चौथोपल्ट मैदानमा

खरानीटार । प्रतिनिधिसभा चुनावको लागि नुवाकोटको क्षेत्र नं. १ मा १७ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । ती मध्ये सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट बद्री मैनाली, र सत्ता गठबन्धनबाट माओवादीका हितबहादुर तामाङको उम्मेदवारी छ । स्वतन्त्रबाट निर्मल लामिछाने, जितेन्द्रसिंह ठकुरी, राजकुमार बस्नेतको उम्मेदवारी छ । राप्रपाबाट सुर्दशन सिटौला, नेमकिपाबाट रिविन्द्र डंगोल, मालेबाट केशव उप्रेती, स्वतन्त्र पार्टीबाट प्रधुम्न महत, मंगोल अर्गनाइजेशनबाट सुरेन्द्र तामाङ, काँग्रेस बीपीबाट श्याम गुरुङ, लोसपाबाट लक्ष्मी रसाइली, राप्रपा नेपालबाट पुष्पा न्यौपाने, हाम्रो नेपाली पार्टीबाट सफलता बोगटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भुवन तामाङ, जनसमाजवादी पार्टीबाट निमेश तामाङ, जसपाबाट देवराज घिमिरेको उम्मेदवारी परेको छ । यस निर्वाचनमा क्षेत्रमा १ एक लाख पाँच हजार २८७ मतदाता छन् ।सत्ता गठबन्धनबाट यो क्षेत्रमा काँग्रेस प्रवक्ता डा प्रकाशशरण महत उम्मेदवार बन्न चाहन्थे । ०७४ सालको चुनाव काठमाडौं ५ बाट लडे पनि एमालेका इश्वर पोखरेलसँग हारेका थिए । हालसम्म जनताबाट अनुमोदन हुन नपाएका महत नुवाकोट १ बाट यसपटक अनुमोदन हुन चाहन्थे । तर, गठबन्धनको चुनावी तालमेलको पहिले जसले जहाँ जितेको हो त्यहा सोही दलले पाउने सहमतिको आधारमा महतले सो क्षेत्र पाएनन् । महत समानुपातिकमा बसेका छन् । त्यसैले नुवाकोटमा गठबन्धनमा असन्तुष्टि गौण रूपमा रहेको बुझाई एमालेमा छ । उसले काँग्रेसले आफ्नो पार्टीबाट उम्मेदवार नपाउनु र ‘एन्टी माओवादी मुभमेन्ट’ क्यास गर्ने एमालेको दाउ छ ।

२०७४ सालको निर्वाचनमा एमालेको मतसहित वामगठबन्धनको मत पाएर जितेका तामाङलाई यो पटक पाँचदलीय गठबन्धनबाट काँग्रेसको साथ छ । ०६४ सालको संविधानसभाको चुनाव, ७० को दोस्रो संविधानसभाको चुनाव र ०७४ को संघीय चुनावको अनुभव गरिसकेका तामाङ चौथोपटक चुनावी मैदानमा छन् । ०६४ र ०७० मा महतसँग हारेका तामाङले ०७४ मा महतलाई हराएका थिए । स्थानीय तहको नतिजाले पनि उत्साहित तामाङले मंसिर ४ मा आफ्नो जित निश्चित भएको बताउँदै आएका छन् । ‘मतपेटिकाले भन्ने हो अहिले भन्दा हतार होला’, उनले भने, ‘वस्तुस्थिति हेर्दा माओवादीले एक्लै पनि चुनाव जित्न सक्छ । अहिले वाम–लोकतान्त्रिक गठबन्धन भएको छ ।’ आफूले पाँच वर्ष सांसद हुँदा गरेका विकास निर्माणदेखि सुख दुःखमा जनताको साथ दिएकाले मत आउने र जनतामा आफू निर्विकल्प भएको तामाङले बताए ।

पहिलो पटक प्रतिनिधिसभाको मैदानमा रहेका मैनाली एमालेका जिल्ला अध्यक्ष हुन् । व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका मैनाली राजनीतिक रूपमा पाएको अवसरबाट प्रमाणित गरिसकेको दाबी गर्छन् । स्थानीय चुनावको नतिजाअनुसार एमालेमाथि गठबन्धन भारी परेको देखिन्छ । ‘मलाई हलुका लागेको छ, भारी लागेको छैन,’ मैनालीले भने, ‘गठबन्धन नेताबीच मात्र भएको छ । जनताको बीचमा गठबन्धन भएको छैन ।’

गठबन्धनको सरकारको पालामा भएको कमजोरीलाई चुनावमा लिएर जाने मैनालीको तयारी छ । ‘महँगी भ्रष्टाचार र अन्तर्राष्ट्रिय सम्बन्धले गठबन्धनको जनाधार कमजोर भएको छ हामीलाई असर छैन,’ मैनालीले भने । स्थानीय चुनावको नतिजा संघ र प्रदेशका चुनावसम्म आउँदा परिवर्तन हुने उनको दाबी छ । ‘मत भनेको स्थिर हुँदैन । जनताले हाल्ने मत हो । मान्छेका मनस्थिति केही समयमा बदलिन्छ । स्थानीय तहको नतिजा आँकडा मात्र हो, त्यसले असर गर्दैन,’ उनले भने । प्रदेशसभामा आफूले खेलेको भूमिका र एमालेको एजेन्डालाई जनताले रुचाएकाले आफूलाई सहज भएको मैनालीको दाबी छ ।

नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष÷उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा काँग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, काँग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा रहेका दल एकीकृत समाजवादीले जम्मा २ हजार २४५ मत प्राप्त गरेको थियो ।

यसरी सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीले स्थानीय चुनावमा प्राप्त गरेको मत जोड्दा ५४ हजार ३७१ हुन आउँछ । एमालेसँग आवश्यकताका आधारमा तालमेल गरेको राप्रपाले नुवाकोटमा भने तालमेल नगर्ने भएको छ । जिल्लामा राप्रपा एकल रूपमा चुनावी मैदानमा जाने राप्रपाका सहमहामन्त्री तथा नुवाकोट क्षेत्र नं. २ का राप्रपाका उम्मेदवार झनक प्याकुरेलले जानकारी दिए । स्थानीय तहमा एमालेको मत १८ हजार २६७ हो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा वामगठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा छन् । एमालेका उम्मेदवार मैनालीले ०७४ मा प्रदेश ख बाट चुनाव जितेका थिए । मैनालीले २० हजार पाँच सय ९ मत ल्याएर प्रदेशसभामा विजयी हुँदा काँग्रेसका रमेशकुमार महतले १२ हजार दुई सय १७ मत ल्याएका थिए । महत अहिले पनि सो क्षेत्रमा चुनावी मैदानमा छन् । (शिलापत्रको सहयोगमा)

७ कार्तिक २०७९, सोमबार ०५:२१



तपाईको प्रतिक्रिया