रामप्रसाद र कामरेडहरूको समाजवाद

यतिबेला उमेरले ठ्याक्कै ७२ काटेर ७३ वर्षमा कुँदिरहेका रामप्रसादको जोस उस्तै छ । केही समयअघि एमाले–माओवादी मिसिएपछि राजनीतिको यात्रातिर अलि सुस्ताएकाझैँ देखिएका उनी केपी ओलीले संसद विघटन गरेसँगै फेरि जोसिए । ‘यो ओलीको प्रतिगमन नै हो’ उही ठाँटबाँटमा दौडन र कराउन थालेका छन् । आन्दोलन र परिचालनको क्रममा राजनीतिको खेलले एकाएक एमाले र माओवादी ‘दुधको दुध, पानीको पानी’ छुट्ठिएझैँ अलग–अलग भएपछि उनको व्यस्तताको गति बढेको छ ।

‘भूमिगत नहुनुहोस्, तपाई मन्त्री हुनुस्’ भनेर आएको दरबारको प्रस्ताव सुन्दै नसुनी उनी जनयुद्धतिर झ्याम्मै हाम फालेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका १ आरुखर्कमा २००६ साल फागुन २ गते जन्मिएका रामप्रसाद ढुंगाना पञ्चायतदेखि बहुदल हुँदै जनयुद्ध र संघीय लोकतान्त्रीक गणतन्त्रको यो व्यवस्थासम्म अविराम राजनीतिको यात्रामा क्रियाशील छन् ।

बा गुरुप्रसाद ढुंगाना र आमा टिकादेवी ढुंगानाको सन्तानको रूपमा सामान्य किसान परिवारमा जन्मिएका उनले २०२७ सालमा मेट्रिक्स पास गरेका थिए । २०३३ सालदेखि सुरु भएको उनको राजनीतिक यात्रा अहिलेसम्म पनि उस्तै मैदानमै छ । जागिर भए पेन्सन हुन्थ्यो होला, त्यतिबेला खरदार सुब्बा भएको भए उप–सचिव, सह–सचिव, मुख्य–सचिव हुन्थे होला । शाही मन्त्रीको टिकोटालो गरेका भए सूर्यप्रकाश, सेन ओलीजस्तो प्रचण्डले टिका लगाएर भित्र्याउने जमर्काे गर्थे होला ! तर उनी यस्तो राजनीतिक यात्रामा निरन्तर लागे जोकोही राजनीतिकर्मीको लागि थप चुनौतीको सवाल पनि हो ।

पञ्चायतको राजनीतिमा इमान्दारिताको पहिचान बनाएका उनी माओवादी आन्दोलनमा होमिएपछि सबैको ‘बा’ उपनाम पाएका थिए । उनको उपनाम थियो कमरेड कपिल । धेरैले उनलाई कपिल बा भन्थे । यी बुढादेखि अलि जंग चलेका केटाहरू उनलाई ‘पञ्च बा’ भन्दै कुरा काट्थे ।

माओले कार्यकर्ता three in one युवा, वृद्ध र वस्यकको समुह भनेझैँ युवाहरूको अत्याधिक बाहुल्य रहेको माओवादी पार्टीको राजनीतिमा जहाँ पाको राजनीतिक पात्र साक्षी चाहिन्थ्यो त्यहाँ बालाई लगेर साक्षी राख्दै सबैले आ–आफनो अवसर र अस्तित्वको पासा पल्टाएको र सत्ता उल्ट्याएको दृष्टान्त नुवाकोटको माओवादी राजनीतिभित्र धेरै छन् ।

मेरो बाका खुद दौँतरी थिए उनी । हामीले केही भन्न खोजे ‘तेरो बाउको साथी म, त्यो पनि सँगै राजनीति गरेको बुझिस्’ भन्ने जवाफ पाइन्थ्यो । यति सुनेपछि हाम्रो मन सन्तुष्ट नभएपनि श्रद्धाले मुखको वचनका जवाफी हमलाहरू मौन हुन्थे । तर हामीले नै देखे–भोगेको सत्य के हो भने जो–जसले बुढाको दिमाग भुटेर उनलाई सत्तामा उक्लने लिस्नो बनाउन सकेनन् ति सबैका नजरमा उनी कहिल्यै पनि गतिलो भएनन् । तिनिहरूले कहिल्यै पनि उनलाई राम्रो भनेनन् । हर व्यक्तिमा सकारात्मक र नकारात्मक दुवै गुण हुन्छ भन्ने द्धन्द्ववादी दृष्टिकोणले लैस भएका भनिएका मालेमावादी कार्यकर्ताको चिन्तनको दरिद्रताको रसातल नाप्ने यो भन्दा अरु कुनै तथ्य होला र दर्शनशास्त्रमा ?

