सभापतिमा केदारनरसिंह केसीले जित्ने सम्भावना, उपसभापतिमा उपेन्द्र कुइँकेल रोजाईमा

सचिवमा महत प्यानलका बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ ‘पपुलर’

जिल्ला सभापति पदका उम्मेदवारद्धय डा. केदारनरसिंह केसी र रमेशकुमार महत उम्मेदवारी दर्तापछि एकआपसमा शुभकामना साट्दै

नुवाकोट (विदुर) । ढिला गरी सुरु भएको नेपाली काँग्रेस नुवाकोटको मतदान विदुर स्थित पार्टी कार्यालयमा जारी रहेको छ । अहिलेसम्म करिव १२ सय मत खसेको अनुमान गरिएको छ । मतदान प्रक्रिया राती अवेरसम्म चल्ने अनुमान गरिएको छ । करिव १८ सयले मतदान गर्ने यो चुनावी प्रक्रियाको मतदान कार्य दिउँसो ५ बजेमात्रै सुरु भयो ।

कार्यसमितिमा ५२ जना र महासमिति सदस्यमा ११ जनालाई मतदान गर्नुपर्ने भएकोले ढिला भइरहेको छ । प्रत्येक स्थानीय तहबाट जिल्ला कार्य समितिको सदस्य पदमा निर्वाचित हुने भएकोले सबै स्थानीय तहको मतदान केन्द्र र बुथ फरक फरक राखिएको छ । ८० वटा वुथ छन् ।

डा. केदारनरसिंह केसी र रमेशकुमार महतले सभापति पदमा प्रतिस्पर्धा गरिरहेका छन् । डा. केसीको उपसभापतिमा उपेन्द्र कुइँकेल र होमबहादुर तामाङ, सचिवमा शिव दाहाल र शंकर पाण्डे, सह–सचिवमा झमकराज गुरुङ्ग र रुपबहादुर तामाङ छन् । महतको उपसभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ, सह सचिवमा यादव नेपाल र उत्तम पाठक छन् ।

काँग्रेसका केन्द्रिय सदस्यहरु डा. रामशरण महत र अर्जुननरसिंह केसी भजिता र भाईलाई जिताउन मतदान केन्द्रमा । काँग्रेसको केन्द्रमा एकै कित्तामा रहेको यिनीहरु जिल्लामा भने विभाजित छन् ।

दुई प्यानलमा विभाजित नुवाकोट काँग्रेसको चुनावी लडाई रात छिप्पिदै जाँदा झन् रोचक देखिएको छ । अंकगणितिय रुपमा कमजोर भनिएका डा. केसी सभापतिमा निर्वाचित हुने सम्भावना बढेको बिश्लेषण गर्न थालिएको छ । महत भन्दा केसी ८० मतले कम रहेको हिसाव काँग्रेस नेताहरुसंग छ । तर पनि सभापतिमा उनी निर्वाचित हुने र उपसभापतिमा उनकै प्यानलका उपेन्द्र कुईकेल निर्वाचित हुने सम्भावना देखिएको छ । अन्य पदहरुमा महत प्यानलका उम्मेदवार निर्वाचित भएर आउने टिप्पणी मतदाताहरुले गर्न थालेका छन् । दुई उपसभापति निर्वाचित हुनेमा अर्को उपसभापतिमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, नुवाकोट काँग्रेसका निर्वतनमा प्रवक्ता राजु थापा र काँग्रेस तारकेश्वर इकाईका पुर्व सभापति होमबहादुर तामाङ मध्ये एक निर्वाचित हुने छन् । यि तीन जना मध्ये सन्तमान तामाङले अधिक मत लिइरहेको अनुमान गरिएको छ ।

सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ निर्वाचित हुने सम्भावना बढेको छ । मतदाताहरुमा उनीहरु दुवै जना ‘पपुलर’ देखिएका छन् । मिश्र र श्रेष्ठ महत प्यानलबाट सचिवका उम्मेदवार हुन् ।

