कसरी उदाए हितबहादुर ?

खरानीटार । हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उहाँ सदैव जनताको सुखदुःखमा साथैमा छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् । दुई छोरी र एक छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलमा डेरामा सपरिवार बस्दै आएका छन् । दाजुभाइ सामान्य किसानी कर्ममा रहेका छन्, हितबहादुर भने वर्गीय उत्पीडन परिवर्तनका लागि वर्गसंघर्षमा होमिए ।

हितबहादुरले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गर्न‘भयो । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण पेशा गरे ।

राजनीतिक पृष्ठभूमि

हितबहादुर १६ वर्षकै उमेरमै २०३६ सालमा माक्र्सवाद, लेनिनवाद तथा माओवादको दर्शनबाट प्रभावित भइ कम्युनिष्ट राजनीतिमा लाग्नेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव बने । भातृ संगठनमा सक्रिय रहँदै गर्दा उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने ।

२०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि तामाङ जनयुद्धमा सहभागी हुँदै भूमिगत रहे । भूमिगतकालमा २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । २०५८ मा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० माघ १ मा ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।

तामाङ खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा तामाङ नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल रहे । उनको नेतृत्वदायी क्षमताको मूल्यांकन गर्दै २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई पटनास्थित जेलमा राख्यो । तर, पनि तामाङ झुकेनन् । आफ्नो समुदायमा पछाडि परेकाहरूलाई प्रेरणा बन्ने गरेका तामाङ चेतना, शिक्षा, समानता, विकासका कुरा आमनागरिकलाई बुझाएर सिकाएर समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् । उनी जातीय वा अन्य कारण पछाडि पारिएका वर्गलाई उत्थान गर्नका लागि लाग्नुपर्छ भन्ने कुरामा सचेत छन् ।

पछि माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत तामाङ बने । उनी नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा थिए । आफ्नै क्षमता र संघर्षमा समाज र राजनीतिलाई सँगसँगै डोरो¥याएका तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने ।

जनयुद्धकै मूल एजेन्डा संविधान सभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भएको थियो । उनी आफ्नै जिल्लाको क्षेत्र नम्बर २ को उम्मेदवार बने । पार्टी युद्धबाट भर्खर उदाउँदै गरेको । देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । काँग्रेसको बलियो पकड भएको उनको क्षेत्रमा उनले जित हासिल गर्न सकेनन् तर नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतसँग कडा प्रतिष्पर्धा भयो । तामाङ झिनो मत (१०४ मत) ले पराजित भए ।

हितबहादुर हारमा आत्तिने जितमा जोसिने मान्छे थिएनन् । उनी हरेक समयलाई आफ्नै गतिमा जान दिनुपर्छ, धैर्यता नै मानिसको जितको असल हतियार हुनसक्छ भन्ने मान्यता राख्छन् । पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्ने लगभग निश्चित जस्तै भएपछि पार्टीले जनपरिषद् गठन ग¥यो । पार्टीले सबै प्रदेशस्तरमा प्रदेश ताम्सालिङ स्वायत्त जनपरिषद् गठन ग-यो हितबहादुर त्यसको प्रमुख बने । पहिलो संविधानसभाबाट जनताको संविधान नबनेपछि २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।

दोस्रो संविधानसभाबाट २०७२ सालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, काँग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं. १ बाट काँग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

यसरी ४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । उनी अहिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ मा तामाङ वाम–लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार छन् । पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस भइ काँग्रेस–माओवादी–एकीकृत समाजवादीको साझा उम्मेदवार बनेका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रूपमा परिचित छन् । आफ्नो क्षेत्रमा आम नागरिकसँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ताको रुपमा तामाङ चिनिन्छन् ।

७ कार्तिक २०७९, सोमबार ०५:१६



तपाईको प्रतिक्रिया