जनयुद्धको भूमरीका बेला चितवन, मकवानपुर, धादिङ, नुवाकोटका वस्तीहरूमा बिताएका थिए उनले । नुवाकोट जिल्ला पञ्चायतका उपसभापतिसम्म भएका उनलाई जनयुद्धमा माओवादीको जनसत्ता संयुक्त क्रान्तिकारी जनपरिषद्ले सञ्चालन गरेको जनअदालतमा जिल्ला न्यायाधिशको जिम्मेवारी दिइएको थियो ।

उबेलाको पञ्चायतमा दुई खेमा थियो । काँग्रेस खेमाले अलि बढी कम्युनिष्टहरूलाई खेद्थ्यो । कतिपय पञ्चहरू अलि उदारजस्ता देखिन्थे । त्यतिखेर अनेक कारणले धेरै पञ्चहरूको संरक्षणमा, वामपन्थी शिक्षकहरूले जिल्लामा कम्युनिष्ट चेतनाको बिउ रोपेका थिए । बुझेर–नबुझेर ‘वामपन्थी गयो भने गाउँमा राम्रो गर्छ’ भन्ने प्रभाव थियो पञ्चहरूमा । राजनीति र विचारभन्दा विकासको कुरा गर्ने थियो– पञ्चहरूको राजनीति । त्यसरी पञ्चहरू राजनीतिमा भन्दा सामाजिक काममा बढी अग्रसर हुन्थे । वामपन्थी शिक्षकहरू खोजेर पठाउने काम गर्ने गरेका थिए उनले, उनी सम्झन्छन्, ‘यो राम्रो पढाउँछ भन्ने कोही हिसाबको भन्यो, कोही विज्ञानको भन्यो, कोही के भन्यो, राम्रो चरित्रको मान्छे भन्ने अनि लैजाने । जान चाहिँ कम्युनिस्टहरू जाने, मालेका गए पनि, मसालका गए पनि । पछि गएर एमालेहरू पनि ।’ जनयुद्धको थालनी पछि पोष्टबहादुर बोगटी पश्चिमको नेतृत्व सम्हाल्न गए । त्योबेला पनि उनलाई जान निक्कै जोड गरेका रहेछन् बोगटीले । त्यो बेलाको परिवेश सम्झँदै उनले भने, ‘त्यतिखेर छोरो भर्खर जन्मेको, नानी पनि सानै, त्यस्तै भयो । अनि ठाकठुक व्यवहारले गर्दा म अल्झेको हो । त्यहाँ ५५/६० लाखको व्यवसाय थियो त्यसले अल्झियो ।’ २०५८ सालको मंसिर ११ गते संकटकाल घोषणासँगै उनको त्यो अल्झाउने त्यान्द्रो चुँडियो र उनी भूमिगत राजनीतिको यात्रामा सामेल भए । उनको माओवादी जनयुद्धको यात्राले परिवारमा भने थप चुनौतीको पहाड नै थोपरिएको थियो । साना केटाकेटी, आर्थिक अभाव र श्रीमानको भूमिगत राजनीतिको यात्रा सत्ताको दबाब र अनेकौँ निगरानी यस्तै–उस्तै कथामा जेलिएका थिए, आमाका दैनिकीहरू । त्यो दुःखका आँसु पोखेर कतै साहनुभूतिको न्यानोपन थाप्न रोदनको बटुको लिएर कहिल्यै हिँडेनन् उनी । उनका परिवार मिठो–पिठो जे छ उसैमा चित्त बुझाए र त्यो दुःखका दिनहरू कटाए ।

राजनीतिको उकाली–ओराली अनी दुःखको पहाड सम्झेर रामप्रसाद कहिल्यै पनि अल्मलिएका थिएनन् । एक नयाँ अठोट थियो उनको तर उनले आजको यो भद्रगोल राजनीतिको चित्रलाई भने आँकलन नै गरेका थिएनन् । त्योबेला सम्झँदै उनी भन्छन्, ‘यो संंसार, घर, परिवार, बच्चा केटाकेटी, सबैलाई बिर्सेर धनसम्पत्ति, ऋणधन सब त्यागेर जाँदाखेरि पहिलो त आम नेपाल र नेपालीको हित हुन्छ, जनयुद्धमार्फत् भनेर लागेको दिन नै मलाई खुसीको दिन भयो । किनभने यतिविधी भद्रगोलमा पुग्छ भन्ने मलाई लागेकै थिएन ।’ साँच्चै आज आम राजनीतिकर्मी जनयुद्ध र जन आन्दोलनका योद्धाहरूले कल्पना गरेभन्दा भिन्न राजनीतिक वातावरण देशमा सिर्जना भएको छ । जनयुद्ध र जनआन्दोलनपछि माओवादी कमरेडहरू यो बेला समाजवादको यात्रामा छन् । अर्थात् हाम्रो आजको माओवादी आन्दोलन समाजवाद र सम्वृद्धीको यात्रामा छ । तर अधिकांश कमरेडको चरित्र भने ‘काँशी जाने कुतिको बाटो’ भनेजस्तो छ । दलाल पुँजिवादको आहालमा तैरेर भ्रष्ट, दलाली र कमिसन खोरीहरू बोकेर समाजवाद लिन हिँड्नेहरूको चिन्तन, चरित्र र व्यवहार ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो छ भने समाजवाद आउला कसरी ?

