निवर्तनमा सभापति केसी काँग्रेस बागमती प्रदेश सभापतिका प्रत्यासी हुन् ।)

९ फाल्गुन २०७८, सोमबार १०:१५



तपाईको प्रतिक्रिया