‘सिंहदरबारमै हराउनेलाई नपठाउनुस्’

विदुर । नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सिंहदरवारमै हराउने प्रतिनिधि नभई सिंहदरबार नै डराउने प्रतिनिधि चुनेर पठाउनुपर्ने बताएका छन् । ‘सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि नपठाउनुस्,’ नेता केसीले लोकतान्त्रिक वाम गठबन्धनको मतदाता भेटघाटका क्रममा उक्त धारणा राखेका हुन् ।

उनले यसअघि पठाएका उम्मेदवार सिंहदरबारमै हराएकाले अहिले सिंहदबार नै डराउने खालको जनप्रतिनिधि चुनेर पठाउन मतदातालाई सुझाएका हुन् । नेता केसीले नेपाली जनताले पहिलोचोटी प्राप्त गरेको सार्वभौमसत्ता, संविधान रक्षाको निम्ति पाँच पार्टीबीच गठबन्धन भएको बताए ।

‘कुनै व्यक्तिगत रुपले के फाइदा हुने भनेर गठबन्धन गरिएको होइन,’ नेता केसीले भने, ‘संविधान ध्वस्त बनाउनेविरुद्ध गठबन्धन हो ।’ सडक, बाटो जस्ता विकास निर्माण, स्वास्थ्य, खानेपानी, सिँचाईका लागि निरन्तर लडिरहने उनले बताएका छन् ।

२८ कार्तिक २०७९, सोमबार ०५:३६



तपाईको प्रतिक्रिया