नेताहरूको आँखामा नुवाकोटको क्षेत्र नं. १

विदुर । स्थानीय तहको निर्वाचन शुक्रवार (जेठ २७ गते) बाट सकिएको छ । जिल्ला समन्वय समिति नुवाकोटको पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान र समन्वय प्रमुखलाई सपथ खुवाइसंगै यो पटकको स्थानीय तह निर्वाचन नुवाकोटमा सकियो । तर स्थानीय तह निर्वाचन सम्पन्न नहुँदै संघ र प्रदेशको निर्वाचनका सरगर्मी नुवाकोटमा बढ्न थालेको छ । आउँदो मंसिरमा हुने अनुमान गरिएको संघीय निर्वाचनमा उम्मेदवारी घोषणाको क्रम सुरु भइसकेको छ ।

नुवाकोटको क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तर्फबाट दुई नेताले उम्मेदवार हुने ‘इन्ट्रेस्ट’ देखाएको समाचारहरू स्थानीय तह निर्वाचन मैजारो नहुँदै बाहिर आएका छन् । नुवाकोट काँग्रेस भित्र देखिएको महत र केसी विभाजकै निरन्तरताको रुपमा दुवै पक्षबाट क्षेत्र नं. १ मा उम्मेदवारीको स्वघोषणा आएका छन् । क्षेत्र नं. १ बाट संघीय सांसदका लागि नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत र नुवाकोट काँग्रेस सभापतिका निकटतम प्रतिद्धन्द्धी तथा काँग्रेस महासमिति सदस्य डा. केदारनरसिंह केसीले उम्मेदवारीको घोषणा गरिसकेका छन् । डा. केसीले आफ्नो फेसबुक मार्फत २०४८ सालपछिका कुनै पनि निर्वाचनमा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी अघि बढ्न नपाएको भन्दै चुनाव लड्न चाहेको घोषणा गरेका हुन् । प्रवक्ता डा. महतले क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको प्रचार गरेको तेस्रो दिननै डा. केसीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले प्रतिनिधित्व गर्ने त्यस क्षेत्रमा २०५१ सालदेखि काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत काँग्रेसका तर्फबाट उम्मेदवार बन्दै आएका छन् । अघिल्लो पटक समेत डा. महत काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । अघिल्लो संघीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनबाट माओवादीका नेता हितबहादुर तामाङ क्षेत्र नं. १ मा उम्मेदवार बनेर निर्वाचित भएका थिए । अहिले दाई महतले स्वास्थ्य अवस्थाका कारण ‘फिल्डको राजनीति नगर्ने’ चर्चा चलिरहेको समयमा भाई महत (डा. प्रकाशशरण महत) ले क्षेत्र नं. १ अथात् दाईको ‘स्पेश’ लिन खोजेको काँग्रेसका एक नेताले बताएका छन् ।

नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ । गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाई महत्व दिने गरेको पनि जिल्ला नेताहरू बताउँछन् । केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट १ मा लगेर कार्यक्रम गरेका थिए । गत निर्वाचनमा एमालेका उम्मेदवार पोखरेलले २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महतले १३ हजार १६९ मत ल्याई फराकिलो अन्तरले पराजित भएका थिए । महतले अहिले रोजेको नुवाकोट १ मा पनि कांग्रेस अघिल्लो पटक फराकिलो अन्तरले पराजित भएको थियो ।

माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत सहित पराजित भएका थिए । शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर पालिका नुवाकोटको १ नम्बर क्षेत्रमा पर्दछन् । शिवपुरी, सूर्यगढी र तादीमा स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको छ । काँग्रेसले जितेका यि तीन गाउँपालिकमा मध्ये पनि शिवपुरी र तादीमा माओवादी केन्द्रको प्रभाव बढी देखिएको छ । यि दुई पालिकाको अध्यक्षमा काँग्रेसले जितेको भएपनि उपाध्यक्षदेखि बहुमत वडाहरू माओवादीसंग छ ।

यो संगसंगै काँग्रेस र माओवादी केन्द्र बीच संघीय निर्वाचनमा हुनसक्ने गठबन्धनलाई पनि जोडेर हेर्न थालिएको छ । काँग्रेस माओवादीबीच गठबन्धन हुँदा क्षेत्र नं. १ माओवादी केन्द्रको भागमा पर्ने सम्भावना प्रवल रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । उनका अनुसार त्यस्तो अवस्थामा माओवादीका तर्फबाट हितबहादुर तामाङ उम्मेदवार बन्ने छन् । गठबन्धन हुँदा क्षेत्र नं. १ माओवादीलाई र क्षेत्र नं. २ काँग्रेसलाई भाग लाग्ने अनुमान गरिएको छ । त्यस्तो अवस्थामा क्षेत्र नं. १ मा तामाङ र क्षेत्र नं. २ मा काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ उम्मेदवार बन्ने सम्भावना बढी छ ।

यस्तै नेपाली काँग्रेसमा महाधिवेशन प्रतिनिधि, पुर्व जिल्ला प्रवक्ता कृष्ण कुइँकेलले समेत क्षेत्र नं. १ बाट संघीय सांसदमा उठ्ने घोषणा गरेका छन् । राजनीतिक दलप्रति नागरिकहरूको मोह भङ्ग भएकोले आफ्नो उम्मेदवारी स्वतन्त्र रहने कुँइकेलले बताएका छन् । पार्टीले उम्मेदवार नबनाए वा बनाएपनि आफ्नो स्वतन्त्र रुपमा संघीय सांसदका रुपमा उठ्न चाहेको उनले बताएका छन् । राजनीतिक दलहरू प्रति नागरिकहरूको वितृष्णा बढ्दो देखिएकोले आफ्नो उम्मेदवारी कुनै दल विशेषबाट नहुने तर्क उनको रहेको छ । क्षेत्र नं. १ मा पर्ने दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवार तयार गरेर स्वतन्त्रको प्यानल नै तयार गरेर आसन्न निर्वाचनमा होमिने कृष्ण कुइँकेलले बताएका छन् ।

३० जेष्ठ २०७९, सोमबार १८:०९



तपाईको प्रतिक्रिया