‘बद्री मैनालीले कोल्ड स्टोर कप्लक्कै खानुभयो’

विदुर । नुवाकोट निर्वाचन क्षेत्र १ (२) का वाम–गठबन्धनका उम्मेदवार राधिका तामाङले नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बद्री मैनालीले चुनाव जितेर भ्रष्टाचारबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।

नुवाकोट–काठमाडौं सम्पर्क समिति गठबन्धन दलले शनिबार काठमाडौंमा आयोजना गरेको चियापान तथा दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेता एवं पूर्वराज्यमन्त्री तामाङले अनुदानको नाममा मैनालीले कोल्ड स्टोर (शीत भण्डार) को रकम खाएको टिप्पणी गरेका छन् । ‘अघिल्लो निर्वाचनमा बद्री मैनालीजी र म प्रदेशतर्फ वाम गठबन्धनबाट जितेका हौं । उहाँले जितिसकेपछि कोल्ड स्टोर कप्लक्कै खानुभयो,’ उनले भने,’ राधिका तामाङले केही पनि खाएको छैन । म सप्रमाण बुझाउँदैछु तपाईंहरूलाई । मैले राज्यले तोकेको सेवासुविधा लिएँ । त्यो भन्दा १ रुपैयाँ यताउता गरेको छैन ।’ निर्वाचनमा मैनालीले स्वच्छ प्रतिस्पर्धाको साटो पैसाको आडमा मतदातालाई दिग्भ्रमित पारिरहेको भन्दै तामाङले आफूले पैसा नभए पनि जनताको विश्वासमा चुनाव जितेको बताए ।

‘प्रतिस्पर्धी दलका उम्मेदवार बद्रीजीसँग पैसा छ । उसले जित्छ कि भन्ने दिग्भ्रमित बनाइरहेको छ । त्यो मलाई थाहा छ । राधिका तामाङ हिजो जितेको पैसा भएर होइन । नुवाकोट जनताको सहयोग र मायाले जितेको थिएँ,’ राधिका तामाङले भने, ‘हितबहादुर तामाङ, राधिका तामाङसँग पैसा थिएन विश्वास थियो । हामीसँग अठोट थियो । योजना थियो । त्यो हिसाबले जनताको मन जित्यो र जनताबाट त्यो जिम्मेवारी प्राप्त ग¥यौं ।’ वाग्मती प्रदेशका निवर्तमान उपसभामुख समेत रहेका तामाङले हिजो जस्तै जितेर गएपछि मतदाताको शिर निहु¥याउने काम नगर्ने प्रतिबद्धता जनाए ।

‘तपाईंहरूले जिताएर पठाउनुभएपछि मैले खराब काम गरिनँ । फेरि पनि जिताएपछि गठबन्धनको मात्रै होइन । नुवाकोटका जनताको साझा उम्मेदवारको भूमिका निभाउनेछु । बोल्नेभन्दा पनि म परिणाममुखी काम गर्नमा विश्वास गर्छु । त्यसका लागि लाग्नेछ ।’ तामाङले भने ।

७ कार्तिक २०७९, सोमबार ०५:१९



तपाईको प्रतिक्रिया