यही अनुमानको आधारमा सभापतिमा डा. केदारनरसिंह केसी, उपसभापतिमा उपेन्द्र कुइँकेल र सन्तमान तामाङ, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठको जितको सम्भावना बढेको छ ।

त्यसो त हालै भएको स्थानीय तहमा निर्वाचनमा बर्चस्व देखिएको केसी परिवारको राजनीति प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको चुनावमा कमजोर देखिएको थियो । जिल्ला अधिवेशनमा मतदान गर्ने काँग्रेस नेताहरुको बहुसंख्या महत दाजुभाई र बहादुरसिंह लामा तामाङको समुहमा देखिएको छ । तर डा. केसीको प्रायः मतदाताहरुसंग व्यक्तिगत सम्वन्धका कारण सभापतिमा भने महतको तर्फ गनिएका मत पनि लिइरहेका छन् । रमेशकुमार महतले काकाहरु डा. प्रकाशशरण महत, डा. रामशरण महतका पछि लागेको कार्यकर्ताको मत सजिलै लिए पनि बहादुरसिंह लामा तामाङका पछाडी लागेका कार्यकर्ताहरुलाई रिझाएर मत लिनुपर्ने अवस्था छ । तर डा. केसीसंग दाजु अर्जुननरसिंह केसी र भाई जगदीश्वरनरसिंह केसीको विरासतले पनि सहुलियत मिलेको छ ।

असोज ६ गते नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा भएको निर्वाचनमा डा. केदारनरसिंह केसी र रमेशकुमार महत केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका थिए । १० जना प्रत्यक्ष खुल्ला तर्फबाट निर्वाचित हुने सो पदमा डा. केसीले महत भन्दा १५ मत बढी पाएका थिए । क्षेत्र नं. १ मै महत भन्दा केसी माथि देखिएको र क्षेत्र नं. २ मा महतको भन्दा केसीको व्यक्तिगत सम्वन्ध बढिसंग रहेकाले सिधा हिसाबमा देखिने महत पक्षको मत केसी तर्फ जाने सम्भावना देखिएको छ । क्षेत्र नं. २ का बहादुरसिंह लामा तामाङको कार्यकर्ताहरु व्यक्तिगतरुपमा डा. केसीसंग बढी नजिक छन् ।

यस अघिको १३ औं महाधिवेशनमा समेत झण्डै यही प्रकृतिको चुनावी दौडमा डा. केदारनरसिंह केसीका भाई जगदीश्वरनरसिंह केसीले रमेशकुमार महतलाई १४ मतले सभापति पदमा पराजित गरेका थिए ।

विदुर भरियो

यत्तिबेला विदुर सवारी साधन र जिल्लैभरीका काँग्रेसका नेता तथा कार्यकर्ताहरुले भरिभराउ छ । काँग्रेसको चुनावी सरगर्मी हेर्नका लागि अन्य राजनीति आस्थाका नागरिकहरु पनि विदुरमा उत्तिकै जम्मा भएका छन् । सवारी साधनको दोहोरो पार्किङ्गले मुख्य सडक भरिभराउ छ । विदुर, त्रिशुली, ढुङ्गे, बट्टारका होटलहरु अहिले खचाखच छ । आफन्त र इष्टमित्रका कारण पार्टी कार्यालय वरपरका व्यक्तिका घरहरु पनि भरिएका छन् । दिउँसोदेखि अहिले रातीको समयमा पनि विदुर कुनै व्यस्त शहर जस्तो अस्तब्यस्त बनेको छ । विदुरमा अहिले थप ३ हजार भन्दा बढी मानिसको चहलपहल छ ।

कोभिडका कारण सुनसान प्रायः बनेको होटल ब्यवसायमा एकै पटक चाप परेको छ । महिनौ देखि बन्द रहेको होटल तथा पाहुना घरहरुले अहिले धमाधम सरसफाई गरेर मानिस राख्न थालेका छन् ।

१० मंसिर २०७८, शुक्रबार २०:४७



तपाईको प्रतिक्रिया