तर रामप्रसादको कार्यशैली आज पनि उस्तै छ । उनको यो शैलीमा इमान्दारिताको पहिचान छ । उनी कसैसँग बेइमानी र छलकपट गरेर पैसा माग्दैनन् । माओवादीका केही द्रव्य पिचास कामरेडहरूले जनयुद्धको ब्याज असुलेर खाएजस्तो पार्टीको नाउँ बेचेर परिवारको दुःख पोखेर सान र सौकदको लागि पजेरो र प्राडोको सुविधा बटुल्दैन् उनी । अहिले पनि पैदल मार्चमै भेटिन्छन् उनी कि कसैले बाटोमा देखे उनलाई लिफ्ट दिन्छन् । नत्र सार्वजनिक सवारीमा हिँड्छन । पञ्चायतले रोपेको आदर्श राजनीतिको चेतले यो निष्ठाको राजनीतिमा आजसम्म ठिङ्ग उभिएका छन् रामप्रसाद । सतिसालझैँ अडिएका छन् यो दलाल पुँजिवादको हावाहुण्डरीमा । आजका विकासे राजनीतिक कार्यकर्ताबारे उनको सच्चाई छ ‘पञ्चायतकालको कार्यकर्ताहरू राजनीतिक लेसन नभएको तर, इमान्दार बढी थिए । जनयुद्धकालको वैचारिक कुरा र इमान्दारिता रह्यो । केही केही त खेर गएको जहाँ पनि हुने भयो । तर वैचारिक सहित राजनीतिक प्रशिक्षण सहितको इमान्दारिता थियो । अहिले त ९८ प्रतिशत बेइमानी छन् ।’

त्यो बेइमानहरूको हुलमा उनको इमानजमान त पक्कै बिक्दैन तर जसरी पञ्चायतको विरुद्ध बहुदल विकल्प भयो नि, त्यसैगरी पञ्चहरूको राजनीतिक चरित्रको विकल्प भएन परिर्वतनकारीहरूसँग । र, क्रमशः भ्रष्ट, पतित, विकृत हुन थाले हिजो आज कमरेडहरू । तिभन्दा त धेरै गुणा उँचो छ उनको निष्ठाको स्वाभीमान । उनी भन्छन्, ‘म अवसरकै निमित्त त पार्टी र आन्दोलनमा कहिल्यै लागिनँ । पार्टीको निर्णयले जे आउँछ त्यसमा मलाई यो चाहिन्छ भनेर जिन्दगीमा मैले दाबी गरिनँ । आज भोली त आन्दोलनले पार्टी भित्र पनि अवसर खोज्नेहरूको हुल बढ्ने रहेछ । न्याय भएन त्यहाँ भित्र पनि धेरै सवालमा । तर उनको धारण छ, कतिपय कुराहरूमा न्याय हुनुपथ्र्यो । नहुँदा नहुँदै पनि अन्यत्र फेर्न दौडनुपर्ने स्थिति मेरो आफ्नो मन, चिन्तनले दिँदैन । पार्टी सदस्य भए पनि अब यस्तै हो बाँकी जीवन भन्नेतिर म गएँ ।’ कमरेडहरूले रटान लगाईरहेका छन्, गाउँ, नगर, जिल्ला र किल्ला किल्लामा ‘जनसमुदाय, हामी समाजवाद ल्याउँछौँ !’ म भने त्यही रामप्रसादको सेताम्मे कपाल ,चाहुरी परेको अनुहार र कलेटी परेको ओठमा फुलेको फिक्का हाँसोमा देखिएको यो दर्दनाका कथाको अर्तनाद भित्र फुलेको क्रान्तिको रातो गुलाबी फुलको प्रतिबिम्ब हेरेर चकित छु ।

मेरा प्रिय–अप्रिय सबै कमरेडहरू आज जोडतोडले मच्चिरहेका छन्, उफ्रिरहेका छन्, कुदिरहेको छन् । त्यही रामप्रसादको बुढो हाडलाई मज्जाले सकुन्जेल घोटेर, यही रामप्रसादको स्वाभिमानलाई चुनावी राजनीतिको जुवाका खालमा डिक राखेर सपनाको महान समाजवादी सत्ताको कुर्सीमा इन्द्रकमल फुलाउने राजनीतिकको कुटिल लक्ष्यहरूमा अभ्यस्त छन् । आज आँखै सामुका यी तमासाहरू बिडम्वना पूर्वक हेर्न बिबस छु म र उस्तै विवसतामा छन् मेरो पुस्ताको होनाहार युवा नेताहरू ।

२१ कार्तिक २०७९, सोमबार ११:०८



तपाईको प्रतिक्रिया